६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै : आर्थिक समृद्धि र सुशासनको कामना

Shahid

काठमाडौं । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ। दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ।

राष्ट्रपतिद्वारा आर्थिक समृद्धि र सुशासनको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताएकी छिन्।

प्रजातन्त्र दिवस-२०७४ का अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो।’

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे।

विसं २००७ फागुन ७ गतेका दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा विसं २०४६ र २०६२/६३ मा सफल आन्दोलन भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको उल्लेख गरे।

उनले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले हामी सबै नेपालीमा दिन सकोस् भन्ने कामना पनि गर्नुभएको छ।

उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनको सन्देशमा प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन अर्पण गरिएको छ।

सन्देशमा उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गरे।

उनले यससँगै धेरै वर्षदेखिको राजनीतिक संक्रमणकाल अन्त्य भई नेपालमा राजनीतिक स्थायित्व प्रारम्भ भएको र मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए।

उनले प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै आर्थिक समृद्धिका लागि सहकार्य गर्न सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल पनि गरेका छन्।

प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ, ‘देशमा हालै सम्पन्न संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुभएको प्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद तथा बधाई दिन चाहन्छु।’

सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ।

वर्तमान सरकार आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्दै आगाडि बढ्ने र त्यसका लागि वित्तीय अनुशासन र मितव्ययिता कायम गर्दै जनताको चाहनाअनुसारका विकास कार्यक्रम तीव्रताका साथ सञ्चालन गर्न सबैको सहयोग रहने विश्वास लिएको सन्देशमा उल्लेख छ।

प्रजातन्त्र दिवसमा नेताहरुबाट शुभकामना सन्देश

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा जारी गरिएको शुभकामना वक्तव्यमा उनले देशमा प्रजातन्त्र/लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र/लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गरे।

फागुन ७ गते नेपाली जनसंघर्षको इतिहासको एक अविस्मरणीय दिन भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २००७ को कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरे।

उनले देशमा केबल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूलरूपमा अग्रगामी परिवर्तन ल्याएको भन्दै जातजाति, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको बताए।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे।

अध्यक्ष राणाले विज्ञप्ति जारी गरेर प्रजातन्त्रप्राप्तिका लागि प्राण उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिएका छन्। मुलुकमा स्थापित राजनीतिक प्रणालीअनुसार राज्यको सबै तहमा निर्वाचित जनप्रतिनिधि बहाल भइसकेको अवस्थामा देशको समृद्धि र जनताको विकासका लागि दल क्रियाशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्ट (राष्ट्रवादीं) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि आज विज्ञप्ति जारी गरी उक्त दिवसले मुलुकको राष्ट्रिय अखण्डताको रक्षा गरी समृद्ध नेपाल बनाउने विषय सबै दलको साझा मुद्दा निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...