छिमेकीसँगको कुटनैतिक सम्बन्ध : राजनीतिक पार्टी र कर्मचारीतन्त्रमा अन्तर्राष्ट्रिय शक्तिको ‘माइक्रोम्यानेजम्यान्ट’

Ganesh sharma

सिंगो नेपाल निर्माण गर्ने आम नेपालीका अग्रज श्री ५ पृथ्वीनारायण शाहले आँट गरे कै कारण आज हामी नेपाली भएका छौं । उहाँको त्यो अठोट र हाम्रो तमाम पुर्खाको त्यो देन आजको नेपाल हो । त्यो सिंगो नेपाल निर्माण थालनीको महाअभियानको कालखण्डमा हाम्रो वर्तमान नेपालको भु–खण्ड कति थियो र हाल कति भुखण्डमा हामी नेपाली छौं ? अर्थात् नेपाली भएका छौं । यो आम नेपाली हाम्रो गौरव हो ।

जहाँ विषम प्राकृतिक अनुपम र प्रकृतिका अनुयायी हामी नेपाली रमेका छौं । यही प्राकृतिक छटामा फलेका फुलेका हाम्रा सांस्कृतिक मूल्य मान्यता छन् । जुन भु–खण्ड पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा विश्वासको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमाली श्रृङखला र दक्षिणमा लमतन्न परेका तराईका फाँटहरु पर्दछन् । त्यस्तै अन्तर्राष्ट्रिय भौगोलिक सीमाका आधारमा दक्षिणतर्फ चारैतिर भारत र उत्तरतर्फ चीन जस्ता विशाल मुलुक छन् । यी दुई छिमेकी भौगोलिक रुपमा मात्रै नभई हामी भन्दा आर्थिक तथा आधुनिक विकासका र विज्ञान प्रविधिमा समेत सम्पन्न छन् । अर्थात् विश्वका शक्तिशाली मुलुकमा आउँछन् ।

यद्यपि विशाल छिमेकीका बीचमा भौगोलिक रुपमा सानो राष्ट्र भए पनि देश निर्माण र सांस्कृतिक विकासमा हामी नेपाली जेष्ठ देशको सूचीमा आउँछौं । त्यसैले पनि हामी हाम्रो अग्रजप्रति गर्व गर्दछौं र पुर्खाको देनलाई मानसपटलमा सधैं ताजा राखिरहेका हुन्छौं ।

तथापि परिवर्तनशील एवं विकसित सोचको विकास गरिरहने प्राणीका नाताले आम नेपालीले पनि राष्ट्र निर्माणपछिको यो लामो कालखण्डमा आफुहरुलाई पनि समयसँगै हिडाउने प्रयत्न गरेका छौं । सो क्रममा राज्य व्यवस्था तथा राज्यकोष परिचालनमा हाम्रा शासकबाट नयाँ स्वरुप दिने प्रयास भएको पाइन्छ । जसको प्रयोगका लागि शासक र व्यवस्था परिवर्तन हुँदै आएको इतिहास छ । जुन पछिल्लो ६० को दशकमा तीव्ररुपमा अत्याधिक परिवर्तन भएकोले वर्तमानको राजनीतिक पुस्ता यही परिवर्तनको देन हो । अर्को शब्दमा भन्नुपर्दा परिवर्तनको बाहक पुस्ता नै वर्तमान नेपालको शासकीय जिम्मेवारीमा छ ।

यो पुस्ताले जति आफुलाई नेपालको शासन सत्तामा पुग्ने सुवर्ण अवसर सायदै अन्य कालखण्डका पुस्तालाई न मिलेको थियो, न त राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समर्थन नै थियोे । तर पनि वर्तमान पुस्ताले राज्य शक्तिमा पहुँच बनाउन जुन किसिमको रक्तपातपूर्ण संघर्ष र विदेशी भुमिमा बसेर विदेशीसामु संकल्प ग¥यो, त्यसको दीर्घकालीन असर वर्तमानमा देखिइरहेको छ । जसका कारण देश अन्तर्राष्ट्रिय शक्तिको क्रिडास्थलमा परिणत हुने सम्भावना बढेको यथार्थ आमनेपाली माझ छर्लङ्ग छ ।

कुनै पनि देशको सार्वभौमसत्ता त्यस देशको माटो सुहाउँदो कलाकृति, संस्कृति, सांस्कृतिक भेषभुषा, भाषा, मौलिक रहनसहन तथा इतिहासका कारणले जीवन्त हुन्छ । तर यी सबै पक्षमा आघात पार्नेगरी विदेश शक्तिका सामु वर्तमान शासक पुस्ताले घोषित वा अघोषित संकल्प गरेकै कारण आज हाम्रो सार्वभौमसत्तामाथि गम्भीर प्रहार भइरहेको अवस्था देखिन्छ । यतिमात्र होइन, ०६३ पछि त राजनीतिक केन्द्रविन्दुमा रहने पार्टी र पार्टी नेतृत्वको असिस्टेन्ट राजनीतिज्ञ छनोटसमेत विदेशी शक्तिको तजविजमा तय गर्ने परिपाटीको विकास भएपछि पार्टी र तिनका नेता अधिकांश विदेशी शक्तिको स्वार्थमा चलेका थुप्रै उदाहरण छन् । जुन कुरा पार्टीका नेतृत्वको मुखारविन्दबाट आम नेपालीले बारम्बार सुनेको कुरा हो । यस कुरालाई पुष्टि गर्न अन्यत्र कहीँ जानुपर्दैन ।

तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला हुन् वा तत्कालीन एनेकपा अध्यक्ष पुष्पकमल दाहाल वा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा हुन्, ती र यी सबै नेता पार्टी प्रमुख हुँदा वा सरकार प्रमुख हुँदा उनीहरूका टुरिष्ट पदाधिकारी टुप्लुक आउने र पार्टी र सरकारमा प्रभाव जमाउने गरेका सबैले अनुभूत गरेकै पक्ष छर्लङ्ग छन् ।

यसरी विदेशी शक्तिले हाम्रो राजनीतिक नेतृत्वमा हस्तक्षेप गरेको यो नै पहिलो भने पक्कै होइन । राणाकाल हुँदा विश्व राजनीतिक यति सङ्लो थिएन । हाम्रो दुई छिमेकीमा पनि राजनीतिक स्थिरता थिएन । हामी देश बनिसकेका थियौं । उनीहरु सार्वभौम हुने दौडमा थिए । त्यसैले छिमेकी राजनीतिबाट भन्दा भौगोलिक अस्थिरताबाट खतरा थियोे ।

तत्पश्चात २००७ को परिवर्तनपछि दुई छिमेकमा पनि राजनीतिक स्थिरता हुँदै गयो र हाम्रो देशले पनि अन्तर्राष्ट्रिय शक्तिसँग कुटनैतिक रुपमा सम्बन्ध स्थापित गर्दै गयो । अन्तर्राष्ट्रिय संगठनहरुसँग नेपालको सम्बन्ध भयो र आवद्ध भयो तत्पश्चात नेपाल अन्तर्राष्ट्रिय सञ्जालमा जोडियो र विदेश नीति चयन गरी देश अगाडि बढेको अवस्था हो । यो नै नेपाल र नेपालीको लागि स्वर्णकालीन समयको शुरुआत थियोे । जुन समयमा नेपालले एकतन्त्रीय जहानीया राणा शासनबाट मुक्ति पाएको थियो भने अर्कोतिर अन्तर्राष्ट्रिय रुपमा आफुलाई परिचय दिने अवसर देशले प्राप्त गरेको थियो । तर, ०१७ पछि राजा महेन्द्रको कदमसँगै उहाँको कुटनैतिक कौशलताका कारण विश्वका कतिपय देश र अन्तर्राष्ट्रिय संघ संगठनसँगको सम्बन्ध दीर्घकालीन रुपमा स्थापित हुँदै गए पनि राजाको कदमबाट विस्थापित राजनेताका कारण केही मुलुकसँगको सम्बन्धमा चिसोपन आउन शुरु भएको थियो ।

तथापि तत्कालीन राजा महेन्द्रको राजनीतिक कदमबाट स्थापित राजनीतिक व्यवस्थाले अन्तर्राष्ट्रिय लयमा कुटनैतिक रुपमा सम्बन्ध कायम गरेको पाइन्छ । जसका कारण विश्व मानचित्रमा नेपालको कुटनैतिक सफलता प्राप्ति भएको र नेपालले आफ्नो स्वतन्त्र एवं स्वाभिमानी छवि प्राप्ति गरेको थियोे । जुन उपलब्धिका कारण आज पनि नेपालले विश्व मानचित्रमा आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध गर्दै आएको हो ।

तर, यही स्थापित कुटनैतिक सम्बन्ध विपरीत पछिल्ला सरकारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने कार्यका कारण हाम्रो विदेशनीनि अर्थात् परराष्ट्र मामिलामा गम्भीर असर परेको अवस्था छ । पछिल्ला समयमा स्थापित राजनीतिक शक्ति नै यसमा जवाफदेही हुनुपर्ने अवस्था छ ।

वास्तवमा राजनीतिक शक्ति अस्थायी शक्ति हुन् । उनीहरू आवधिक शक्ति हुन् । उनीहरूले सक्ता र शक्तिका लागि मात्रै आफ्नो चरित्र प्रस्तुत गर्दछन् । जुन नेपाली राजनीतिमा निरन्तर भइरहेको छ । तर नेपालको भु–राजनीति यो चरित्रको विदेश नीतिका लागि उपयुक्त देखिँदैन । किनभने यहाँका कतिपय राजनीतिक शक्ति आफ्नो वातानुकुल विदेशी भुमिमा बसेर नेपाली राजनीतिमा वर्चस्व स्थापित गरेका हुन् । उनीहरूको नेतृत्व तथा पदाधिकारीसमेत विदेशी शक्ति कै निर्देशनमा छनोट हुँदै आएको यथार्थ लुकेको छैन । जुन कुरामा हरेक नेपाली जानकार नै छौं । सञ्चारमाध्यममा आएजस्तो राजनीतिक पार्टी र सो पार्टीले शासन गर्दा राजनीतिक तह हुँदै कर्मचारी तन्त्रमा समेत विदेशी अन्तर्राष्ट्रिय शक्तिको ‘माइक्रोम्यानेजम्यान्ट’ हुँदै आएको कुरा घामजस्तै छर्लंग छ ।

अतः नेपाली भु–राजनीति र विशाल दुई छिमेकी मित्रराष्ट्रहरुका बीचमा अवस्थित हाम्रोजस्तो मुलुकले विगतका अनुभवका आधारमा आफ्नो परराष्ट्र नीति कुनै स्थायी अंग वा संयन्त्रको सुझबुझका आधार व्यवहार गर्नुपर्ने प्रस्ट भएको देखिन्छ । यस्तो अभ्यासमा स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्र हुन सक्छ भन्ने मान्यता राखिन्छ । तर पछिल्लो समयमा राष्ट्रसेवक हुँदाहुँदै एनजीओ/आइएनजिओबाट तलब बुझ्ने र सरकारी सेवा अवधि कायम हुँदै आर्थिक प्रभावमा विशिष्ट राष्ट्रसेवकसमेत परेका थुप्रै उदाहरण छन् ।

त्यसैले देश निर्माणसँगै स्थापना भएको नेपालको स्थायी संयन्त्र सैनिक शक्ति हाल नेपाली सेनामार्फत तेस्रो राष्ट्र बाहेकका हाम्रा दुई छिमेकीसँग कुटनैतिक सम्बन्ध रहनुपर्ने देखिन्छ । अर्थात् अन्य मुलुकबाहेक दुई छिमेकीसँगको सम्बन्ध सैन्य कुटनैतिकमार्फत हुँदा एकातिर हाम्रो सार्वभौमसत्तामाथि कहीँकतैबाट आँच आउन नसक्ने र अर्कोतर्फ विदेश नीति स्थायी र प्रभावकारी हुने कतिपय परराष्ट्रविदको तर्क रहेको बेला लामो समय सम्वादहीन अवस्थामा रहेको नेपाल–भारत सम्बन्धमा दक्षिण छिमेकी मुलुक भारतका प्रधानसेनापति स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण आएका छन् । नेपाली सेनाको औपचारिक निमन्त्रणमा आएका रनवणेले नियमित मानार्थ महारथीको पदवी ग्रहण गर्ने तयारी गरी सैन्य कुटनीतिको थालनी गरेका छन् । यो उनको सकारात्मक कदम बनोस् न कि यसअघि लिपुलेक र कालापानी नेपाली भु–भागको विषयमा उनले दिएको विवादित अभिव्यक्ति जस्तो नहोस् ।

अब उप्रान्त दक्षिण र उत्तरी दुबैसँग नेपालले सैन्य कुटनैतिकमार्फत विदेशनीति तय हुनुपर्ने देखिन्छ । यद्यपी यसअघि पनि छिमेकीसँगको सम्बन्धमा चिसोपन आउँदा नेपाली सेनाले पनि सैन्य कुटनीतिबाटै समाधान गरेको जानकार बताउँछन् । वास्तवमा राजनीतिक संयन्त्रले समाधान गर्न नसकेका इपिजि तथा सीमा विवादमा समेत सैन्य कुटनीतिबाट समाधान गर्नतर्फ प्रयास हुने अपेक्षा गरौं ।

(शर्मा कानुन व्यवसायी तथा पत्रकार हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण ...