‘जसपाले अपनाएको ‘आत्मघाती’ ‘बिखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ ?’

Jaya prakash gupta

तिम्रो साथी पनि थिए...मतदाता पनि..! तर, मेरो प्रश्न छ !

मुलुक दुर्भाग्यको खाडलमा धकेलियो । यसका अनेक पात्रहरू भए। ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा #जसपा पनि रह्यो। जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक पटक बिभिन्न सरकारहरूमा सहभागी भएकै हुन् । हरेक पटक “मधेसका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन् । अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको समर्पणलाई अबोध र अवचेतन मधेसी समुदायले क्या बात भनेकै थिए। मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो ।

तर, अपवाद बाहेक यिनका कृयाकलापहरू देशलाई नै ‘बरमुडा ट्यांग्लर’ मा खसाली दिने काम भएको थिएन । आफैले मलजल दिनु पर्ने संघीयतालाई निमोठि दिने काम भएको थिएन । छुट्याएको मानो भन्दा धेरै बढी खान पाएर बक्रतुण्ड हुदै थिए-मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू । यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन भनेर ।

यसो बोल्दा संसदमा दुर्योधनहरू शीर निहुराउथ्यो । साख बचाएकै थिए । तर, मुलुकमा दैनिक दुई हजार-पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्यूको शिकार भैरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितीहरूको लागि संघीयतालाई नै दोषि ठहर्याई रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुदै गैरहेको अवस्थामा; मधेसी दल, जसपा यौटा ‘किंगपीन’ हुन सक्थ्यो । जसले, जसको सकारात्मक पहलबाट बिचलनका लागि उद्यत् राजनीतिक उन्मादलाई लीकमा राख्न सकिन्थ्यो ।

जसपाले बिकृत राजनीतिका विध्यमान दुई धार मध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त बैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमंत्री ओलीलाई नै खुला समर्थन गरेको भए-शायद संसद बिघटनको बाटो अवरूद्ध हुन्थ्यो । यौटा प्रजातान्त्रिक मधेसी दलको एकिकृत पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । रोक्न न सकिने भए पनि त्यो बिघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो ।

जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि रहेन । संविधानमा संशोधन गराउँछु भन्थ्यो, संविधान संशोधनको मातृस्थल संसदको बध गरायो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफुले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए, रेशमलालको त्यो शक्ति पनि जसपाले समाप्त पारे ।

मधेसका आन्दोलनकारीहरू उपर लगाईएका सय/पचास मुद्दाहरू फिर्ता गराए। यही ऐतिहासिक उपलब्धि हुन त ? आखिर के उपलब्धि पायो त ? सय/पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउदै मेटेर जाने आत्ममुघ्ततापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्यो !

म जान्न चाहन्छु कि आखिर जसपाले अपनाएको ‘आत्मघाती’ ‘बिखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...