भागबन्डामा पत्रकारिता पुरस्कार प्रदान नगर्न समाजवादी प्रेस संगठनको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ ।
संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन–पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो ।
संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ ।
संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको औंल्याएको छ । ‘आम नागरिकको विश्वास, आशा र भरोसाको केन्द्र बन्नुपर्ने पत्रकार तथा संस्थाहरू आफै लोभ, प्रलोभन र पहुँचको दबाबमा परी विश्वसनीयता गुमाउँदै जानु चिन्ताको विषय हो’ ज्ञापन–पत्रमा भनिएको छ ।
प्रदेश सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा बजेट विनियोजन गरेको तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नहुनु, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनुले बजेट पारदर्शितामाथि प्रश्न उठाएको संगठनको भनाइ छ । यसले नागरिकको करबाट सञ्चित राजस्वको अपमान समेत गरेको उसले ठहर गरेको छ ।
संगठनको ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव आचार्यले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताएका छन् ।
प्रतिकृया दिनुहोस