‘आन्टी, मेरो आमा पनि नेपाली त हो नी ! तर म पो ... ’

Shashi ck

केही दिन अगाडी अब त आमाको नामबाट नेपालको नागरिकता पाइने भयो भन्ने चर्चा जताततै सुनिँदा खुसी लाग्यो । सँगसँगै बिरोध र समर्थनका आवाजहरू सुनिन थाल्यो । मेरो मनमा पनि नागरिकताको विषयमा धेरै कुरा उठ्न थाल्यो । मलाई जहिले पनि नेपालको नागरिकता सम्बन्धि परिवर्तन र आमाको नामबाट सन्तानले नेपालको नागरिकता पाउने भए भन्ने सुन्ने साथ यात्रामा भेटिएकी एक चेलीको याद आउँछ ।
कुरा सन् २०१० को अमेरिकादेखि नेपाल जाने क्रममा टर्किस एयरलायन्स हो । प्लेनमा भित्र सबैजना बिस्तारै लाइनमा पस्दै थियौँ । मेरो साथमा सानो गुडाउने सुटकेस थियो । आफ्नो सिटमा पुगेपछि सुटकेसलाई माथि राख्न थालेँ । सुटकेस अलिक गह्रुंगो नै थियो । मभन्दा पछाडी रहेकी एक २०/२२ वर्ष जतिकी बिदेशी युवतीले नेपाली भाषामै ‘आन्टी म राखिदिन्छु’ भनिन् र राख्न सहयोग गरिन् । मैले ‘धन्यवाद’ भनेर आफ्नो सिटमा बसेँ ।

केही बेरमा सबै आ–आफ्नो सिटमा बसे । ती युवती मेरै लाइनको दाहिने पट्टिको बीचको सिटमा रहिछिन् । उनी छेउको बिदेशी बुढा मान्छेसँंग अर्कै भाषामा कुरा गर्दै थिइन् ।

प्लेन उडेको केही समयपछि उनी बाथरूम गएर आइन् । मैले मेरो सिटमा बस्न लाग्दा मैले उनीसँग बोल्न खोले । अंग्रेजीमा तिमी राम्रो नेपाली बोल्ने रहेछौ भनेर कुरा सुरु गरे उनले उही पहिलेकै शैलीमा मिठो स्वरमा ‘आन्टी म नेपाली त हो नी भनिन् । उनी युरोपतिरको कुनै देशमा पढ्ने र छुट्टीमा बुबासँगै नेपालजान लागेकी रहिछन् ।

अझ कुरा गर्दै जाँदा उनकी आमा नेपाली महिला रहिछन् र बुबा चाहीँ बिदेशी नागरिक । आमा पढ्न जाँदा त्यतै भेट भएर विवाह गरेका रहेछन् । पढाई सकिएपछि आमा नेपाल आएर आफ्नै व्यवसाय गरेर भक्तपुरमा बस्न थालिछन् । र बुबा इन्जिनियर पनि कुनै बिदेशी संस्थामा काम गरेर नेपालमा नै बसेछन् । उनी नेपाल मै जन्मिछन् । तर केही वर्षदेखि बुबा चाहीँ आफ्नो देशमा काम गरेर बसेका रहेछन् ।

उनको बुबा आफ्नो देश जानु परेको कारण त झन् रोचक रहेछ । सबैलाई थाहा भएकै कुरा हो नेपालको नागरिकता बुबाको नामबाट मात्र पाइन्छ । उनको बुबा बिदेशी, छोरीको पहिचान दिलाउन वा नागरिकता बनाइदिन चाहे छोरी नेपालमा नै जन्मे, हुर्केको र आफु पनि नेपालमा नै घरजम, जागिर खाएरै बसेको भए पनि केही समयलाई आफ्नो देश जानुपरेको रहेछ । कस्तो बाध्यता ।

ती युवतीले कस्तो दिक्क मानेर भनिन् ‘आन्टी के गर्नु म कहिल्यै बुबाको देश गएर बसेको थिइनँ । कहिलेकाहीँ घुम्न गएको मात्र हो । म त नेपालको छोरी, नेपालमा नै नेपाली आमाबाट जन्मे, हुर्केको तर अहिले नागरिकताको कारणले बुबाआमा मेरो लागि छुट्टिएर बस्नुपरेको छ । आमा नेपालमा बस्नु हुन्छ । बुबा र म बिदेशमा बस्छौं । तर धन्न मेरो पढाई सकिन लाग्यो । पढाई सकिएपछि नेपालमा नै भिषामा बसेर काम गर्छु ।’

उनको नाम याद नभए पनि उनको बोली बचन त्यस्तै मिठो, अझ पहिलो पटक भेटमै उनले साह्रै आदर गरेर बोलेको कुराले मलाई सधैँ याद दिलाइरहन्छ । त्यसमा पनि उनको कुराले मलाई सधैं खडुकिरहने विषय भनेकै उनको नागरिकताको सवाल हो । उनले नागरिकताको कुरा गर्दा मलाई तिमी पनि त नेपाली हौँ भन्न मन लाग्यो । तर, विडम्बना नेपालको कानुनले उनलाई नेपाली भन्दैन ।

हो उनी त भाग्यमानी रहिछन् । बुबाआमा छन् र बुबाको देशले पनि नागरिकता दिँदो रहेछ सजिलै । तर नेपालमा कति त्यस्ता अभागी सन्तानहरू छन्, जो आमासँग हुर्किरहेका छन् । कतिका त नेपाली बुबा छन् । तर बहुविवाह मुद्दा झेल्नुपर्ने, सम्पत्ति बाँड्नुपर्ने आदी कारण देखाएर कानुनी रूपमा आफ्नो सन्तान नस्वीकार्दा नागरिकता नपाएर अनागरिक भएर वा बन्नुपर्ने अवस्था छ । त्यस्तै बिदेश होस् वा नेपालमा नै आमा हिंसामा परेर जन्मिएका बच्चाहरू, वादी समुदायका बाबुको ठेगान नभएका बच्चाहरू, बिदेशीसँग विवाह गरेका नेपाली आमाबाट जन्मेका बच्चाहरू जो आमाबाबुको सम्बन्ध बिच्छेदपछि आमासँगै नेपालमा हुर्किरहेका छन् । हो ती पीडित सन्तानको लागि चाहिएको आमाको नामबाट नागरिकता ।

नेपालमा जहिले पनि नागरिकता सम्बन्धि नियम कानुनमा संशोधन र आमाको नामबाट नागरिकता दिने भन्ने कुरा उठ्छ । चाहे देश चलाउन बसेका नेताहरू हुन् वा सर्वसाधारण नेपाली नै किन नहुन् । नागरिकताको कुराले सधैं समस्या ल्याइरहन्छ । सबैलाई नागरिकता दिन हुन्न, भारतले देश लाग्छ, भारतीयले नेपालमा शासन गर्छन् । भान्जा भान्जीले नागरिकता लिन्छन् भनेको सुनिन्छ । नागरिकताको समस्या नेपालको हो की भारतको ?

भोग्नेहरूको कथा पढ्दा, बेलाबेलामा संशोधन भएको नागरिकताको नियम कानुनअनुसार ‘आमाको नामबाट नागरिकता’ लिन सबैले सोचे जस्तो सजिलो चाहीँ छैन । प्रमाण धेरै नै जुटाउनुपर्ने हुन्छ । नागरिकता जस्तो संवेदनशील कुरामा विना काम मानिसहरुले हत्ते पक्कै गर्दैनन् । नेपाली भएर जन्मिएकै आधारमा सजिलै पाइने नागरिकताको विषयमा विवाद गरिहनुपर्ने केही कारण छैन ।

नेपालको नागरिकताको नियम कानुन आवश्यकता हेरेर समय सँगसँगै परिवर्तन हुनु जरूरी छ । नागरिकता सम्बन्धि कानुन कडा बनाएर कानुन उलंघन गरे कडा सजाय हुने व्यवस्था हुनुपर्छ । गरे के हुन्न र ? कानुनी रूपमा नै सती प्रथा हट्यो । कानुनले बहुविवाह गर्न दिँदैन । बाबुआमाको सम्पत्तिमा पनि छोराछोरी दुबैको हक लाग्ने गरि परिवर्तन भएको छ । तर नागरिकता एउटा चाहीँ सँधै बाबुको नामबाटै लिनुपर्ने बाध्यकारी नियम हटाउन किन सकिँदैन ? आमाको नामबाट किन सजिलै लिन नपाउने ? त्यसका लागि खुकुलो कानुन बनाइनुपर्छ । नागरिकता ऐन संशोधन हुँदा गैर नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने छैन । तर नेपाली आमाले जन्माएर उमेर पुगेका सन्तानलाई नागरिकता दिन हिच्किचाउनुपर्छ जस्तो लाग्दैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...