भण्डारमै थुप्रियो १ करोड २२ लाख डोज कोरोना खोप

Corona khop

काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव दिएका छन् ।

नेपाललाई पुस २ गतेसम्म तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप प्राप्त भएको छ । प्राप्त खोपमध्ये पुस २ गतेसम्मै दुई करोड १४ लाख ४५ हजार १४५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारी तथ्यांकअनुसार मंगलबारसम्म १ करोड २२ लाख डोज कोरोना खोप सरकारी भण्डारणमा छ । काठमाडौंको केन्द्रीय भण्डारण (टेकु) ६४ लाख डोज खोप छ भने काठमाडौं वरिपरिका १० जिल्लाका लागि २ लाख ७३ हजार खोप मौज्दात छन् ।

प्रदेश १ मा ५ लाख ४५ हजार, प्रदेश २ को पथलैयामा १४ लाख, बागमती प्रदेशको हटौंडामा १ लाख ४१ हजार, गण्डकीमा १ लाख १४ हजार, लुम्बिनीमा १ लाख २१ हजार, कर्णालीमा १ लाख ३४ हजार र सुदूरपश्चिममा ७९ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भण्डारमा खोप थुप्रिएकाले तत्काल ल्याउने तयारी भएको खोप प्राप्त गर्ने समय पछाडि धकेल्न स्वास्थ्य अधिकारीहरु लागिपरेका छन् । मन्त्रालयका अधिकारीहरुका अनुसार विभिन्न देशबाट चैतसम्ममा २ करोड हाराहारीमा खोप ल्याउन सकिन्छ ।

अहिले खोप १ करोडभन्दा भण्डारणमा रहेकाले पाइपलाइनमा भएका खोप तत्कालै नल्याउने परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् । ‘हामीसँगै अझै एक करोड बढी डोज खोप बाँकी नै छ । दुई करोड आउने पाइपलाइनमा छन्’ उनले भने, ‘अहिलेसम्म जसोतसो व्यवस्थापन भइरहेको छ । अब एकैपटक आएको अवस्थामा लिन गाह्रो हुने अवस्था आइसकेको छ ।’

परिवार कल्याण महाशाखाका अनुसार चैतसम्ममा १ करोड ८२ लाख डोज आउने पाइपलाइन छन् । जसमध्ये एस्ट्राजेनेका ३३ लाख ६४, साइनोभ्याक ३० लाख, सिनोफार्म ११ लाख ८४ हजार, फाइजर ६६ लाख र मोर्डना ४० लाख आउने क्रममा छन् ।

‘केही दिनयता खोप लगाउने संख्या बढिरहेको छ । यही अनुपातले कभरेज बढ्दै गएको खण्डमा अरू थप खोप ल्याउन सकिएला,’ दाहालले भने, ‘केही समयसम्म पाइपलाइनमा भएका खोप नल्याउने छलफल भइरहेको छ ।’

सरकारले उपलब्ध गराएको खोपको आयात र वितरण भएको तथ्याङ्क हेर्दा नेपालसँग एक करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप सुरक्षित हुनुपर्ने हो । तर, स्वास्थ्य सेवा विभागको आपूर्ति शाखामा पुस २ गतेसम्म केन्द्र र प्रदेश गरी सरकारसँग एक करोड १ लाख ५० हजार मात्रा खोप बाँकी छ ।

स्थानीय तह र प्रदेश सरकारसँगको समवन्य कमीले पनि यस्तो भएको भन्दै उनले सबै सरोकारवालाको सहयोग मागेर खोप अभियानलाई तीव्र बनाइने बताइन् । ‘सोमबार प्रधानमन्त्रीको अध्यक्षमा एउटा बैठक बसेको थियो, खोप अभियानलाई तीव्र बनाउनका लागि सबै सरोकारवालासँग सहयोग माग्ने कुरा भएको छ,’ उनले भनिन् ।

सरकारले छिमेकी भारत र चीनसहित विभिन्न मुलुकबाट अनुदान र खरिद प्रक्रियामार्फत कोरोनाविरुद्धको खोप आयात गरेको हो । शाखा प्रमुख चौरसियाका अनुसार पुस ५ गते भेरोसेलको ५९ प्यालेट अर्थात् १२ लाख एक हजार ८७ भाइल र कोभिसिल्ड १८ लाख ७० हजार पाँच सय डोज खोप थपिएको छ । यो खोप नेपालले अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको हो ।

प्रतिकृया दिनुहोस