‘सबै भेटेँ, मेरी आमाको न्यानोपन भेटिनँ’

Sushila lohani

आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन । माता तीर्थ औँसी । शास्त्र पनि आमालाई पिताभन्दा धेरै माथिको ओहोदोमा राखिएको छ । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन आमालाई नै मानिएको छ । आमा आमा नै हुन् । यात्रामा सायदै सबै इच्छाहरु पुरा होलान् । तर आमाको अभाव अधुरो नै रहने छ ।

तर, विडम्बना, वर्षौ भएछ आमाको न्यानो काख खोसिएको । जिन्दगीको साहरा टुटेको । प्यारो भनिने भगवान दुष्मन बनेर जिन्दगी लुटेको । जुन दिन दैवले आमाको काख खोस्यो, त्यही दिनदेखि रित्तो छ साथ । अध्यारो औँसीको रात जस्तै छन् ती दिन अनि रातहरु । खाली छन् आमाको मायाले भरिनुपर्ने मन । उराठ लाग्दा भएका छन्, दिनहरु जहाँ कहिल्यै मनसुन आएन, हरियाली छाएन । सधैँ अभाव भइरह्यो त्यो न्यानो पनको । सायद जिन्दगीको अन्त्य चाँडै हुँदो हो त जिन्दगीले पूर्णता पाउथ्यो ।

मानसपटलबाट कहिल्यै नमेटिनेको आमाको याद जव आमाको मुख हेर्ने दिन अर्थात् माता तिर्थ औँसी आउँछ, तव हामी आमा नहुनेको लागि यो दिन कालो दिन बने जस्तै लाग्छ । आमाकै रगतले सिन्चिएका सन्तानको लागि यो एक दिनले के अर्थ दिँदो हो ? दिँदो हो त म जस्तै कतिलाई आमाबाट टाढा किन बनाउँदो हो ? कयौँ छोराछोरीलाई बेसहारा टुहुरो किन बनाउँदो हो ? कसैको लागि किन यति निर्दयी बन्दो हो भगवान पनि ? किन एकातिरबाट मात्र उदाउँछ बिहानी र अस्ताउँछ अर्कोतिर साँझ ? के सबैलाई साझा स्थान दिन नसक्ने भगवानले नै आमाबाट टाढिएकालाई विभेदको निशानी दिएकै हो त ?

हो यी र यस्तै अनेकन अनुत्तरित प्रश्नहरु वर्षौदेखि गाँठो परेर बसिरहेका छन् । साच्चै नआओस पनि कसरी रु आफ्नै दौतरी साथी अझैँ आमाको काख छोड्न सकेका छैनन् । आमाबाट एक रात छुट्टिएर बसेका छैनन् । आमासँगै रमाएकाहरुले पाएको अपार खुसी सायदै कल्पनाभन्दा टाढा हुन्छ होला । अझ विशेष मानिने मातातिर्थ औँसीको दिन आफ्नै दौतरीहरुमा भएको त्यो खुसीको पल । हाम्रो लागि सधैँ बिरानो भइरह्यो ।

अझ छोरीचेलीको लागि विषेश मानिने तीज, दशैँ, तिहार जस्ता चाडवाड आउँदा छिमेकी घरमा छाएको खुसी र आमा नहुँदा हाम्रो घरले बोकेको नैराश्यता कहिल्यै पूर्ण हुन्नन् । जीवनकै सबैभन्दा खुसी मिल्ने आमाको काख हामीबाट छिट्टै खोसियो । आफ्ना सन्तानप्रति आमाले गरेको अपार माया देख्दा यस्तो लाग्छ, ब्रह्माण्डको आकार पनि सुक्ष्म हो ।

तर त्यही विपरित भएको छ हामीमा । आमासँगै रमाउने त्यो थोरै समयले धेरै सिकाएको छ, आमाको देहान्तपछि धेरै ठक्कर हन्डर खाएको छु । आमासँगै गुमे खुसीमा रमाउने साथ अनि दुःखमा रुने काख । आमाका हरेक इच्छा, चाहना, सँगै रमाउने रहर सबै यो संसारले खोसिदियो । सन्तानको खुसीमा रमाउने आश साच्दा साच्दै आमाको मुहारमा खुसी देख्न कहिल्यै पाएनौँ । आज आमा हामीसँग हुनुहुन्नँ । तर, आमाको सपना, आकांक्षा र उदेश्य पुरा गर्न म कदापि पछाडी हट्ने छैन । म कहिले आमाको सपनामा तुषारापात लगाउने छैन । बस, म यत्ति मात्रै प्रण गर्छु ।

आमा...! 
तिम्ले संसार छाडेपछि उजाडिएको
घर अझैँ पनि उदास लाग्छ
तिम्रो आवाजसँगै बज्ने
चुराको आवाज आउँदैनन् ।
तिम्रो मुस्कानले भरिएको घरमा
तिमी गएसँगै कहिल्यै मधुरता आएन ।
घरमा खुसी छाएनन् ।

हो आमा,
तिमी हुँदा के गर्थे थाहा थिएन
तिमी नहुँदा सबैले तिम्रो गुणगान
गाएरै हामीलाई रुवाइरहन्छन् ।
तिमीलाई सम्झिरन्छन्
तिम्रो याद दिलाइरहन्छन् ।
उ पल्लो गाउँकी साइली काकी
मलाई देख्नासाथ
तिमीलाई खुब सम्झिरहन्छिन् ।
तिमीलाई बुझ्ने मौका पनि
उनैले दिएकी हुन् ।

तिम्रो बयान गरेर
तिम्रो बिगत सम्झिएर
त्यसैले त,
आफ्नो तस्वीरमा तिम्रो रुप खोजी रहेँ,
लाखौँ पटक नियाली रहेँ ।
तर,
तिम्रो रुप कहिँ भेटिनँ
सयौँ पिडामा हाँसीने
तिम्रो हाँसो भेटिनँ ।

तिमीमा भएको ममता
ममा कहिल्यै भेटिनँ ।
हो आमा यो विशाल
संसारमा तिमी जस्तो
कोही भेटिनँ ।
साथ भेटे,
हो आमा कोही भेटिनँ ।

प्रतिकृया दिनुहोस