कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं

Lilaballav arrived at tia ktm

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । प्रहरीले मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ गरेको थियो ।

जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरेको छ ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायरा बाहिरै थिए ।

शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । अधिकारी भने ‘म मन्त्री हुँ’ भन्दै परिचयपत्र देखाएर उम्किएका थिए ।

प्रतिकृया दिनुहोस