नजिकको ‘सिंहदरबार’ टाढा : बेखबर जनप्रतिनिधि, निजीको धन्दा

Cij 20

सुनसरी । गएको जेठमा सामान्य ज्वरो आएर बिरामी परेकी सुनसरीको वराहक्षेत्रकी सुधिरा झा अस्पताल जान नपाएर बितिन्। छोरा नारायणका अनुसार, ५३ वर्षीया उनलाई ज्वरोले च्याप्दै लगेपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स पाइएन। चार दिनपछि नारायणले आफ्नी आमालाई सदाका लागि गुमाए।

“आमालाई सञ्चो नभएपछि नजिकैको चतरा स्वास्थ्य केन्द्रमा लगेको थिएँ, चिकित्सकले थप उपचारका लागि धरानको घोपा क्याम्प लैजानुस् भने,” नारायण भन्छन्, “थाहा भए जति एम्बुलेन्सलाई फोन गरें, तर कोरोनाको बहाना बनाएर कोही आएनन्।” नारायणका अनुसार, बोकेरै लैजाने अवस्था थिएन, बल्लतल्ल चार दिनपछि उनले नगरपालिकाको गाडीमा आमालाई अस्पताल पुर्‍याउन पाए। तर, डाक्टरले हेरेपछि बितिसकेको बताए।

सडकमार्गसँग जोडिएको सुगम मानिने सुनसरी जिल्लास्थित वराहक्षेत्र नगरपालिकामा एम्बुलेन्स नहुँदा यहाँका सिकिस्त बिरामीले सुधिराले जस्तै ज्यान गुमाउनु परिरहेको छ।

नजिकको ‘सिंहदरबार’ टाढा 

नगरपालिकामा एक वर्षयता बेलैमा एम्बुलेन्स नपाएर ६ जनाले ज्यान गुमाएको सम्बन्धित परिवारसँग सोधखोज गर्दा थाहा भएको छ। नगरपालिकाको २ र १० वडामा कोरोना सङ्क्रमित तीन महिला सहित चार जनाले एम्बुलेन्स अभावमा अस्पताल जान नपाएर ज्यान गुमाए।

वराहक्षेत्र नगरपालिका कार्यालय।

गएको जेठमै वडा नम्बर ४ की एक गर्भवतीले पनि यस्तै नियति भोग्नुपर्‍यो। तीन साताअघि २४ मंसीरमा मात्रै वडा नम्बर १ बस्ने क्यान्सर पीडित महिलाले कष्टपूर्ण मृत्युवरण गरिन्। रोग फरक फरक भए पनि उनीहरूको मृत्युको मुख्य कारण समयमा अस्पताल पुर्‍याउने एम्बुलेन्स उपलब्ध नहुनु हो।

वराहक्षेत्र–१ मै पर्ने सूर्यकुण्ड, चौरीबारीदेखि यातायात सहज भएका बगुवा वा चक्रघट्टी सबै ठाउँमा बस्नेले भोगिरहेको समस्या हो, यो। बगुवाका गणेश राईले कोरोना महामारीको पछिल्लो सात महीना ७३ वर्षकी बिरामी आमालाई टेम्पोमै धरान ओहोरदोहोर गराए। “क्यान्सरले पीडित आमालाई महीनाको दुई पटक अस्पताल लैजानुपर्थ्याे, तर एम्बुलेन्स पाइएन,” गणेश भन्छन्, “कहिलेकाहीं दिसा–पिसाब बन्द हुँदा टेम्पोमा उचालिंदै थचारिंदै अस्पताल जानु कम्ती सास्ती थिएन।” गएको मंसीरमा आमा गुमाएका उनलाई नगरपालिकामा सुविधायुक्त एम्बुलेन्स हुँदो हो त अरू केही समय आमाको साथ पाइन्थ्यो कि भन्ने लागिरहन्छ।

यही वडामा पर्ने सूर्यकुण्डका हेम राईले एम्बुलेन्स नभएकै कारण २७ वर्षीया श्रीमतीलाई गुमाउनुपर्‍यो। सात वर्ष अगाडिको घटना सम्झँदै उनी भन्छन्, “उनलाई राति १० बजेदेखि एक्कासि पेट दुख्न थाल्यो, असह्य हुँदै गएपछि एम्बुलेन्स खोजें, तर पाइएन। अर्को दिन बिहान बल्लतल्ल एउटा निजी गाडीमा धरानको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत्यु भइसकेको भने। अवस्था अहिले पनि उस्तै छ।”

हुन त नगरपालिकाभित्र निजी एम्बुलेन्स नभएका होइनन्। तर, निजी एम्बुलेन्सले चर्को भाडा असुल्ने र भनेको समयमा कहिल्यै नआइदिने समस्या रहेको पीडितहरूको गुनासो छ। सूर्यकुण्डदेखि १९ किलोमिटरको दूरीमा रहेको धरान पुग्न मात्र पनि निजी एम्बुलेन्सले पाँच हजारदेखि सात हजार रुपैयाँसम्म असुल्छन्। “ती थोत्रा एम्बुलेन्स महँगै भए पनि चाहिएका वेला आउँदैनन्,” सूर्यकुण्डका हेम राई भन्छन्। उनका अनुसार, नगरपालिकामा न त राम्रो अस्पताल छ, न अलिक परको अस्पतालसम्म पुग्ने एम्बुलेन्स नै।

प्राथमिक स्वास्थ्य केन्द्र, चतरा।

वराहक्षेत्र–२ कै पुल्ठेगौंडा बस्ने निर्मला माझीले पनि बिरामी सासूलाई अस्पताल लैजान खोज्दा एम्बुलेन्स पाइनन्। जेठ २०७८ मा सासू फुलमाया माझीलाई घाँटी दुख्ने, ज्वरो आउने भएपछि निर्मलाले चतरा स्वास्थ्य केन्द्रमा पुर्‍याइन्। केन्द्रले उनलाई तत्काल नजिकको ठूलो अस्पतालमा लैजान सिफारिश गर्‍यो। आर्थिक रूपमा कमजोर उनीसँग निजी एम्बुलेन्सलाई तिर्ने पैसा थिएन। अरू भाडाका गाडी खोजिन्, तैपनि पार लागेन। त्यसपछि सासूलाई फर्काएर घरै ल्याइन्। “घर आएको दश मिनेटमै उहाँ बित्नुभयो,” निर्मला भन्छिन्। “स्थानीय सरकार बनेपछि घर–घरमा सिंहदरबार भन्थे, तर त्यो हामी जस्ता निम्छरालाई होइन रहेछ,” अकालमै अभिभावक गुमाउनुको पीडा सुनाउँदै उनी भन्छिन्, “जनप्रतिनिधिलाई बैठकपिच्छे भत्ता भए पुग्यो, जनता मरून् कि बाँचून्!”

झण्डै २२३ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको सुनसरी जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह वराहक्षेत्र नगरपालिकाको जनसङ्ख्या ७७ हजार ५६५ छ। तर, यो नगरपालिकासँग एउटा पनि एम्बुलेन्स छैन। नगर बाहिर उपचार गराउन जानुपरे महँगो रकम तिरेर पाइने भनेको टेम्पो (अटोरिक्सा) नै हो, त्यो पनि चाहिएका वेला पाउन सजिलो छैन।

दुई वर्षअघि वराहक्षेत्र–३, पुनर्वासका कृष्ण चाम्लिङ राईलाई अचानक रिँगटा लाग्यो। भुइँमा लडेका उनलाई अस्पताल लैजान एम्बुलेन्स खोज्दा तत्कालै पाइएन। केही समयपछि टेम्पोमा राखेर अस्पताल लैजाँदै गर्दा उनी बाटोमै बिते। कृष्णका साथी जितेन्द्र राई भन्छन्, “तुरुन्तै एम्बुलेन्स पाउन सकेको भए उसको ज्यान बच्थ्यो कि!”

दुई महीनाअघि वराहक्षेत्र–४ को आन्द्रामठ गाउँकी गर्भवती महिलालाई व्यथा लाग्यो। मुसहर समुदायकी उनीसँग महँगो साधन भाडामा लिन रकम थिएन। समयमै अस्पताल जान नपाउँदा उनले ज्यान गुमाउनुपर्‍यो। “श्रीमान् मजदूरी गर्न बाहिर गएका थिए, घरमा जान्ने-बुझ्ने कोही थिएनन्,” एक गाउँले भन्छन्, “निजी एम्बुलेन्सलाई तिर्ने रकम समेत नभएका उनीहरूले अरू उपाय गर्दागर्दै बिरामीको ज्यान गयो।” श्रीमतीको मृत्युको पीडा र सन्तानको लालनपालनको चिन्ताले थिचिएका ती श्रीमान् अहिले बसाइँ सरिसकेका छन्।

वराहक्षेत्र नगरपालिका अन्तर्गत चतरा र मधुवनका प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) साथै नगरपालिकाको कार्यालय रहेको चक्रघट्टीस्थित नगर अस्पतालमा बिरामीको चाप अरू ठाउँमा भन्दा बढी छ। चतरा स्वास्थ्य केन्द्रमा सीमा जोडिएका जिल्ला उदयपुर, भोजपुर र धनकुटाबाट पनि बिरामी आउँछन्। धेरैको सहज पहुँचमा भएको यो केन्द्रले बिहान ८ देखि रातिको ८ बजेसम्म बहिरङ्ग सेवा र २४ सै घण्टा आकस्मिक र प्रसूति सेवा दिइरहेको छ।

चक्रघट्टी नगर अस्पताल।

चतरा स्वास्थ्य केन्द्रमा उपचार गराउन आएकामध्ये करीब २० प्रतिशत बिरामी सघन उपचार कक्ष (आईसीयू), नवजात सघन हेरचाह इकाइ (एनआईसीयू)मा राख्नुपर्ने खालका हुने गरेको केन्द्रका चिकित्सक अनिल गिरी बताउँछन्। त्यस्ता बिरामीलाई धरान, विराटनगर जस्ता ठूला शहरका अस्पतालमा रिफर गरिन्छ। “तर सिकिस्त बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन हामीसँग एम्बुलेन्स छैन,” डा. गिरी भन्छन्।

धरान–सिन्धुली–हेटौंडा सडक र रूपनगर–चतरा–नडाहा सडकमा हुने दुर्घटनाका घाइते शुरूमा आइपुग्ने पनि यही स्वास्थ्य केन्द्र हो। दुर्घटनाका गम्भीर बिरामीलाई तुरुन्तै अर्को अस्पताल पठाउन सुविधासम्पन्न एम्बुलेन्स चाहिए पनि नगरपालिकामा त्यस्तो एम्बुलेन्स छैन। डा. गिरी भन्छन्, “यो केन्द्रका लागि एम्बुलेन्स र शववाहन दुवै आवश्यक छन्।”

नकुटाको तामराङबाट २०७१ सालमा उपचार गराउन आएकी एक गर्भवतीको चतरा केन्द्रमा उपचार सम्भव नभएपछि धरान लैजान गाडी खोज्दा खोज्दै ज्यान गयो। “हेर्दा हेर्दै आठ वर्ष बितिसकेछ, तर अवस्था अहिले पनि उस्तै छ,” नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता एव‌ं चतरा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य लंकमान विक भन्छन्, “नगरपालिकाले अलपत्रै छोड्ने गरिका माछापोखरी खनाउँछ, तर ज्यान जोगाउने एम्बुलेन्स किन्दैन।” चतरा स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराई भन्छन्, “केन्द्रले एम्बुलेन्स किन्न सक्ने अवस्था छैन, नगर र जिल्लालाई भन्दाभन्दा थाक्न लागियो, तर सुनुवाइ भएको छैन।”

निजीको धन्दा 

नगरपालिकामा निजी र अन्य संस्थाका ६ वटा एम्बुलेन्स छन्, तर ती एम्बुलेन्सले बिरामी बोक्नेभन्दा पनि अरू नै ओसारपसारका नाफामुखी काममा व्यस्त हुने गरेको आरोप लाग्ने गरेको छ।

तीमध्ये अधिकांश एम्बुलेन्सले सामान्य स्वास्थ्य मापदण्ड पूरा नगरेको, अक्सिजन सिलिन्डर र प्राथमिक उपचारका कुनै सामग्री नरहेको र बिरामी अनुकूल नभएको वराहक्षेत्र–२ का सदस्य लालकुमार तामाङ बताउँछन्। “निजी एम्बुलेन्स कहिल्यै समयमा आइपुग्दैनन्, आए पनि तिर्नै नसक्ने गरी चर्को भाडा लिन्छन्,” उनी भन्छन्।

वराहक्षेत्र–२ मिलनचोक बस्ने ४८ वर्षीया शारदा खड्कालाई महीनाको एक पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गइरहनुपर्छ। मुटु सम्बन्धी बिरामी उनलाई अस्पताल जान सुविधायुक्त एम्बुलेन्स चाहिन्छ। “हुँदै नभएपछि के गर्नु, ज्यान जोखिममा राखेर भए पनि सार्वजनिक यातायातमै अस्पताल जाने गरेकी छु,” शारदा भन्छिन्।

‘सेभ द हार्ट’ संस्थाकी पूर्व अध्यक्ष समेत रहिसकेकी शारदाका अनुसार, साविकको वराहक्षेत्र गाउँ विकास समितिमा मात्रै मुटुको शल्यक्रिया गरेका पाँच जना बिरामी छन्। उपचारका लागि बारम्बार अस्पताल गइरहनुपर्ने उनीहरूलाई सुविधायुक्त एम्बुलेन्स नहुँदा सास्ती भएको छ। चार वर्षअघिको घटना सम्झँदै उनी भन्छिन्, “एक जना गाउँलेलाई अस्पताल लैजान धरानबाट बोलाएको एम्बुलेन्सले एक घण्टा ढिलो गर्दा ज्यान गयो।” सुविधाको नाममा टर्चलाइट समेत नभएका निजी एम्बुलेन्सले स्कूलका विद्यार्थी बोक्नेदेखि मालसामान समेत ओसार्ने गरेको त्यहाँका स्थानीय बताउँछन्।

वराहक्षेत्र–१०, प्रकाशपुरको सनसाइन इंग्लिस बोर्डिङ स्कूलका प्राचार्य लालबहादुर राई समयमै अस्पताल जान नपाउँदा दुई महीनाअघि मात्र स्थानीय एक महिला र एक पुरुषले ज्यान गुमाएको बताउँछन्।

दुई वर्षअघि एम्बुलेन्सका कारण आफ्नै छोराको ज्यान जोखिममा परेको घटना सम्झँदै प्राचार्य राई भन्छन्, “निमोनिया भएको ६ वर्षको छोरा सुदेशलाई राति अस्पताल लैजान निजी एम्बुलेन्स तयार भएनन्। पछि एम्बुलेन्स नै तोडफोड गरिदिने खालको धम्की दिएपछि मात्रै अस्पताल लगिदिए र छोराको ज्यान बच्यो।”

बेखबर जनप्रतिनिधि

‘समृद्ध नगर, सुखी नगरवासी, गुणस्तरीय स्वास्थ्य नागरिकको अधिकार’ नारा दिएको नगरपालिकाले एउटा पनि एम्बुलेन्सको व्यवस्था नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको प्राचार्य राई बताउँछन्। “जनप्रतिनिधिलाई जनताको मतलब छैन, हामी पनि उस्तै छौं, निर्वाचन आएपछि सबै बिर्सिदिन्छौं।”

बिग्रेर थन्किएको प्रकाशपुर स्वास्थ्यचौकीले सञ्चालन गरेको एम्बुलेन्स।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु.१ अर्ब ५ करोड ५८ लाख बजेट विनियोजन गरेको छ। नगर विकास योजना किताबमा उल्लेख भए अनुसार, पदाधिकारीलाई अन्य सुविधा रु.१ करोड, भत्ता रु.५५ लाख, भ्रमण भत्ता रु.२८ लाख, भ्रमण खर्च रु.१३ लाख ८० हजार, सेवा र परामर्श खर्च रु.२० लाख, विविध खर्च रु.२४ लाख, सभा सञ्चालन खर्च रु.७ लाख, कार्यक्रम खर्च रु.१५ लाख छुट्याइएको छ।

अधिकांश खर्चको स्रोत आन्तरिक उल्लेख गरिएको योजना विकास किताबमा सञ्‍चित कोषबाट खर्च हुने पशुधन तथा बागवानी विकास खर्च र पूँजीगत अनुसन्धान तथा परामर्श जस्ता उस्तै कार्यक्रम तथा आयोजनालाई विभिन्न बुँदामा राखी रु.२ करोडभन्दा बढी खर्च उल्लेख गरिएको छ। नगर र वडास्तरीय योजनामा मात्र विभिन्न धार्मिक स्थलहरूको मर्मतसम्भार शीर्षकमा करीब रु.३४ लाख विनियोजन भएको छ। अर्बभन्दा बढीको बजेट बनाइरहँदा स्वास्थ्य जस्तो अति आवश्यक क्षेत्र भने उपेक्षामा परेको छ।

हरि पराजुली र दिलमाया राउत।

नगरको रवैयाबाट शारीरिक अपाङ्गता भएका नगरवासी पनि रुष्ट छन्। नगरपालिकाले अपाङ्गता भएका नगरवासीका लागि केही पनि काम नगरेको आरोप लगाउँछन् पुल्ठेगौंडा बस्ने दम्पती हरि पराजुली र दिलमाया राउत।

घरबाट १० मिनेटको दूरीमा रहेको स्वास्थ्य केन्द्रमा जान पनि एम्बुलेन्स चाहिने उनीहरूलाई टाढाको अस्पताल जानु त असम्भव जस्तै छ। दिलमाया भन्छिन्, “मेरो कम्मरमुनिको भाग लुलो छ, श्रीमान् त घस्रिन मात्र सक्नुहुन्छ, घरमा वृद्ध आमा बाहेक अरू कोही छैन। खै घर नजिकको सिंहदरबारले हामीलाई हेरेन!”

नगरको गैरजिम्मेवार रवैयाले गर्दा आर्थिक अवस्था कमजोर भएका परिवारका लागि एम्बुलेन्स ‘आकाशको फल’ जस्तै भएको छ। एम्बुलेन्स खरीदका लागि जनप्रतिनिधिलाई कुनै चासो नरहेको बताउँछन्, नेकपा एमाले २ नम्बर वडाध्यक्ष जितेन्द्र राई। उनी भन्छन्, “वडालाई भन्यो नगरलाई देखाउँछ, नगरले प्रदेश र संघलाई देखाउँछन्।”

स्वास्थ्य चौकी, प्रकाशपुरकी स्वास्थ्य स्वयंसेविका विजया आचार्य एम्बुलेन्सको अभावमा विपन्न परिवारका गर्भवती महिला र सिकिस्त बिरामीलाई अस्पताल जानु पनि ठूलै आपत् हुने बताउँछिन्। भन्छिन्, “बाटोघाटो राम्रै छ, धेरै टाढा पनि होइन, तर जाँदाजाँदै बाटोमै सुत्केरी हुने र सिकिस्त बिरामीको ज्यान जाने घटना भइरहन्छन्।” चक्रघट्टीस्थित नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहन सुवेदी पनि एम्बुलेन्सका लागि नगरपालिकाको बैठकमा कुरा राख्ने गरेको तर अहिलेसम्म सुनुवाइ नभएको बताउँछन् ।

वराहक्षेत्र–६ का वडाध्यक्ष उद्धवप्रसाद पोखरेल आफू विपक्षी दलको भएको हुँदा मेयरले यसै पनि बजेट कम दिने गरेको आरोप लगाउँदै भन्छन्, “अर्बौंको बजेट बनाउने नगरपालिकाले एउटा एम्बुलेन्स समेत नकिन्नु गैरजिम्मेवारी र लापरवाही बाहेक केही होइन।”

नीलम खनाल, मेयर

नगरपालिकाका मेयर नीलम खनाल भने एम्बुलेन्सका लागि संघीय सरकारसँग माग गरेको र पुस महीनाभित्रै एउटा एम्बुलेन्स आइपुग्ने दाबी गर्छन्। तर, उनको यो भनाइसँग वडाका प्रतिनिधि, चिकित्सक र स्थानीय बासिन्दा कोही पनि आश्वस्त छैनन्।

नेपाली कांग्रेसबाट मेयर पदका प्रत्याशी बाबुराम विष्ट नगरको यस्तो हालत हुनुमा मेयर खनाल जिम्मेवार भएको आरोप लगाउँछन्। “अर्बाैंको बजेट बनाइरहँदा अति आवश्यक एम्बुलेन्सलाई उपेक्षा गर्नु सरासर जनताको अपमान हो, हाम्रोभन्दा थोरै जनसङ्ख्या र आम्दानी भएका जिल्लाका गाउँपालिकामा समेत दुई दुई वटा एम्बुलेन्स छन्, हाम्रो नगरपालिकामा एउटा पनि नहुनु लाजमर्दो कुरा हो,” उनी भन्छन्।

देवानगञ्जमा भारतीय दूतावासले दिएका तीन वटा एम्बुलेन्समध्ये दुई वटा सञ्चालनमा छन् । सँगैको दुहबी नगरपालिकामा दुई वटा र रामधुनी भासीमा एउटा एम्बुलेन्स सञ्चालनमा छन्।

वराहक्षेत्र नगरपालिकासँग सीमा जोडिएको कोशी गाउँपालिकामा मात्रै दुई वटा एम्बुलेन्स छन्। करीब ४४ हजार जनसङ्ख्याका लागि हरिपुर र लौकहीमा एम्बुलेन्स सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अयुव अन्सारी बताउँछन्। गढी गाउँपालिकाको भमरी बजार र सत्तेरझोडामा पनि दुई वटा एम्बुलेन्स छन्। करीब ३५ हजार जनसङ्ख्या रहेको यो गाउँपालिकामा ६०० जनालाई अपाङ्गता भएको र अति विपन्न पहिचान गरी उनीहरूका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको अध्यक्ष श्रीप्रसाद यादव बताउँछन् । खोज पत्रकारिता केन्द्रबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...