संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ

म : हेलो !
आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?
म : छिट्टै आउछु ।
आमा : कहिले छिट्टै ?
म : झट्टै आउछु के आमा ...!

यसरी नै अलिबेर कुरा भएपछि ‘म कार्यक्रममा छु पछि बोल्छु ल’ भनेर फोन राखे । त्यतिबेला म भक्तपुरको चाँगुनारायणको कार्यक्रममा व्यस्त थिएँ ।

बिस्तारै जिउ दुख्न शुरू गरेको थियो । कार्यक्रमको दौडधुप, यात्रा र थकानले गर्दा होला भन्ने ठाने र काममा लागिरहेँ । अन्तिम दिन ५ गते कार्यक्रम सकेर फर्किदाँ पानी परेको थियो । म पानीमा भिजे पनि । त्यस रातमा ज्वरो आयो । मलाई लाग्यो,पानीमा भिझेकोले ज्वरो आयो होला । बान्ता होला जस्तो भयो । शुरुमा सामान्य पखला लाग्न थाल्यो । पेट बेस्सरी दुख्न थाल्यो । सायद बाहिरको खानाले होला भन्ने पनि सोचेँ । दिनप्रतिदिन चिप्लो दिसा पखलाको रूपमा परिवर्तन हुँदै गयो । ज्वरोको तापक्रम पनि बढ्दै गयो । टाइफाइड पो हुने भयो की भन्ने पनि सोचेँ । क्रमसः धेरै टाउको दुख्ने र आँखाको गेडी पोल्न थाल्यो । नाक बन्द हुन थाल्यो । नाक चिलाउन थाल्यो । त्यो बेला वातावरण प्रदुषणकै कारण हुन पनि सक्छ भनेर मन बुझाएँ ।

केही समयअघि वातावरण प्रदुषण भएकाले सास फेर्न गाह्रो हुन्थ्यो । नाकमा कालो धुलो टाँसिएको हुन्थ्यो । र, त्यो बेला आँखा पिरो हुने लक्षण देखिएको थियो । त्यही वातावरण प्रदुषणकै प्रभावले होला भन्ने लाग्यो ।

तर, बिस्तारै वातारवरण प्रदुषण कम हुँदै गएको थियो । पानी परेकोले मौसम सफा भइसकेको जस्तै थियो । मलाई त्यस्तो लक्षण देखिएकै बेला कोरोनाभाइरस संक्रमणको दोस्रो भेरियन्ट फैलिएको खबर आइरहेको थियो । तर, त्यसलाई वेवास्ता गर्दै म घरी अफिस, घरी अदालत गरिरहेकै थिएँ ।

बैशाख १० गतेको कुरा हो । उच्च अदालत पाटनमा मुद्दा हटाउनु थियो । अरु बेलाझैं म अदातल पुगेँ र ईजलास पुग्न भ¥याङ चढ्न खोजे । अरु बेला भन्दा त्यो दिन निकै आलस्य भयो । भ¥याङ चढ्न पनि पहाड चढेझैँ भयो । तै पनि काम सकेर पाटनबाट सिधैँ वीर अस्पतालमा पुगेँ ।

वीर अस्पतालको त्यो दृश्य
कोरोना संक्रमण बढ्दै गर्दा पिसिआर चेक गर्नेहरुको संख्या क्रमसः बढ्दै थियो । त्रास पनि उत्तिकै फैलिँदै थियो । त्यही भएर वीर अस्पतालमा कोरोना परिक्षण गराउनेहरुको लाइन निक्कै लामो हुन थालेको थियो । अर्थात् लामो लाइन लागेर मात्रै आफ्नो पालो आउथ्यो ।

एकातिर फाराम लिने, नाम लेखाउने लाईन र शुल्क बुझाउने लाइन । र अर्कोतिर पिसिआर सामाग्रीहरू लिनेको लाइन पनि उत्तिकै लामो । स्वाब दिनेहरुको पनि लाइन र स्वाब फ्रिजमा राख्नेहरूको पनि लाइन । म पनि लाइनमा बसेँ ।

लाइन निक्कै लामो थियो । लामो लाइनमा बसिरहनु भन्दा मेलै मुद्दामा मेरो पक्षलाई भेट्न जाने सोचेँ । अनि छेउकै साथीलाई ‘हजुरहरूको अघि पछि म छु, म एकैछिनमा आउँछु’ भनेर म किर्तिपुर आईसोलेसनमा रहेका मरो क्लाइन्टलाई भेट्न गएँ । किर्तिपुरसम्म बसमा गएँ । फर्किदाँ माईक्रो चढेँ । उक्त माईक्रोले बीचबीचमा रोक्दै मानिसहरू चढाउथ्यो । यात्रुहरू खचाखच चढेर उभिएका थिए । त्यै माईक्रोमा पुरानोबसपार्क ओर्लेर पारीपट्टी वीर अस्पतालमा पुगेँ । वीर अस्पतालमा पुग्दा मैले ‘म पछि आउँछु है’ भनेका मान्छेहरूको पालो सकिएको रहेछ ।

म फेरि नयाँ मान्छेसँगै लाइनमा बसेँ । स्वाब संकलन गर्ने व्यक्ति स्वयम् आल्मुनिययमको बारभित्र खोक्दै, हाछ्यु गर्दै थिए । उनका आँखा शिथिल भएका देखिन्थे । सायदै उनी एकदमै थकित भएको हुनुपर्छ । तर पनि स्वाब लिदैँ थिए । मेरो पनि लिए । मैले अरुले जस्तै स्वाब फ्रिजमा राखेँ । केही जिज्ञासा पनि राखेँ । तर, बेलुकी मोबाईलमा रिपोर्टको मेसेज आउँछ भन्ने जानकारी पाएपछि म अफिस हिँडे ।

म पिसिआर टेष्टको लागि स्वाब दिएर सरासर अफिसमा आइपुगेँ । अफिसमा मानिसहरू थिए । मैले वीर अस्पतालमा पिसिआर दिएर आएको जानकारी गराएपछि म आफ्नो कोठातिर लागेँ । बैशाख ११ गते मेरो बहिनी घर जाने सल्लाह थियो । त्यही भएर सामान किनमेल गर्न म पनि कोठाबाट निस्किएँ । हामी टेम्पो चढ्यौँ । टेम्पोमा पनि उस्तै खचाखच मानिसहरू थिए । जतिसुकै खचाखच भए पनि चढ्नै पर्ने बाध्यता थियो । हामी किनमेल सकेर पुनः कोठामै फर्कियौँ । अनि उही सधैंको दैनिकी जस्तै त्यो दिन पनि खाना खाएर आराम गर्न थालेँ ।

मनै झस्काउने त्यो मेसेज
जीउँ गलेको थियो । आराम गरिरहेकी थिएँ । बैशाख १० गते ९ बजेर १५ मिनेटमा मेरो मोवाइलमा घण्टी बज्यो । मेसेजमा Your covid– 19 RT PCR Test Result is DETECTED. Yours login details, User: Password : थियो । पढेँ । मेसेज हेर्दा म संक्रमित भएको थाहा पाएँ । एकछिन म झसंग भएँ । के गरुँ, कसो गरुँ भएँ । त्यही पनि म सुरक्षित रुपमा बस्न थाले । कोठामा राखिएका कुनै पनि सामानहरु छुने आँट गरिनँ । गिलासमा पानी खन्याएर खाने हिम्मत पनि आएन ।

म मानसिक र भावनात्मक रूपमा पनि बिचलित हुन थालेँ । घरिघरी मोवाइलको मेसेज हेर्छु । यति सम्मकी DETECTED को अर्थ नेगेटिभ होस भन्ने चाहनाले गुगल सर्च गरेर समेत हेरेँ । यो केवल मानसिक बिचलन थियो । मेरो संक्रमित मानसपटलमा भ्रम मात्रै थियो । यथार्थमा म संक्रमित भइसकेको थिएँ । जसलाई मैले सहर्ष स्वीकार्ने हिम्मत गर्न पनि सकिनँ ।

आमालाई यसरी सुनाए
केही दिन पछि आज मेरो मोबाईलमा आमाको फोन आयो । भारी मन हुँदै फोन उठाएँ । ‘शुभआशिर्वाद नानी, बुरून्जेल बाँच्नु ,घर कहिले आउने ? छिटो घर आऊ, त्यहाँ कोरोना भाईरस आईगयो रे । कोरोना सर्ला, छिटो आऊ’ सबै कुरा एकैसाथ भन्नु भयो । त्यतिबेला म संक्रमित भएको मेरी आमालाई थाहा थिएन । तर, आत्तिएको आवाज सुन्दा मेरो पीडा आमाले देखेझै लाग्यो ।

मैले मनमनै सोचे । कुराहरु खेल्यो । ‘आमाले आशिर्वाद दिदै भनेझैं बुरून्जेल म बाँच्छु कि यै बेला मर्छु ।’ यो भाईरसले कयौं युवाहरूले अकालमै ज्यान गुमाएका छन् । मेरो पनि के भन्न सकिन्छ र ? मलाई आखिर भाईरस लागिसकेछ । धेरै पटक मैले मेरी आमासँग मेरो दुःख लुकाएको छु । यो बेला पनि लुकाउँ झै लाग्यो । तर, फेरि...। मनले के के सोच्यो सोच्यो । यतै मरियो भने ? प्रायः मान्छेहरू मर्ने बेला त सत्य बोल्छन रे । म पनि यो घडिमा पुगेँ । साहस बटुली मन नदुख्ने तरिकाले भन्ने मनमनै अठोट गरेँ ।

आमा : यता घर आऊ, त्यता कोरोना सर्छ ।
म : आमा मबाटै तपाईंहरूलाई सर्यो भने ? मलाई कोरोना भाईरस लागेको छ । कसरी आऊ ?
आमा : भाइको एम्बुलेन्समा आऊ । म यहाँ तेल लगाईदिन्छु । लसुन, टिमुर, अदुवा...राखेर सिस्नु खुरेर खुवाउँछु । आगोमा तताउँछु । यसको अरू औषधि छैन रे । घरेलु उपचार गर्नुपर्छ ।

आमाले मानव जीवनमा फाईदा हुने परम्परागत उपचार पद्धतिबारे बताउन थाल्नु भयो । मैले आमालाई यो बेला जहाँ छौ, त्यै सुरक्षित बसौं । त्यहाँ आए घरपरिवारमा पनि फैलेला । बरू म छिट्टै निको हुन्छु । पहलवान तगडा आमाकी छोरीले यसै हार्न जानेकी छैन र यो भाईरसलाई पनि पचाउँछु । जित्छु र विजय हुन्छु । यस्तै यस्तै भनेर सम्झाँए ।

विवाहअघि मेरी आमालाई सबैले सुश्री, सुन्दरी, पहलवान, तगडा केटी आदी भन्थे रे । मैले पनि उहीँ शब्द सापटी लिँदै आमाको मनमा मलम लगाए । सान्त्वना दिएँ । आमा पनि जसोतसो मेरो कुरामा सहमति जनाउनु भयो । र भन्नुभयो अस्पताल नजानु । अस्पताल गएकाहरू नै धेरै मरेका छन । अस्पतालमा लापरवाही हुन्छ । सिमेन्टको चिसो हुन्छ । घरमै आगोमा तातिनु । खानेकुरा टन्न खानु...’ फोन कट्यो । बिचरा मेरी आमाले काठमाडौंमा दाउराको सुविधा छैन भन्ने नि भुल्नुभएछ ।

साच्चिकै यो डरलाग्दो कोरोना भाईरसदेखि सबै डराउँछन् । आफन्तले मृतकलाई छुन, मलाम गर्न पाएका छैनन् । तर आमा भन्ने मात्रै यस्तो नाता रहेछ, सन्तानको लागि जस्तो जोखिम पनि मल्न सक्ने । यदि म कोरोना पोजेटिभ हुँदा पनि म आमा सँगै हुन्थे भने सदाझै मेरो पाउमा तेल लगाउने कर गर्नुहुदो हो । सलाम छ आमा १ आमा नाता नै काफी छ । यस्तै यस्तै सोचेर आमालाई मनमनै धन्यवाद दिएँ ।

आमाप्रतिको जवाफदेहिताका कारण पनि उच्च मनोवलका साथ छिट्टै निको हुने आशा पलायो । फेरि मोबाईलको मेसेज हेरेँ । हिम्मत हा¥यो र नेगेटिभ हो भन्ने उत्तर आउँछ कि भन्ने आशाले यो DETECTED भनेको के हो ? भनेर पहिले संक्रमित व्यक्तिलाई फोन गरेर सोधेँ । उत्तर आयो यही त हो पोजेटिभ । स्वीकार्न मेरो मन तयार थिएन । तर तथ्य नकार्न सामर्थ पनि त थिएन । आँखा चिम्लेर लामो सास लिएँ । हैरान भएँ ।

अस्पतालको त्यो क्षण
चार दिन पछिको कुरा हो । रातभर छट्पटी भईरह्यो निन्द्रा लागेन । यस्तै बिहानको ४ बजेको थियो होला । सास फेर्न गार्हो भयो । फोन गर्नु यति बिहानै के गर्नु ? कसलाई गर्नु भयो । त्यैपनि बहिनीलाई फोन गर्न खोजेँ, तर, फोनमा ब्यालेन्स सकिएको रहेछ । बेस्सरी छट्पटी भयो ।

निक्कै बेरपछि शान्ता विकलाई अनलाइनमा देखेँ । उहाँलाई सास फेर्न समस्या रहेको कुरा दर्शाए । उहाँले नै काठमाडौंमा रहेका आफन्तहरूलाई फोन गर्नुभएछ । अस्पताल लैजान एम्बुलेन्स खोज्न लगाउनु भएछ । निक्कै बेरको प्रयासपछि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा १ बेड खाली रहेछ । शिक्षण अस्पतालबाट एम्बुलेन्स आयो । म आफ्ना सामाग्री लिएर एम्बुलेन्समा अस्पताल गएँ ।

अस्पतालको मुल चेन गेटभित्र ईमर्जेन्सी वार्डमा तीन बेडमध्ये एउटामा म थिएँ । नर्स आएर मेरो अक्सिजनको मात्रा हेर्नु भयो । ९०% भन्दा कम भएमात्रै अक्सिजन लगाउनुपर्न रहेछ, मेरो ९४% भएकाले अक्सिजन चाँही लगाउनु परेन ।

नजिकै अर्को बेडमा रहेका युवाको ८४% र अर्को बेडमा रहेका व्यक्तिको ८६% रहेछ, उनीहरुले निरन्तर अक्सिजन लगाइरहेका थिए । सुगर ,दमको बिरामीलाई सास फेर्न निकै गाह्रो भई अक्सिजन लगाउँदा पनि छटपटाइरहेको मैले देखेँ । पुरै हलमा बिरामीहरू बेडमा लडिरहेका, आफन्तहरूले कसैले गाताले त कसैले लुगाले बिरामीलाई हावा हम्किँदै थिए । संक्रमितहरू सास फेर्न नसकेर चिच्याइरहेका थिए । छटपटाइरहेका थिए । अवस्था कहालिलाग्दो थियो ।

पीडादायी थियो अस्पतालको त्यो दृश्य
ट्याक्सीबाट ओर्लेर स्लाईनसहित एउटी युवती आइन् । बेड नपाएर उनको उभिएरै उपचार भइरहेको थियो । अन्य चार जना बिरामीको बेञ्चमा बसेर उपचार भैरहेको थियो । बेडको लागि अनेक ठाउँमा फोन गरिरहेको आवाज मधुरो सुनिन्थ्यो । तर, बेड पाउने सम्भावना न्युन हुँदा उनीहरू निरास देखिन्थ्ये ।

मैले मेरो एक्सरे र रगत जाँचको रिपोर्ट आएपछि औषधि लिएर होम आईसोलेशनमा बस्न र सास फेर्न गाह्र्रो भएपछि मात्रै अस्पताल जाने सर्तमा म कोठा फर्किएँ । अर्की बहिनीको सहारामा उनकै घरमा आईसोलेशन बस्न थाले ।

खाना खान मन नलाग्ने । जीउ गल्ने । टाउको बेस्सरी दुख्ने । आँखा दुख्ने जस्ता लक्षण थिए नै । केही दिन खाना रुचेन । यस्तो केही दिनसम्म भयो । तर पछि मसरूम सुप, नरिवलको पानी, जुनारको जुस, तातो पानी, फलफूलसमेत खाए । दिनमा ३ पटक वाफ लिन्थे ।

विषम परिस्थिति वा संकटमा मनलाई बलियो बनाएर काबुमा ल्याउन सक्नु नै परिवर्तन हो । मैले निक्कै हिम्मतका साथ म कोरोना संक्रमणलाई जित्न सक्छु भन्ने आँट गरेँ । त्यसैले परिस्थिति भन्दा म मनस्थिति बदल्न तिर लागेँ । मैले होम आइसोलेसनमा बस्दा कसरी आफनो मनलाई उच्च मनोवल बढाउने र संकट सामना गर्ने विधिहरू अपनाउन थालेँ । लगातार रुपमा लामो लामो सास नाकबाट लिने, फोक्सोमा एकछिन होल्ड गर्ने अनि मुखबाट फ्याँक्ने जस्ता विधी गरिरहेँ ।

अहिले म पुर्णरुपमा कोरोनामुक्त भइसकेको छु । त्यही पनि दैनिकरुपमा कोरोना संक्रमण बढेको र मृतकको संख्या बढेको समाचारहरु सुन्छु कोरोना संक्रमण हुनु भनेको कालकोठरीमा पुग्नु पनि हो । तर, कोरोना संक्रमण हुँदा पनि सजकता अपनाउन सके र आत्मबल बलियो बनाउन सक्दा कोरोना संक्रमणलाई सजिलै जित्न सकिँदो रहेछ ।

म प्रार्थना गर्छु, की सकभर कसैलाई पनि यो महमारीले नसताओस् । मृत्युलाई जित्ने हो भने कोरोना लाग्नुभन्दा पहिलो नै थप सतर्कता पनि अपनाउनुपर्छ । सतर्कता अपनाउँदा अपनाउँदै कोरोना लागिहाल्यो भने आत्मबल बलियो बनाउन सक्नुपर्छ ।

(ददेल अधिबक्ता हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...