कुन-कुन बैंक परे राष्ट्र बैंकको कारवाहीमा ?

Rastra bank bilding

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब एक दर्जन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाण्डूलाई कारबाही गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएको लगायत कसुरमा राष्ट्र बैंकले ती बैंकहरुलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको बिषयमा नगदसहित कारबाही गरिएको हो ।

जसअनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना गरेको छ । प्रभु बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै सचेतसमेत गराएको छ ।

कुमारी बैंकले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै केन्द्रीय बैंकले ५० लाख जरिवाना गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै राष्ट्र बैंकले तत्कालीन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र प्राइम बैंकलाई पनि ५० लाख जरिवाना गराएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा ९७० को उलंघन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराएको छ ।

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्थाको ऐन उल्लंघन गरी सुविधा प्रदान गरेकाले बैंकलाई सचेत गराएको छ । सिभिल, माछापुच्छ्रे र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराएको छ । यी बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गरेकाले राष्ट्र बैंकले सचेत गरेको छ।

नबिल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेका ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले बैंकलाई सचेत गराइएको छ ।

 

 

प्रतिकृया दिनुहोस