यसरी हुँदैछ कोरोनाको ‘ओमिक्रोन’ भेरिएन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापन

Coronavirus

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको जानकारी दिए ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ छ ।

तर छिमेकी मुलुक भारतमा ओमिक्रोनबाट आइतबार बेलुकासम्म कोही पनि संक्रमित भएका छैनन् । शनिबार कर्नाटक राज्यमा २ जना दक्षिण अफ्रिकी नागरिकमा कोरोना पोजिटिभ देखिएको थियो । तर दुवै जना ओमिक्रोनबाट नभई डेल्टा भेरियन्टबाट संक्रमित भएको पाइएको थियो ।

र यो पनि ...

१० मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

प्रतिकृया दिनुहोस