भारतले हटायो एमईपी प्रणाली : नेपालमा घट्यो प्याजको मूल्य

Pyaj

काठमाडौं । भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो।

भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा झरेको छ। नेपाली प्याजको बजार भारतीय उत्पादन र नीतिले प्रभाव पार्छ। भारतको विदेश व्यापार महानिर्देशनालयले आन्तरिक बजारमा नयाँ प्याज उत्पादन भित्रिएको र बजार मूल्य पनि कम भएको अवस्थामा एमईपी प्रणाली खारेज गरेको हो।

निर्यातकर्तालाई सहज हुने गरी उक्त प्रणाली खारेज गरिएको हो। यो प्रणाली खारेज पश्चात भारतीय निर्यातकर्ता र नेपालका आयातकर्तालाई सुलभ मूल्यमा भारतबाट प्याज आयात गर्न सहज भएको छ। भारतमा प्याजको मूल्य घटेर अहिले २० देखि २८ भारतीय रुपैयाँ कायम भएको छ।

भारतमा उत्पादन भएको प्याज केही महिनाअघि बाढीका कारण खेतमै नष्ट भएको र ठूलो परिमाणको प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो। मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य तोकेको थियो। भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यातदर घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो।

एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा झरेको छ।

महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५०डलर) लाग्ने व्यवस्था गत मंसिर पहिलो सातादेखि पुस १६ गतेसम्मका लागि लागू गरेको थियो। यो प्रणालीका कारण नेपाली उपभोक्ताले दुई महिनाअघि प्रतिकिलो प्याज एक सय ३० रुपैयाँमा खरिद गरी उपभोग गर्न बाध्य भएका थिए। भारतमै यो समयमा भारु ५५ रुपैयाँ प्रतिकिलो प्याजको थोक मूल्य कायम भएको थियो।

‘मोदी सरकारले एमईपी हटाएपछि अहिले भारतबाट सस्तो मूल्यमा प्याज आयात गर्न पाएका छौं’, कालिमाटी तरकारी बजारस्थित प्याजका थोक बिक्रेता राजेशकुमार कलवारले भने, ‘भारतीय नीतिका कारण अहिले नेपाली उपभोक्ताले प्रतिकिलो ५० रुपैयाँ सस्तो मूल्यमा प्याज खरिद गरी उपभोग गर्न पाएका छन्।’ उनका अनुसार भारतमा तत्कालै निर्वाचन नभए नेपाली उपभोक्ताले थप सस्तो मूल्यमा प्याज उपभोग गर्न पाउनेछन्। भारतमा हुने निर्वाचनका कारण पनि प्याजको मूल्य तलमाथि भइरहन्छ।

भारतमा यो वर्ष पनि प्याजको उत्पादनमा ४.५ प्रतिशतले गिरावट आएको छ। यसले फेरि प्याजको बजारमा समस्या आउने अनुमान भारतीय अखबारले गरेका छन्। यो वर्ष भारतमा दुई लाख १४ टन प्याज मात्रै उत्पादन भएको छ। अघिल्लो वर्ष दुई लाख २४ टन प्याज उत्पादन भएको थियो।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार प्याजको मूल्य घटेपछि अहिले कालिमाटी बजारमा दैनिक एक करोड ८० हजार रुपैयाँबराबरको १० गाडी (दुई सय १० टन) प्याज भारतबाट आयात भइरहेको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब एक करोड ७० लाख रुपैयाँबराबरको दुई सय ७० मेट्रिक टन प्याज खपत हुन्छ। यसमध्ये कालिमाटीमा ७० टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० टन प्याजको कारोबार हुन्छ।

यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० टन प्याजको कारोबार हुन्छ। ‘नेपालमा उत्पादन हुने प्याजले देशभरको मागलाई एक महिना पनि धान्दैन’, घिमिरेले भने, ‘त्यसैले मागअनुसार ९८ प्रतिशतभन्दा बढी प्याज भारत र चीनबाट आयात गर्नुपर्छ।’

नेपालमा अर्बौं रुपैयाँबराबरको प्याज आयात भए पनि सरकारले प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन कुनै पनि कार्यक्रम ल्याएको छैन। उनका अनुसार नेपालमा भारतको नासिक, इण्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ।

६ महिनामा दुई अर्बको आयात

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब मूल्यबराबरको ५० हजार टन प्याज भारत र चीनबाट आयात भएको छ। भारतबाट एक अर्ब ८१ करोड ७७ लाख ४५ हजार मूल्यबराबरको ४९ हजार ६ सय ४९ टन (चार करोड ९६ लाख ४९ हजार आठ सय १० किलो) प्याज आयात भएको छ। यही अवधिमा चीनबाट तीन करोड नौ लाख ९६ हजार मूल्यबराबरको चार सय ८७ टन (चार लाख ८७ हजार एक सय किलो) प्याज आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार आव २०७३/७४ मा भारत र चीनबाट चार अर्ब २० करोड ९८ लाख मूल्यबराबरको १३ करोड एक लाख किलो प्याज आयात भएको थियो। अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...