पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई जन्मकैदको फैसला

Dekendra raj thapa

दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आइतवार उक्त फैसला भएको गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । डेकेन्द्रराजको हत्या भएको १७ वर्षपछि आरोपी दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय खड्कालाई सजाय भएको हो ।

आफूलगायत ९ जनाविरुद्ध जाहेरी परेपछि फरार रहेका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो । प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि दैलेख कारागार चलान गरेको थियो ।

यो फैसलामा ‘अरुण’ भन्ने बमबहादुर खड्काको अलवा कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ ।
मुल्तवीबाट जगाइएको कर्तव्य ज्यान सम्वन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको बताए ।

आइतवार भएको बहसमा कसूरदारलाई सजायको मागदावी गर्दैै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गर्नुभएको थियो । प्रतिवादीहरुको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते खानेपाीको बिबाद मिलाउन भन्दै बोलाएर अपहरणमा परेका पत्रकार थापालाई नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर जीउँदै खाल्डोमा गाडेका थिए ।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मासिएको भन्दै त्यतै बेला माओवादीको कडा आलोचना भएकोले माओवादीले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेका थिए ।

प्रतिकृया दिनुहोस