रुसी सेनाको कारबाहीमा सिरियामा ४५ को मृत्यु, कुन्दुजमा ११ तालिबान मारिए

Hawai karbahi

बेरुत । रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन् ।

शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन ।

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।

सिरियामा गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा जारी छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् ।

यता अफगानिस्तानको सुरक्षा फौजले तालिबानविरुद्ध चलाएको कारबाहीमा परी कम्तीमा ११ जना हतियारधारी लडाकू मारिएका छन् ।

घटनामा परी अन्य २० जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यका अनुसार सुरक्षा फौजले डास्ट ए आर्ची जिल्लामा शनिबार मध्याह्नतिर तालिबानविरुद्ध आक्रमण गरेको थियो ।

सुरक्षाकर्मीहरूले घटनास्थलमा रहेका तालिवानहरूलाई लक्षित गरी थप कारबाही चलाएका छन् । शान्ति सुरक्षा कायम गर्नका लागि सत्रुहरू माथि कारबाही चलाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

तालिबान लडाकूहरू अफगानिस्तानको कुन्दुज प्रान्तका केही भागहरूमा निकै सक्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस