मृत्युसँग जित दिलाउने यी फ्रन्टलाइनर, जो संक्रमितको प्रिय बनेका छन्

Dr.pujan bk

धनकुटा । गरे के हुन्न र ? मेहेनत र हिम्मत गरे के सम्भव छैन र ? आँट भए रोग त के कालसँग पनि जित्न सम्भव हुन्छ । त्यसका लागि प्रेरणा र परामर्शको खाँचो हुन्छ । धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले मृत्युको काखमा पुगेका संक्रमितहरुलाई फर्काएर धनकुटाको ‘हिरो’ बनेका छन् ।

हेल्लो डाक्टर साब, कहाँ हुनुहुन्छ ? ‘म अहिले त आइसोलेसनमा छु’ उनको यही उत्तर आउँछ । किनकी उनी जतिबेला पनि धनकुटास्थित औद्योगिक ग्राममा रहेको आइसोलेसनमा पुगेका हुन्छन् । आइसोलेसनमा रहेका संक्रमितहरुसँगै समय बिताइरहेका हुन्छन् ।

हुन त सबै चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्ने हो । तर, यो संक्रमणको बेला सबैले आफ्नो ज्यानको बाजी चाँही राख्दैनन् । उनले आफ्ना जिल्लाबासीलाई बचाउन आफ्नै ज्यानको बाजी राखेर हरदम कोरोना संक्रमितकै नजिक हुन्छन् ।

उनी घरी अस्पतालमा अन्य बिरामीको पनि चेकजाँचमा पनि खटिइन्छन् । अस्पतालका बिरामीको चेकजाँचसँगै प्रशासन सम्हाल्नु पनि उनकै कर्तव्य हो । तर, उनले प्रशासनतिर भन्दा पनि महामारीको चपेटामा परेका संक्रमित उनको पहिलो प्राथमिकतामा पर्छ । उनले धनकुटा अस्पतालमा आएका सयौ कोरोनाका बिरामीहरुलाई निको बनाएर पठाएका छन् । अस्पाताल आउने ९९ सय प्रतिशतभन्दा धेरैलाई निको बनाएर नयाँ जीवन दिलाइदिएका कारण उनी अहिले धनकुटेलीको मनमनमा बस्न सफल बनेका छन् ।

क्रमसः देशभर कोरोना संक्रमण कम हुँदै गएको छ । तर, कोरोनाको त्रास कम भएको छैन । कोरोनाको महामारीको बीचमा पनि धनकुटा अस्पतालका डा. पुजन विश्वकर्माले आफ्नो ज्यानको प्रवाह नगरी रात दिन संक्रमितको सेवामा तल्लिन भइरहेका छन् । जसको कारण उनी धनकुटाका हिरो बनेका छन् ।

उनलाई शुरुमा जचाउन आउनेहरुले केटाकेटी भन्ने गर्थे । हुन पनि उनको उमेर अहिले २७ वर्षको मात्र भएको छ । गाउँघरबाट उपचार गर्न आउनेहरुले पाका उमेरको डाक्टर खोज्छन् । उनलाई शुरुमा त धेरैले पत्याएनन् पनि ।

त्यसमा पनि गाउँकै दलितको छोरो, कसले सजिलै पत्याओस् र ? जतिसुकै सक्षम भए पनि हाम्रो समाजले दलितलाई हेर्ने नजर नै फरक । बिस्तारै आफ्नो ज्ञानलाई प्रयोग गर्न थालेपछि सबैको प्रिय बनेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ९ बेलहरामा सामान्य परिवारमा जन्मिएका डा. विश्वकर्माले बेलहराकै सरकारी विद्यालय देउराली माविबाट एसएलसी उत्तीर्ण गरे । उनले सरकारी विद्यालयमा पढेको भएपछि सरकारी छात्रवृत्तिमा डाक्टर पढ्ने मौका पाए ।

सरकारी विद्यालय, त्यसमा पनि सरकारी विद्यालयमा पढ्ने अधिकांस विद्यार्थी अंग्रेजी विषय कमजोर हुन्छन् । तर, उनले छात्रवृत्तिमा नाम निकालेपछि निक्कै मेहेनत गरे । एमविविएस उत्तिर्ण भएपछि उनले सुरुमा भोजपुरको घोरेटारस्थित स्वास्थ्य कार्यालयमा काम गरे । त्यसपछि भोजपुर जिल्ला अस्पतालमा झण्डै २ वर्ष सेवा गरे । अहिले धनकुटामा सेवा गर्न थालेको पनि २१ महिना भइसकेको छ ।

उनले धनकुटा अस्पतालको नेतृत्व सम्हालेको पनि आफ्नो छोटो कार्यकालमा धनकुटा अस्पताललाई १ सय बेडको अस्पतालमा रुपान्तरण गरी साधन स्रोत सम्पन्न बनाउन सफल बने । अहिले पूर्वी पहाडकै नमुना अस्पतालको रुपमा विकास भएको छ ।

डा. पुजन विश्वकर्माकै नेतृत्व र पहलमा अहिले धनकुटा अस्पतालको माथिल्लो तलामा भेन्टिलेटर सहितको १० बेडको आईसियू कक्षको निर्माण तीव्र रुपमा भइरहेको छ यसको निर्माण कार्य सकिएलगत्तै धनकुटामा पनि जटिल प्रकारका उपचार सम्भव हुनेछ । यसको श्रेय उनैलाई जान्छ ।

धनकुटाकै हिरो डा. पुजन विश्वकर्माको कामलाई इश्र्या गर्ने र तारिफ गर्नेहरु प्रशस्त छन् । कहिले काहीँ विभिन्न संस्थाहरुले उनकै नेतृत्वमा सञ्चालन भइरहेको आइसोलेसनको निरिक्षण गर्ने गरेका छन् । निरिक्षणपछि उनीहरुले सामाजिक सञ्जालहरुमा ‘धनकुटाको हिरो’ भनेर सामाजिक सञ्जालमा लेख्ने गरेका छन् ।

‘धनकुटा जिल्ला सदरमुकाममा रहेको कोभिड अस्पतालमा कोरोना संक्रमित विरामीहरुको राम्रो उपचार एकदम राम्रोसँग भइरहेको पाइयो’ धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राइले लेखेका छन्, ‘डा. पुजन धनकुटाको हिरो हुन् । सबैले उहाँको सम्मान गरौं ।’

हुन पनि धनकुटामा स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्षबाट १ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचार गरी निको भई घर फर्किसकेका छन् ।

धनकुटा जिल्लामा ९ सय ५७ भन्दा बढीको संख्यामा कोरोना संक्रमित हुँदा जटिल खालका र अक्सिजन लगाउनुपर्ने संक्रमित बिरामीहरुको मात्र अस्पतालमा भर्ना गरिँदै आएको छ । उनले बिरामीको अवस्था हेरेर होम आइसोलेसनमा बस्न सुझाव दिने गरेका छन् ।

‘त्यसमा पनि गाउँकै दलितको छोरो, कसले सजिलै पत्याओस् र ? जतिसुकै सक्षम भए पनि हाम्रो समाजले दलितलाई हेर्ने नजर नै फरक । अहिलेसबैको प्रिय बनेका छन् ।’

प्रतिकृया दिनुहोस