पुष्पा राणा घले : दुरदर्शी ससुराकी बिद्रोही बुहारी, जसले बेलायतलाई हल्लाइन्

Pushpa rana ghale 11

काठमाडौं । भरतजंग राणा, जसको नामै काफी छ । उनै राणाकी छोरी पुष्पा राणा चाँही घलेकी बुहारी । यो कसरी सम्भव भयो होला ? त्यो पनि पञ्चायतकालीन समय ।

भरतजंग राणा र क्याप्टेल खगम घलेको घर नजिक नजिकै हो । सम्बन्ध पनि एकदमै राम्रो । त्यही भएर पनि पुष्पालाई खगम घलेको घर आउजाउ गर्न कुनै समस्या थिएन र हुनेकुरा पनि भएन ।

खगम घले पनि लम्जुङे घले राजाका सन्तान । जो लम्जुङको विकासकर्ता पनि भनिन्छ । उनको सोच असाध्य राम्रो थियो । उनी १४ वर्षसम्म त प्रधानपञ्च भएर जनताको सेवा गरेका थिए । उनी जनताको आँखामा राख्दा पनि नबिझाउने व्यक्ति थिए । 

खगम घले फेरि एकदमै दुरदर्शी । जसरी पनि आफ्नो सन्तानहरु चलाख बन्नुपर्छ भन्ने सोच राख्ने । खगम घलेका लाहुरे छोरा तारा राज घलेसँग विवाह हुँदाका किस्सा धेरै छन् । खगम घलेलाई आफ्नो लाहुरे छोरा ताराराजलाई पुष्पासँग विवाह गराएर भरतजंगसँग पारिवारिक सम्बन्ध गाँस्ने रहर रहेछ ।

सोही अनुरुप पुष्पालाई २०३५ साल माघ महिनामा घरमा पुजा छ भनी पुष्पालाई घर बोलाए । तर, न घरमा पुजा नै थियो । न पुजाको तयारी नै । साँझ पर्दै गर्दा पुष्पाको मनमा चिसो पस्यो । घरबाट मान्छेहरु लिन आए । तर, ससुराले अनेक जाल गरेर घरभित्र थुनेर राखे । रातारात मन्दिर लगेर विवाह गरिदिए ।

त्यो एउटा पाटो हो । त्यो बेला पुष्पालाई मनमा साह्रै ग्लानी भएको थियो । जनजाति फेस देख्दा पनि काँचै खाउँ जस्तो भयो । तर विस्तारी बुझ्दै जाँदा ससुरालाई अन्तरजातीय विवाह गर्दा सन्तान राम्रो हुन्छ भन्ने लागेको रहेछ । त्यही भएर पनि उनले पुष्पालाई बुहारी बनाउन चाहेका छन् ।

जब उनले त्यो कुरा थाहा पाइन्, त्यसपछि सुसुराको दुरदर्शी सोचप्रति सम्मान गर्न थालिन् । ‘पहिले मलाई जुन भाव आएको थियो, ससुराको त्यो सोचाई त आदर्श नै रहेछ’, उनले भनिन्, ‘त्यसपछि त मैले उहाँको त्यो सोचाईलाई सधैं प्रेरणाको स्रोत ठान्ने गरेको छु । जसले मलाई अघि बढ्न सहज पनि बनाएको छ ।’

बाल्यकालमै विद्रोही
स्वभाविकै रुपमा उनलाई कुनै कुराको अभाव थिएन । राणा परिवारकी छोरी । २०१८ साल चैत २० गते नदीपुर ३ कास्कीका जन्मिएकी पुष्पाले घरमै कखरा सिकिन् । सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् भने सरकारी क्याम्पसबाट उच्च शिक्षा हासिल गरिन ।

उनका बुबा समाजसेवी । वातावरणविद पनि । त्यसमा पनि खानदानी परिवार भएकाले केन्द्रमा उनको सम्बन्ध राम्रो थियो । त्यही भएर पनि पुष्पाले सानै उमेरमा डा. केआई सिंहसँग नजिकिने मौका पाइन् ।

उनका बुवा भरतजंग पोखरामा धेरै कुरामा प्रख्यात थिए । समाजसेवामा समर्पित भएका कारण साना तिना समस्या आउनु स्वभाविक थियो । उनले पोखरामा टाउन प्लानिङ गराए । त्यसबेला महेन्द्र सरकारसँग मिलेर लेखनाथको ढुंगे पाटनमा ३३१ घर परिवार सुकुम्वासीहरुलाई जग्गा वितरण गरे । त्यो बेला उनका बुबा हिरासतमा समेत परे । त्यो बेला उनी सानै थिइन् । तर पनि प्रहरीसँग झगडा गरेर बुबासँगै हिरासतमा रात बिताइन् ।

उनी बाल्यकालदेखि नै निडर । कसैसँग नडराउने । त्यही स्वभावका कारण पनि आज उनलाई सक्षम बनाएको छ । दुनियालाई साम्राज्य चलाउन खोज्ने बेलायत जस्तो देशलाई समेत झुक्न बाध्य बनाएको छ ।

उतार चढावका ती दिन
उनी आफ्नो लाहुरे श्रीमानसँग २०४० सालमा हङकङ गइन् । हङकङमा पुगेपछि उनले झन संघर्ष गरिन् । लाहुरे श्रीमानको क्वाटरमा बस्दा विदेशीले नेपालीलाई गरेको व्यवहारले उनको मन दुख्यो । धेरै पटक प्रतिकार पनि गरिन् । श्रीमानलाई जागिर छोड्न दवाव दिइन् । तर, परिस्थितीले साथ दिएन ।

जीवनमा उतार चढाव आउनु स्वभाविक हो । पुष्पा राणा घलेको जीवनमा पनि बारम्बार उतारचढावहरु आए । एकातिर २७ वर्षदेखि बेपत्ता श्रीमानको खोजीमा भौतारिरहेकी छन् । अर्कातिर वर्षाैदेखि भुपु गोर्खाका परिवारले पाउँदै आएका समस्या समाधानमा लागि पनि निरन्तर संघर्ष गर्नुपरेको छ ।

सुन्दा भुपु गोर्खाहरुले टन्नै पेन्सन आउँछ भन्ने लाग्छ । तर, यथार्थता त्यस्तो होइन । जुनबेला उनले श्रीमानले वेलायती सेनाबाट अवकास पाए, त्यो बेला १२ सय रुपैयाँ मात्रै थियो । त्यसले परिवार धान्न सक्ने अवस्था नै थिएन ।

२०५१ साल साउन १७ गते एक दुर्घटनामा उनले छोरी शितललाई गुमाइन् । त्यो घटनाले उनलाई धेरै पिरोल्यो । त्यो घाउँमा पुरिन नपाउँदै उनका श्रीमान तारा राज घले २०५१ साल पुस महिनामा रोजगारीको खोजीमा पुनः हङकङ गए । हङकङ पुगेको केही समयसम्म तारा राज घले  घरपरिवारसँग सम्पर्कमै थिए । तर, २०५१ सालको अन्तिम समयदेखि उनी सम्पर्क विहीन बने । उनी कता गए, जिउँदै छन् या संसार छाडिसके पुष्पालाई अझै थाहा छैन ।

त्यसपछि पुष्पाले आफ्नो श्रीमानको खोजीका अनेकौं प्रयास गरिन् । सबैतिर हारगुहार मागिन् । तर दुर्भाग्य, अहिलेसम्म उनले न श्रीमानको लास पाउन सकिन्, न सास नै । तैपनि आसा नमारेको उनी बताउँछिन् । उनले आफ्ना छोराछोरीलाई सात वर्षसम्म तारा राज वेपत्ता भएको सुनाइनन् । किनकी त्यो खबर सुन्दा कलिला छोराछोरीको मानसिकतामा असर पर्छ भन्ने थियो ।

श्रीमान बेपत्ता भएपछि श्रीमानको पेन्सनका लागि उनले धेरै संघर्ष गर्नुप¥यो । बल्लबल्लपछि पेन्सन पाउने भए पनि वेलायतले उनलाई एकल महिलाको भत्ता दियो । त्यसमा पनि उनले धेरै संघर्ष गरिन् । ‘मैले एकल महिलाको भत्ता मागेको थिइनँ, मैले त मेरो श्रीमानले आफ्नो उमेरमा वेलायतलाई दिएको योगदानवापत पाउने पेन्सन मागेको थिएँ’, उनले निशान न्युजसँग भनिन्, ‘तर मलाई बेतायत सरकारले ठग्यो । मैले त्यसविरुद्ध पनि धेरै लडाइँ लड्नुपरेको छ ।’

बेलायतका लागि गलपासो
संघर्ष र अठोटले मानिसलाई निक्कै बलियो र सफल बनाउँछ । पुष्पा राणा घले नेपालमा लागि सामान्य महिला हुन सक्छिन् । तर, पछिल्लो पटक पुष्पा घले बेलायत सरकारका लागि गलपासो बनेकी छन् ।

विश्वमै मानवअधिकारको जननी भनेर चिनिएको देश हो बेलायती । जहाँ समान अधिकार प्राप्तिका लागि गोर्खालीले झण्डै ३२ वर्षदेखि आन्दोलन गरिरहेका छन् । भूतपूर्व गोर्खा सैनिकले पनि बेलायती सैनिकले झैं समान अधिकार पाउनुपर्छ भन्ने आन्दोलनमा पुष्पा पनि झण्डै ३० वर्षदेखि सक्रिय बन्दै आएकी छन् ।

९ नोभेम्बर १९४७ मा तत्कालिन प्रधानमन्त्री पदमसम्शेर राणाले नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धीमा ब्रिटिश आर्मीमा भर्ती हुने सबैले सामान, तलब, सेवासुविधा र पेन्सन पाउने भनी हस्ताक्षर भएको छ । तर, त्यो सम्झौतालाई बेलायत सरकारले कुनै कार्यान्वयन गरेको छैन । कागजै सीमित भएको अधिकार र न्यायलाई व्यवहारमा उतार्नुपर्छ भनेर पुष्पाले आजीवन आन्दोलनमा होमिन्छु भनेर अठोट लिएकी छन् ।

पुष्पाले नेपालको सरकार फेरिएपिच्छे न्याय चाहियो भन्दै नयाँ सरकारको ढोका ढक्ढक्याउन पुगिन् । कहिले नेपालको माइतीघर सडकमा त कहिले मन्त्री, प्रधानमन्त्रीका निवास र कार्यालयमा धर्ना दिइरहिन् ।

पछिल्लोपटक जुलाई ७ देखि १९ तारिखसम्म आफ्नो अधिकारका लागि सत्याग्रहमा सहभागी बनिन् । एउटी महिला नेपालबाट आएर बेलायतस्थित प्रधानमन्त्री कार्यालयको अघिल्तिर खुला आकाशमुनी १३ दिन, १३ रात भोकभोकै सुत्न सहज थिएन ।

देशविदेशबाट समर्थनको ओइरो लाग्यो । तर, १३ दिनसम्म पनि वेलायती सरकारले सुख दिएन । कहिले अनसन बस्न राखिएको पाल नै लगिदिन्थ्यो । भोकले छट्पटिँदा समर्थकहरुको रुवावासी चल्थ्यो । बेलायतमै रहेका महिलाहरु आएर पुष्पालाई सान्तवना दिन्थे । वेलायती सरकारको दमनका बीच पनि उनले हार मानिनन् । आमरण अनसन बसेका अरु दुई गोरखा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङसँग शुरुवातदेखि अन्त्यसम्म अविचलित रही रहिन् ।

यसरी खुल्यो राजनीतिको ढोका
पुष्पाको रगतमै राजनीति बगेको थियो । तर परिस्थितीले उनलाई केही समय राजनीतिभन्दा टाढा बनायो । तर राजनीतिको धङ्धङीले कहिले छोडेन, पच्छ्याइरह्यो ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको जिल्ला सदस्य थिइन् । राप्रपामा लामो समयसम्म लागिन् । तर, विस्तारै विस्तारै राप्रपाले आफ्नो धरातल बिर्सदै गएको भान भयो । चाप्लुसी र नातावादमा फसेको जस्तो लाग्न थाल्यो । त्यसमा पनि राजावादी भनेर दुनियाँले हेप्न थाले । अरुले हेपेको उनलाई मन पर्दैन थियो ।

तयपछि उनले २०६२/०६३ को जनआन्दोलनपछि उनले राप्रपालाई चटक्कै त्यागिन् । राप्रपा त्यागेपछि उनी केही समय राजनीतिभन्दा टाढा रहेर व्यवसायलाई अघि बढाइन् । तर विभिन्न राजनीतिक पार्टीहरुको विधान, घोषणा पत्र र प्रतिवद्धता पत्रहरु अध्ययन गरिरहिन् ।

दुई वर्षअघि नेपाल समाजवादी कांग्रेसले दशैं, तिहार, नेपाल सम्बत, छठ लगायतको पर्वको अवसरका शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बन्ने मौका जुरेको थियो । त्यो भन्दा अघि नै उनले समाजवादी कांग्रेसको विधान अध्ययन गरिसकेकी थिइन् । सोही कार्यक्रमपछि उनी समाजवादी कांग्रेसमा आवद्ध भइन् । उनलाई नेपाल समाजवादी कांग्रेसले केन्द्रिय सहसचिव बनायो । त्यसपछि उनले लगातार रुपमा पार्टीको काममा सक्रिय बन्न थालिन् । र अहिले उनी केन्द्रिय उपाध्यक्ष बनेकी छन् ।

जीवन संघर्ष हो । संघर्षले मानिसलाई सफल बनाउँछ । उनी लगातार राजनीतिकमा सक्रिय बन्ने सोचमा छन् । उनले आफ्नो बाँकी जीवन देशका लागि गर्छु भन्ने अठोट लिएकी छन् । ‘अहिलेसम्म धेरै संघर्ष गरेँ हुँदा, तर आफ्नो लागि र भुपु गोर्खाहरुको लागि गरेँ’, उनले भनिन्, ‘बाँकी जीवन राजनीतिमा लागेर देश र जनताका लागि बिताउन चाहन्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...