लाहुरेका सन्तान कुलप्रसाद गुरुङको अधूरो रह्यो लाहुरे बन्ने सपना, तर...

Kulbdr gurung

काठमाडौं । कुलप्रसाद गुरुङ यतिबेला धेरैले बिर्सिएको नाम हुनसक्छ । तर, कुनै बेलाका चर्चित कुलप्रसाद गुरुङ गुमनाम झै लागे पनि विदेशमा बस्ने नेपालीमाँझ प्रिय पात्र बनेका छन्, भलै नेपालमा चाँही कम परिचितझैं छन् ।

नेपालमा रहँदा विद्यार्थी राजनीतिमा साह्रै सक्रिय थिए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पोखरा उपमहानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा प्रतिष्पर्धा गरेका थिए । उनी थोरै मतले मात्रै पराजित बने ।

२०३८ देखि राजनीतिक यात्राको थालनी गरेका गुरुङले विद्यार्थी राजनीतिमा लामो समय व्यतित गरे । पोखराको पिएन कलेजमा नेपाल विद्यार्थी संघको इकाई सभापति हुँदा उनी राजनीतिमा धेरै सक्रिय थिए ।

पछि उनी नेविसंघको कास्की जिल्ला सभापतिसमेत बने । जुनबेला सभापति बन्न निक्कै गाह्रो थियो । अथक प्रयास र लगातारको संघर्षकै कारण जिल्ला सभापति बन्न सफल बनेका थिए ।

जहिले जेलको बास
पञ्चायतकालीन व्यवस्थाको अन्त्यका लागि क्याम्पसहरुमा लगातार आन्दोलन भइरहुन्थ्यो । विद्यार्थीका नेता भएका कारण पनि गुरुङले आफ्नै नेतृत्वमा कैयौ पटक आन्दोलनमा सरिक बने ।

आन्दोलनकै क्रममा उनी २०४६ सालमा भएको जनआन्दोलनका बेला घाइते बने । अर्थात् उनी जनआन्दोलनका घाइते पनि हुन् । २०४६ सालमा भएको जनआन्दोलनका बेला उनी २ महिना जेल परे ।

राजनीति गर्ने व्यक्तिलाई जेल पर्नु सामान्य कुरा हो । तर, उनी पटकपटक जेल परे । २०४२ सालमा भएको सत्याग्रहमा संलग्न हुँदा उनी १ महिना जेल परे । ०४३ सालमा भएको जागरण अभियाना बेला पनि उनी १ महिना जेल परे ।

राजनीति सँगसँगै सामाजिक कामलाई उत्तिकै प्राथमितामा राखेका थिए । जनताको सेवा गर्नु नै धर्म हो । राजनीति र सामाजिक काम गर्नु उस्तै हो । हङकङ पुगेर पनि सधैं, शिक्षा, स्वास्थ्य र नेपालीहरुको सेवाका लागि निरन्तर रुपमा लागेका छन् ।

अधूरो रह्यो सपना
२०२३ मा कास्कीको एउटा लाहुरे परिवारमा जन्मिएका गुरुङलाई कहिले पनि ब्रिटिस लाहुरे बन्ने सोच आउँदै आएन । उनका बुबा हर्कबहादुर ब्रिटिस आर्मी थिए । हर्कबहादुरले पनि छोरो ब्रिटिस लाहुरे बनोस् भन्ने चाहेका थिए ।

बरु नेपाली सेनामा जागिरे भएर सैनिक कमाण्ड सम्हाल्ने रहर गरेका थिए । तर, सबै चाहना अधूरै रह्यो र उनको जीवन राजनीतिमा केन्द्रित बन्यो ।

‘ब्रिटिसमा जाँदा सिपाही हुनुपर्ने । नेपालमा जसरी पनि अफिसर बन्ने रहर थियो । त्यही भएर ब्रिटिस आर्मीमा जागिर खाने मोड नै भएन’ उनले निशान न्युजसँग भने, ‘आफुसँगका धेरै साथी लाहुरे भएका छन् । तर आफु लाहुरे नहुँदा कहिले काही चाँही खल्लो लाग्छ ।’

गोरखा भर्ती जानु भनेकै पैसाको लागि हो । र विदेश जानु भनेको पनि पैसा कमाउनै नै हो । पहिले लाहुरे भनिन्थ्यो, अहिले एनआरएन भनिन्छ । विदेशमा जाने भनेको विदेश गएर आफ्नो घर परिवारलाई सुखमा राख्ने नै हो ।

कोइराला परिवारसँगको उठबस
उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । त्यसमा पनि कोइराला परिवारसँग उनको राम्रो सम्बन्ध थियो र छ ।

गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासँग त्यस्तै राम्रो सम्बन्ध थियो । हङकङमा कोइरालाहरु पुग्दा गुरुङकै घरमा सँगै बस्ने, सँगै खाने । त्यही भएर पनि उनलाई कोइराला परिवार सरल लाग्थ्यो । सुशील कोइराला त नेपालीले एयरपोर्टमा रिसिभ गर्न आउँदा कारमा चढ्न नमान्ने । होइन, बस जाउँ भन्ने गरेको उनको आँखामा अझैं ताजै छ ।

जिपी कोइराला होस् वा सुशील कोइरालासँगको उठबसका कारण पनि उनलाई राजनीति गर्न प्रेरणा मिल्यो ।

उनी लामो समयदेखि विदेशमै बसेर नेपाली राजनीतिमा संलग्न छन् । आशन्न नेपाली कांग्रेसको महाधिवेसनमा उनी पनि केन्द्रिय सदस्यको दौडमा छन् । ‘मैले कांग्रेसको राजनीतिलाई लामो समयदेखि पच्छ्याइरहेको छु’, उनले भने, ‘यो पटक पक्कै कांग्रेसले आफुलाई न्याय गर्नेछ ।’

संस्थागत संलग्नता
गुरुङ सानैदेखि सामाजिक काममा संलग्न हुने भएका कारण पनि उनी जता गए पनि सामाजिक संघ संस्थामा संलग्न हुने गरेका छन् । उनी सन् २००० मा एनआरएनको जनसम्पर्क समितिको सभापति थिए । त्यो बेला एनआरएनको सभापति बन्न अफर आएको थियो ।

अहिले जनसम्पर्क समितिको सल्लाहकार हुन् । उनी यसअघि सभापति थिए । २००२ मा जनसम्पर्क समिति सभापति भएका थिए ।

उनी हङकङ स्काउटबाट पुनः याउ चिम मोङ डिस्ट्रिक्टको सल्लाहकारमा मनोनित भएका छन् । यसले आफुलाई स्काउट अभियानमा सक्रिय भइ लाग्न थप प्रेरणा मिलेको उनी बताउँछन् ।

हो उनी विदेशी भुमी मै छन् । तर पनि विदेशी भुमीबाटै नेपालीको सुखदुःखका साथी बनिरहेका छन् । उनले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको मात्रै होइन, अन्य सेवा सुविधाको व्यवस्था गर्न आवाज उठाउँदै आएका छन् ।

उनी हङकङबाट नेपालीलाई आपतकालीन अवस्थामा सहयोगी बन्दै आएका छन् । कोरोना कहरका बेला होस् वा महाभुकम्पका बेला उनले नेपाल र विदेशमा रहेका नेपालीका लागि सहयोगी बने ।

यसले पनि उनलाई नेपाली राजनीतिमा अघि बढ्न प्रेरित गरेको छ ।

 

प्रतिकृया दिनुहोस