आज २ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेसनको मिति तोक्ने तयारी

Nepali congress bilding

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४औं महाधिवेशन केही दिन पछाडि सार्ने प्रस्ताव गरेको थियो । बैठकमा भदौ १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने तय भएको थियो ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको थियो । अहिलेसम्म आठ लाख क्रियाशील सदस्य बनेका छन् ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।

कोरोना महामारी र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी बैठकमा महाधिवेशन गर्ने विकल्पका विषयमा पनि छलफल हुने बताइएको छ ।

भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिकामा प्रस्ताव गरिएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ । संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ ।

प्रतिकृया दिनुहोस