के मधेस विखण्डन हुन्छ ?

Bimal prasad yadab

संसार जत्रोसुकै होस्, अतिवादी शक्तिहरुको जन्म भएकै हुन्छ । नेपालमा पनि जन्मेको हुन सक्दछ । त्यस्तो अतिवादी शक्ति ? तर त्यसो भन्दैमा नेपालको तराई विखण्डन हँुदैन, होईन । कसले गर्छ मधेस विखण्डन ? म यादव हुँ । तराईको जनकपुरमा बस्छु । मन लाग्यो भने हिमालको फेदमा गएर बस्छु । हामीहरु नेपाली हौँ र नेपाली रहन्छौ । हाम्रो लडाइँ स्वामित्व र अस्तित्वको हो । जनताहरुको भनाई खस आर्यहरुले जसरी अन्य जातिमाथि दमन गरिरहेका छन्, त्यसको अन्त्य हुनुपर्दछ । राज्य निर्माणको क्रममा समान उपस्थिति हुनुपर्ने माग तराईवासीहरुले गरेका छन् ।

बसोवास, व्यावहार, रोजगार, ज्याला सबैको पक्षमा समान उपस्थिति हुन आवस्यक छ । नेपालको तराई जसलाई मधेश भन्ने गरिएको छ, त्यहाँ सबै जात वर्गका मानिसहरु बस्दछन । राई, लिम्बु, भोटे, मगर, गुरुङ, तेली, झागर, मुसहर, दुषाद, यादव, थारु, मलाह, कोईरी, मुसलमान, बाहुन, क्षेत्री सबै मानव जातिको बसोबास छ ।

तराई मेरोमात्र हो भन्नेले पहाड हिमालबाट बसाई सरेर आएका मानिसलाई पहिलेदेखि बसोबास गर्न रोकेको भए हामी मधेसी हौँ भन्नुको एउटा अर्थ रहन्थ्यो । त्यसो भन्नेले भारत बिहारबाट बसाई सरेर आएका मानिसलाई रोक्न सकेको भए हुन्थ्यो । चीन, पाकिस्तान, तिव्वतको मानिसलाई नेपाली नागरिकता लिन रोकेको भए हुन्थ्यो । भारतबाट आएर मारवाडी शीख समेत बसोबास गरिसकेको अवस्था रहेको नेपालमा यो भूमि ‘तेरो त्यो भुमि मेरो’ भन्नुको के अर्थ ?

नेपाल सबै नेपालीहरुको साझा हो । विगतलाई हेर्दा पनि नेपालमा सबै जाताजातिको बसोबास रहेको छ । अर्थात् तराइमा रहेका ग्वालाहरुको गाईगोठ काठमाडौंको मातातीर्थमा भएको कारण आराध्यदेव पशुपतिको दर्शन प्राप्त भएको किम्मदन्ती उल्लेख छ । तराईमा शाक्य बंशका राजा थिए भन्नु तराई भनेको मधेस र मधेसीको मात्र हो भन्नुको कुनै अर्थ छैन । नत पहाड भन्नाले त्यहाँ दमाई, कामी, सार्की, बाहुन, क्षेत्री, राई, लिम्बु, मात्र बस्छन् भन्नुले कुनै अर्थ राख्छ । भन्नुको तात्पर्य हामी तराईका जनता पहाडमा जानुपर्छ, पहाडका जनता तराई आउनु पर्दछ । त्यसो गर्न सके सुन्दर नेपाल बन्छ ।

बाँकी रह्यो स्वामित्वको कुरा । राष्ट्रिय स्वामित्वको कुरामा तराईका जनताहरु ठगिएको महसुस भएको छ । तराईका जनताले राज्यको ठूलो ओहोदामा स्थान पाउन सकेका छैनन् । भएका खेतहरु बाँझै छन् । चुरे भुमि त्यतिकै नष्ट गरिएको छ । जब चुरेमा भएका जंगलको नष्ट गरिन्छ, तराईको जमिन मरुभुमी भएर जान्छ । सरकारले पानी, मल, बिउ केही दिन सकेको छैन । भएका उद्योग धन्दा मासिदिँदा गरिव जनता भोकै मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । न्यायको कुरामा ठूलो भेदभाव छ । सुरक्षा अवस्था भयावह हुनु मधेसी भन्ने कुरा आउँदैन । तर पनि राज्यले आफुलाई मधेसी भन्ने तराईवासी जनतामाथि बढी भेदभाव गरेको छ । सरकारी अड्डामा कार्यरत कर्मचारीहरु तराईका जनताको काम गर्न त्यतिकै हिचकिच गर्छन् ।

म पहाडका धेरै भागहरु घुमेको छु । मलाई थाहा छ, पहाडमा मधेस जत्तिको ‘क’ पनि विकास भएको छैन । पहाडे विद्यार्थीहरु मधेस नआए पढ्न पाउँदैनन । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा जस्ता ठाउँ बाहेकमा कलेज छैन । पहाडका जनता जस–जसले पढेका छन् तराई आएर पढेका छन् । कित वनारस गएर पढेका छन् । पिउने पानीको राम्रो व्यवस्था छैन । स्वास्थ्य चौकी, अस्पताल पहाडमा केही छैन । अन्नवाली तराईबाट लानुपर्छ । लगाउने कपडा विराटनगर, वीरगञ्ज तिरवाट लैजान्छन । तराईभन्दा पहाडमा धेरै दुःख छ ।

मलाई दुःख लागेको कुरा के हो भने हामी पहाड, हिमाल, तराई जहाँ बसेका छौं, नेपालमा बस्ने सबै दाजुभाई दिदी बहिनीहरु नेपाली हौं । सत्तामा बस्ने शासकहरु खस अतिवादी हुन् । जनताको मञ्जुरी विना सामन्तवादी शासकहरुले कसैलाई कुन प्रदेशको कसैलाई कुन प्रदेशको बनाइदिए । हामीहरु भाषा धर्म संस्कृतिविहीन भयौँ । राज्यविहीन भयौँ । भुइँचालोको समयमा नेपालमा जुन पीडा दियो, मेरा अनन्य राजनीतिक मित्र नेपाल समाजवादी कांगे्रसका वर्तमान अध्यक्ष गोविन्द निरौलाले एउटा यस्तो प्रस्ताव अगाडी सार्नु भएको थियो, जसले नेपालमा सदियौँदेखि देखापरेको मधेसी पहाडी भन्ने भेदभाव सदाको लागि अन्त्य गर्छ ।

देशमा देखापरेका जातीय, क्षेत्रीय र वर्गीय मुद्दाहरु समाप्त हुन्छन् । योजना पूरा गर्न सत्ता परिवर्तन नगरी सम्भव हुँदैन । कारण, अतिवादी सरकारले हाम्रा कुरा सुन्न हिम्मत गर्दैन । उहाँको भनाईमा भुइँचालोले घर भत्केर अलपत्र परेका जनतालाई प्रति परिवार ३ लाख दिँदा तराईमा आगो लागेर अलपत्र परेका जनतालाई ३ लाख दिएर टाली सिमन्टको घर बनाउन लगायौं भने आगोको समस्या सधैंको लागि समाप्त हुन्छ । भेलवाढीले पार्ने सामान्य जोखिमको समस्या सकिन्छ । पहाडका जनताले नगद पाउँदा तराईका जनताले नगद पाएनन् ।

राज्यको विभेदित नीति कति फरक छ ? यस्ता कुरामा हामी मधेसी भनिएका तराईवासी नेपालीहरुले राज्यसँग लडाई गर्नु परिरहेको छ । अर्थात् हामीहरु राज्यको राष्ट्रिय अस्तित्वमा जोडिनबाट भाग्यौँ भने सधैंको लागि बिछोड हुन्छौं । तराईवासी जनताले मधेस भनेर राज्यबाट विमुख हुनु ठूलो गलत हुन्छ ।

म बिस्वासका साथ भनिरहेको छु । यीनै अनगिन्ति भेदभावको अन्त्य गरेर तराईका जनतालाई पीडामुक्त गराउन राजनीतिमा होमिएको छु । हामीहरुको कार्यक्रम नेपाली जनताको पीडामुक्त हुने किसिमको छ । पहाडका जनताको साथ भएन भने हामीहरु पीडामुक्त हुन सक्दैनौ । कारण विश्व २१औं शताब्दीमा प्रवेश गरिसकेको छ । हामीहरु त्यसबाट मुक्त हुन सक्दैनौ । अर्थात् अबको नेपालमा पहाडलाई छोडेर तराइको गरिवी हटाउन सकिँदैन ।

मानिसहरुको चाप बढ्नु तराईको उत्पादनले जनताको पेट पाल्ने भन्दा अरु कुनै काम हुन सक्दैन । आर्थिक आम्दानीको स्रोत पहाडमा ज्यादा छ । सुनचाँदी, हिरा, अव्रख, तामा, फलाम मात्र नभएर ल्पेटेनियम, युुरेनियम जस्ता विश्वका बहुमुल्य बस्तुको उत्पादन पहाडमा हुन्छ । विद्युतको उत्पादन हुन्छ । हाम्रो काम तराईका जनतालाई उल्लेखित उत्पादनको स्वामित्वसँग जोड्नु हो । त्यो कुरा राष्ट्रिय एकतामा मात्र हुनसक्छ ।

महत्वपूर्ण पक्ष, हाम्रो चिन्ता नेपालका गरिव जनतालाई कसरी सम्पन्न पार्न सकिन्छ भन्ने छ । राज्य कसरी सम्मृद्ध हुन्छ भन्ने छ । त्यसैका लागि अध्यक्ष गोविन्द निरौलाजीले अघि सार्नु भएको संवैधानिक प्रजातन्त्र, हिन्दु राज्य, स्थानीय स्वशासन भन्ने नयाँ नीति र नयाँ बिचारबारे बृहत छलफल गरेर त्यसलाई जनतासमक्ष पु¥याउन नेपाल समाजवादी कांगे्रस नामक संगठनको निर्माण साथ जनताहरुको घरघरमा पुगिराखेका छौँ । उहाँको बिचारमा साम्राज्यवादी बारुदी आतंकले विश्वमा भएका अन्य मुलुकहरुको अस्तित्व समाप्त गरेको हुँदा त्यसलाई समाप्त गर्न विश्व संवैधानिकता आवश्यक छ ।

नेपालको राजनीतिक स्थायित्व र गतिशिलताको लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना गर्नुपर्दछ । नागरिक सम्पन्नताको लागि जनसहभागिता मुलक विकास हुनुपर्छ । गरिव जनताको अधिकारलाई उत्पादन र स्वामित्वसँग जोड्न सकिएन भने नागरिक सम्पन्नता असम्भव छ भन्ने छ । हामीहरु सबैजना त्यसकुरामा सहमत छौँ । संवैधानिक शासन, निर्वाचित सरकार, स्वतन्त्र न्यायालय, मर्यादित अभिव्यक्ति जस्ता विषय मात्र नभई संस्थागत राष्ट्रप्रमुख, राष्ट्रिय सुरक्षा, प्रादेशिक संरचना, बैचारिक प्रतिस्पर्धा र बौद्धिक राष्ट्रिय सभा जस्ता महत्वपूर्ण विषयहरु छलफलमा आउनु हामीहरु सबैजना सहमति भएका छौं । समाजवादी हुनुको नाता जुनसुकै समाजवादी नीति होस्, मेरो विमति रहने कुरै भएन । इमान्दारी भएर एकमतका साथ जनताको पक्षमा उभिएका छौं ।

उहाँले अघि सार्नु भएका विकासका योजनाहरु इमान्दारीताका साथ पूरा हुने हो भने तराईको मात्र नभएर पूरा देशका लागि कुनै समस्या हुँदैन । तराईको महत्व र गौरवको निम्ती चुरे–महाभारत जल–परियोजना र सीमा बगैचाको निर्माण भन्ने छ । पहाडका योजनामा विद्युत जोन, काठमाडौं मानसरोवर कैलाश पदयात्रा भन्ने जस्ता महत्वपूर्ण योजना छन् । योजना पूरा गर्न वर्तमान शासन सत्तावाट सम्भव छैन । संविधान विभेदित हुनु नीति नियम नेतृत्व सबै कुरामा परिवर्तन आवस्यक छ । हामीहरु नयाँ संविधान निर्माणको पक्षमा छौं ।

नेपाली जनताले बुझ्न आवश्यक कुरा के हो भने, राष्ट्रिय स्वामित्वमा जोडिसकेको मानिसलाई संघीयताको माध्यमबाट क्षेत्रीय स्वामित्वमा लाने काम भएको छ गलत छ । धर्मनिरपेक्षताको घोषणा हुनुले हत्या अपहरण र बलात्कार जस्ता जघन्य अपराधहरु तीव्रतर भइरहेका छन् । संविधान विभेदित हुनु कानूनहरु अपाङ्ग बनेका छन् । अर्थात् संघीयताको घोषणा नेपाल र नेपाली जनताको हित विरुद्ध छ । गरिव जनताहरुको लागि कुनै न्याय छैन । गास, बास र कपासको कुरा दयनीय छ । जनताको हकहितको निम्ती संवैधानिक प्रजातन्त्र र हिन्दुराज्य स्थापना गर्नुबाहेक कुनै विकल्प देखिँदैन ।

नेपाली जनताको संयोग विना कार्यसफलता असम्भव छ । वर्तमान अवस्थामा हामीहरुबीच एउटा प्रश्न तेर्सिनु मेरा मित्र निरौला जीको भनाईले पनि सधैंभरी मलाई चिन्तित तुल्याउनु मधेस मुद्दा भन्ने बित्तिकै दुःखी बनाइरहेको हुन्छ । उहाँ भन्नुहुन्छ प्रश्नको जटिलता हो नेपाली जनताले संघीयता रोज्ने कि राष्ट्रियता रोज्ने ? राष्ट्रियता रोज्दा संघीयता खारेज गर्नुपर्छ । संघीयता रोज्नुस् राज्य विघटन हुन्छ । राष्ट्र निर्माणका निर्णायक शक्ति तपाई जनताहरु हुनुभएकाले आफ्नो राजनीतिक बिचारसाथ केहि भावनाहरु प्रस्तुत गरेको छु । हामी देशमा हुने महत्वपूर्ण कुराको विषयमा नेपाली जनतामाथि भरोसा गर्छौ ।

(स्व. यादव नेपाल समाजवादी कांग्रेसका वरिष्ठ नेता थिए । उनको यो लेख समसायीक लागेर प्रकाशन गरिएको हो ।)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...