नेप्से ३.६५ प्रतिशतले वृद्धि हुँदा ३ अर्ब ३६ करोड २२ लाखको कारोबार

Seyar bajar badhyo

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका बाह्य सूचकहरुमा उल्लेख्य सुधार भएको विवरण सार्वजनिक गरेको थियो ।

निक्षेपमा वृद्धि भएर सीडी रेसियो सहज भई घट्दा अन्तर बैंक ब्याजदर र बाह्य क्षेत्रमा सुधार हुँदा ब्याजदर घट्ने अपेक्षामा मंगलबार सेयर बजारमा हरियाली छाएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदा लगानीकर्ता पनि उत्साहित भएका हुन् । मंगलबार बजार परिसूचक नेप्से ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.३५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ४७ करोडमा सीमीत भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ । मंगलबार ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १२ करोड ९२ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपी पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार हुँदा २१५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधि हाइड्रोपावर, आदर्श लघुवित्त र रिडी हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेबलमा बन्द भएको छ ।

प्रतिकृया दिनुहोस