राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, राष्ट्रिय सभालाई ओजपूर्ण बनाउने प्रतिवद्धता

Narayan dahal sapath

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ कको अनुसूची २ बमोजिम सपथ खुवाएका हुन् । दाहाल आजै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको पक्षमा ३९ मत आएको थियो भने विपक्षमा १७ मत आएको थियो । बैठकमा ५६ जना सांसद उपस्थित थिए ।

५९ सदस्यीय रहेको राष्ट्रिय सभामा हालः माओवादी १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य छन् । त्यसैगरी राष्ट्रपतिबाट नारायणप्रसाद दाहाल र बामदेव गौतम मनोनित सदस्य हुन् । बिमला राईको कार्यकाल सकिएपछि एकजना मनोनित हुन बाँकी छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन् ।

‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु’, उनले भने । अध्यक्ष दाहालले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजान आफू प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिकृया दिनुहोस