राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओवादी, तेस्रोमा खुम्चियो एमाले

Rastriya sabha griha

काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।

माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १/१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । योसँगै आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ ।

फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाए पनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।

राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ । गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ ।

हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका छ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ ।

आगामी फागुन २१ मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् ।

१९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले एमालेभन्दा बाहिर छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत गौतम पार्टी विभाजनपछि स्वतन्त्रकै हैसियतमा छन् ।

फागुन २१ पछि एमाले नेतृत्वले गौतमलाई पार्टीभित्रै फर्काएको खण्डमा भने राष्ट्रिय सभामा एमालेको उपस्थिति संख्या ११ रहने छ । तर, गौतम एकीकृत समाजवादीमा प्रवेश गरे राष्ट्रिय सभामा एमाले एकीकृत समाजवादीभन्दा जम्मा एक सिटले अगाडि हुने छ । दुई वर्षअघि एमालेसँग राष्ट्रिय सभामा ३१ सांसद थिए । एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दलमा थियो । २०७४ माघ २४ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट एमाले पहिलो दल बनेको थियो । त्यतिबेला एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो ।

त्यसैगरी कांग्रेस १३, माओवादी केन्द्र १२, तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम २ सिटमा विजयी भएका थियो । २०७५ वैशाखमा एमाले र माओवादी मिलेर बनेको नेकपाको नाममा (राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत ३ जना सहित) ४१ सांसद थिए ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेकाहरूको पदावधि २०७६ फागुन २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट तत्कालीन नेकपाले १६ सिट जितेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जनाबाहेक ४७ जना नेकपाका सांसद थिए ।

२०७६ को निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेस १३ सांसदबाट ६ सांसदमा खुम्चिएको थियो । नेकपासँग गठबन्धन गरेर राजपा भने आफ्नो दुई सिट जोगाउन सफल भएको थियो । तत्कालीन समाजवादी पार्टीले आफ्नो दुई सिटमध्ये एक गुमाएको थियो । कांग्रेसले गुमाएको ७ र समाजवादीको १ गरी राष्ट्रिय सभामा ८ सिट तत्कालीन नेकपाले बढोत्तरी गरेको थियो ।

२०७८ मा आइपुग्दा नेकपा विभाजन भई एमाले र माओवादी अलग भए । त्यसबेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए ।

एमाले फुटेर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी बन्यो । २०७८ भदौमा एमाले विभाजन हुँदा ३१ सांसदमध्ये सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए । माओवादी केन्द्रका दुई जना राष्ट्रियसभा सदस्य ९रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काले एमाले रोजे । माओवादीले निष्कासित गरेसँगै उनीहरूको सांसद पद पनि खारेज भएको थियो ।

उपनिर्वाचनमा तत्कालीन सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले बादललाई हराएका थिए भने खड्काको ठाउँमा कांग्रेस उम्मेदवार दृघनाराणय पाण्डे विजयी भएका थिए । उपनिर्वाचनबाट कांग्रेसका सांसदको संख्या ७ पुग्दा राष्ट्रिय सभामा स्वतन्त्र सांसदको पनि प्रवेश भएको थियो ।

त्यसपछि २०७८ फागुन २१ मा गोलाप्रथाबाट चारवर्षे कार्यकाल परेका १९ जनाको पदावधि सकिँदै थियो । माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले १८ सिट जित्यो ।

गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच–पाँच, जसपा र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका थिए । १९ मध्ये एमालेले एक सिटमा जित हात पारेको थियो । सात सिट गुमाएको एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित पहिलो शक्तिमा कायमै रह्यो ।

गत वर्ष मङ्सिरमा भएको आम निर्वाचनमा टिकट खोसाखोस चल्दा एमालेका खिमलाल भट्टराईको राष्ट्रियसभा सदस्यको पद गयो । त्यसपछि गत वर्ष माघ २५ मा भएको राष्ट्रियसभा उपनिर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार एमालेका कुमार दसौंदी विजयी भए । प्रमुख दल कांग्रेस, माओवादीसहितको गठबन्धनबाट एमाले २०७८ र ०८० मा एक एक जना खोसेको छ ।

प्रतिकृया दिनुहोस