आमालाई पुनर्जिवित गर्न छोराले शवलाई तीन वर्षसम्म घरमा राखे ?

Aama

बीबीसी

आजभन्दा तीन वर्ष अघि ८७ वर्षको उमेरमा उनकी आमाको मृत्यु भयो । उनले आमाको शवलाई अस्पतालबाट घर ल्याए ।

तर उनको आमाको अन्तिम संस्कार कहाँ र कसरी गरियो भन्ने बारे कसैलाई पनि थाहा भएन । न त उनका छिमेकीलाई केही गलत भइरहेको छ भन्ने लाग्यो त्यसैले त कसैले पनि यसबारे एकपटक पनि सोधेनन् ।

तर गत बुधबार आधा रातमा पुलिसलाई एउटा फोन आयो जसको आधारमा उनीहरुले भारतको दक्षिण कोलकालाको बेहाला इलाकाको एउटा घरमा छापा मारे ।

बेहालाको मध्यवर्गीय इलाकामा दुई तल्ले एक घरमा पुलिसले अनुसन्धानमा जे पाए त्यसले मानिसहरुमा कौतुहल पैदा गरिदियो ।

दक्षिण कोलकाताका डीएसपी निलांजन विश्वासले अनुसन्धान गर्दा एउटा ठूलो फ्रिजरमा एक वृद्धाको शव भेटिएको बताए । उनले भने, ‘हामीलाई एक सूत्रले उक्त घरमा शवलाई वर्षौंदेखि बचाएर राखिएको भन्ने जानकारी दिए । जब हामीले छापा मार्यौं तब एउटा ठूलो फ्रिजर भित्र एक वृद्धाको शव भेट्यौं । उक्त शवलाई रसायनको माध्यमले बचाएर राखिएको थियो ।’

‘अनुसन्धान गर्दा उक्त शव सन् २०१५ को अप्रिलमा एक अस्पतालमा मृत्यु भएको बिना मजूमदारको भन्ने थाहा भयो । ’ उनले भने, ‘उनको शवलाई उनका छोरा शुभब्रत मजूमदारले अन्तिम संस्कार नगरी घरभित्रै राखेका रहेछन् ।’

उनका अनुसार शुभब्रतले एउटा ठूलो फ्रिजरभित्र केमिकलको प्रयोग गरेर आफ्नी आमाको शवलाई त्यसमा राखेका थिए । आमाको पेटबाट कलेजो र आन्द्रा निकालेर पुनः टाँका लगाएपछि शवलाई फ्रिजरमा राखिएको उनीहरुले पत्ता लगाए ।

वैज्ञानिक तरिकाले गरे शवलाई सुरक्षितः

पुलिसले उक्त घरबाट मानव अंग राखिएका केही बोतल पनि फेला पारेको बताए ।

प्राचिन इजिप्टमा मानव शवलाई संरक्षण गर्नका लागि केही विशेष तरिका अपनाइन्थ्यो । उनले त्यही तरिका अपनाएको पुलिसले जानकारी दिएको छ ।

शुभब्रतलाई पुलिसले पक्राउ गरेपनि उनले जमानत पाएका छन् । यद्यपी, जमानत पाएपछि उनलाई मानसिक अस्पताल पुर्याइएको छ ।

शुभब्रत आफूलाई ‘लेदर टेकनिक’ का जानकार बताउँछन् ।

फोरेन्सिक जानकारका अनुसार सायद उनले आफ्नो पढाईको क्रममा छालालाई सुरक्षित राख्ने उपाय बारे जे पढेका थिए त्यसै जानकारीको प्रयोग गरेका हुन् ।

अनुसन्धानको क्रममा शुभब्रतले भने, ‘मेरी आमा मेरो निकै नजिक थिइन् त्यसकारण उनलाई म पुनः जिवित बनाउन चाहन्छु ।’

पुलिस भन्छन्, ‘आमाको शवलाई सुरक्षित गरेर राख्दा यसै शरिरसँग उनी जिउँदो हुन्छिन् भन्ने उनलाई लागेको रहेछ । हामीले केही किताब र जर्नल पनि बरामद गरेका छौं जसमा शवलाई कसरी सुरक्षित गर्ने भन्ने बारे र पुनर्जिवनको सिद्धान्तबारे बताइएको छ ।’

शुभब्रत आफू मात्र यस्तो कुरामा विश्वास गर्दैनथे । उनले आफ्ना ९० वर्षीय बुवालाई पनि यस्तो हुनसक्छ भनी विश्वास दिलाएका थिए । उनका पिता उनीसँगै त्यसै घरमा बस्छन् ।

छिमेकीलाई बीना मजूमदारको मृत्युबारे थाहा थियो तर उनको शवलाई मुर्दाघरमा राखिएको छ भन्ने जानकारी प्राप्त भयो । पछि उनीहरुले पनि यस विषयमा सोधपुछ गर्न छोडिदिए ।

के यसको उद्देश्य पेन्सन थियो ?

के वास्तवमा नै शुभब्रत आफ्नी आमालाई पुनर्जीवित गर्न चाहन्थे वा यसको पछाडि कुनै अन्य कारण थियो ?

पुलिसले यस विषयमा आर्थिक फाइदालाई अस्विकार गरेको छैन ।

डिसीपी विश्वास भन्छन्, ‘शुभब्रतका आमा–बुवा फूड कर्पोरेशनमा काम गर्दथे र सेवानिवृत्तपछि उनीहरुले पेन्सन पाइरहेका थिए । तर पेन्सनरको मृत्युपछि पेन्सन पाउन बन्द हुन्छ ।’

‘तर उनको छोराले आमाको मृत्यु भएको तीन वर्षसम्म पनि लगातार पेन्सन निकालिरहेको भेटिएको छ ।’ उनले भने, ‘उनको छोरासँग डेबिड कार्ड छ र लगातार आमाको पेन्सन खाताबाट  पैसा निकालिरहेको भेटिएको छ ।’

उनले एक मृत व्यक्तिको अकाउन्टबाट यति लामो समयसम्म कसरी पैसा निकालिरहेका छन् यो कुरा भने स्पष्ट हुन सकेको छैन ।

के उनले आफ्नी आमाको अकाउन्ट चलाइराख्नका लागि नक्कली लाइफ सर्टिफिकेट दिए ? के यसका लागि आफ्नी आमाको औंठा छापको प्रयोग गरे र यसका लागि उनको शव सुरक्षित गरेर राखेका हुन् ? के यो मुद्दामा बैंक पनि संलग्न छ ?

डिसिपि निलांजन विश्वास भन्छन्, ‘यसबारे हामीलाई धेरै जानकारी छैन । हामीले यसबारे बैंकलाई सुचित गरिसकेका छौं । उनीहरुबाट पूर्ण जानकारी पाएपछि मात्र यसबारे टिप्पणी गर्न सक्नेछौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...