कांग्रेसको आशन्न महाधिवेसन : व्यक्तिवादी प्रवृत्ति र संस्थागत गुटको प्रभाव रहिरहला त ?

Rishab gyawali nishannews

कोभिड –१९ को कहरले विश्व समुदाय आक्रान्त भइरहेका बेला नेपाल पनि अछुतो रहन सकेको छैन । देशका आर्थिक, सामाजिक गतिविधि लगभग ठप्प प्रायः छन् । जनमानसमा सरकारको शून्य उपस्थिति, मध्यम र गरिव वर्गका जनताको असामान्य जीवन अवस्था महामारीको प्रमुख चुनौती बनेको छ । विश्व समुदाय नै पीडामा छट्पटिन बाध्य भएको यस विषम परिस्थितिमा नियन्त्रण या रोकथामको ठोस उपाय भने अझैं निस्किन सकेको छैन ।

नेपालको इतिहासमा सबैभन्दा पूरानो र ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्र्रेसलाई महाधिवेशनको सरगर्मीले तताउँदै लगेको छ । यो महामारी असामान्य भइरहेका बेला नेपाली कांग्रेस आफ्नो नियमित अधिवेशनको आन्तरिक तयारीमा जुट्ने प्रयासमा जुटिरहेको छ ।

राजनीतिक दल र संस्कार दुबैको शुरूवात गरेको कांग्रेस नेपालमा सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक पार्टी भएको सर्वविदितै छ । यहि प्रजातान्त्रिक पार्टीभित्र अहिले नेतृत्वको बहस टड्कारो रुपमा चल्न थालेको छ । कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मानेर स्थापित भएको पार्टी हो । विपी कोइराला, सुवर्ण शमशेर राणा लगायतले स्थापित गरेको दल नेपालको राजनीतिक परिवर्तनको प्रमुख संवाहक बन्दै आइरहेको कुरा सबैमा जग जाहेर नै छ ।

राणा शासन कालका व्यक्तिदेखि हालको विकसित युगका व्यक्तिको स्पष्ट चित्रण कांग्रेसमा देख्न सकिन्छ । फागुनमा केन्द्रिय महाधिवेशन गर्ने तालिका बनाएको कांग्रेससँग महाधिवेशनबाहेक अर्को विकल्प पनि छैन । पार्टीको विधानतः उक्त अवधिसम्म अधिवेशन गर्न नसक्दा पार्टीको अस्तित्व समाप्त हुने खतरा कांग्रेसलाई छ । यद्यपि आपतकालीन अवस्थाबाहक नेपालको संविधानअनुसार भने थप ६ महिना समय प्रयोग गर्न सक्छ । यी र यस्तै कारणहरुबीच आन्तरिक निर्वाचनमा कांग्रेस जाँदै गर्दा सैद्धान्तिक, सांगाठनिक बहस चल्नु स्वभाविक नै मान्नुपर्छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाइ आदर्श मान्दै गर्दा कांग्रेस आन्तरिक रुपमा विचलनतामा जाँदै त छैन ? आम कार्यकर्ताको चिन्ताको विषय बन्नु स्वभाविक हो । लोकतान्त्रिक पद्धतिमा व्यक्ति गौढ र नीति प्रधान हुनुपर्छ । पार्टीको संस्थागत व्यवस्था पार्टीभित्रका अन्तर्निहित विवाद, आन्तरिक लोकतन्त्र, नेतृत्वको आचरण तथा पार्टीका रणनैतिक एवं कार्यनैतिक रुपरेखा सबैलाई केन्द्रविन्दुमा राखेर विश्लेषण जरुरी देखिन्छ ।

संस्थागत अभ्यासको अभाव
संस्थाको रुपरेखागत विकास उसको अभ्यासमा निर्भर गर्दछ । विधि र पद्धतिलाई केन्द्रविन्दुमा राखेर संचालन भएका संस्थाहरुमा संस्थागत विकासको अभाव देखिँदैन । तर विधि र पद्धति अर्थात् विधानलाई आफू अनुकूल व्याख्या गरेर चलेका संस्थाहरुमा भने संस्थागत विकास र अभ्यासको रिक्तता देखिन्छ । नेपालका सबै राजनैतिक पार्टीमा विधि र विधानलाई चुनौती दिँदै नेतृत्वले आफ्नो स्वार्थ र सुविधाअनुसार पार्टी चलाउन खोज्ने अलोकतान्त्रिक प्रवृत्ति हावी छ । त्यसकारण नेपालका राजनैतिक दलहरूमा संस्थागत विकास हुन सकेको छैन ।

स्थापनाको ७ दशकभन्दा बढी समय भए पनि कांग्रेस संस्थागत विकासका लागि शैशव अवस्थामा नै रहेको हो कि ? भन्ने आम जनताको चिन्ता र चासोको विषय बनेको छ । संस्थागत विकासभन्दा पनि व्यक्तिवादी प्रवृत्ति र गुट संस्थागत रुपमा देखिनु पार्टी र देशको लागि दुर्भाग्यपूर्ण विषय हो । विधि र विधानभन्दा भावना र भागवन्डामा पार्टी संचालन गरिनु ज्यादै दुःखद विषय हो । २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि कांग्रेसमा पनि आन्तरिक लोकतन्त्रको संस्थागत विकास र पार्टी संचालन प्रणालीबारे बहस हुँदै आएको छ । तर पनि २०४६ पछिका सबै सभापतिको कार्यकाल विवादशून्य बन्न नसक्नुले आन्तरिक लोकतन्त्रको चित्रण उजागर गर्दछ ।

१२ औं महाधिवेशनले त झन ६०/४० को भागबन्डालाई संस्थागत नै गराइदियो । जुन पार्टी संचालनमा ज्यादै दुःखद हुन पुग्यो । कारण गुट र भागबन्डामा आधारित राजनीति झांगिँदै गयो । भागबन्डाले इमान्दार कार्यकर्ताभन्दा चौकीदारहरु स्थापित बन्नका लागि बाटो खुल्ला बनाइदियो । जुन पार्टी र कार्यकर्ताका लागि ज्यादै निन्दनीय बन्न पुगेको छ । इमान्दार कांग्रेसजनका लागि यो अभ्यास राम्रो होईन ।

आन्तरिक लोकतन्त्र
देश लोकतान्त्रिक प्रणालीमा रुपान्तरण भएपछि संघ संस्थाहरुमा आन्तरिक लोकतन्त्रको बहस चल्नु स्वभाविक हो । झन राजनीतिक पार्टीमा त अपरिहार्य नै हुन्छ, आन्तरिक लोकतन्त्र । किनकी देश र जनताको भविष्य राजनीतिक दलहरुमा निहीत बनेको हुन्छ । विधानसम्मत र पारदर्शी प्रक्रियाबाट पार्टी संचालन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । तर नेपालका सबै दलमा आन्तरिक लोकतन्त्र मजवुत भएको पाइँदैन । यहि कारण पार्टीका निर्णय प्रक्रिया, विधिसम्मत, संस्थागत र सहभागितामुलक हुन सकेका छैनन् । त्यसैले राजनीतिक दलका धेरै निर्णय एकपछि अर्को गर्दै विवादित बन्दै आएका छन् । पार्टीमा नेतृत्वप्रति असहमत पक्षलाई र फरक मतलाई उचित स्थानको अभाव छ । संस्थापन पक्षले असहमत पक्षलाई किनारा लगाउँदा या उपेक्षा गर्न खोज्दा अनावश्यक विवाद र गुट निर्माण र सशक्त बन्दै गएका छन् राजनीतिक पार्टीहरुमा ।

कांग्रेसमा विद्यमान असहमति, विवाद र गुटबन्दी आन्तरिक लोकतन्त्र कमजोर भएकै कारण सिर्जना भएको हो । आन्तरिक लोकतन्त्र बलियो भए तिनका विवाद विधि र विधानसम्मत निरुपण हुन सक्छन् । असहमत पक्षले हरेक निर्णयप्रति फरक मत प्रकट वा सबैमा भागबन्डा खोज्ने प्रवृत्ति पनि प्रत्युत्पादक छ । संस्थापन पक्षले असहमत पक्षलाई सम्बोधन गर्न नखोज्नु पनि उत्तिकै जिम्मेवार छ पार्टी संचालनमा ।

यतिबेला पार्टीहरु पार्टीभन्दा पनि संघ, संस्थाको झुन्ड जस्ता देखिन थालेका छन् । कांग्रेसमा पनि यो समस्या चुनौतीको रुपमा देखिएको छ । केन्द्रिय समिति लगायत वैधानिक निकायमा नीतिगत छलफल हुँदैन । स्वार्थ र भागबन्डामा सहमति गर्दै गुटका आधारमा निर्णय अनुमोदन गर्ने प्रवृत्तिले दीर्घकालीन रुपमा सकारात्मक असर दिँदैन । पार्टीमा विचार समुह छैनन्, स्वार्थ समुहहरु हावी छन् र नेतृत्व पद्धति स्वार्थ समुहकै बन्दी भएको छ ।

नेतृत्व नै स्वार्थ समुहको बन्दी हुनुभन्दा ठूलो दुर्भाग्य देश, जनता र पार्टी विशेषका लागि अर्को के हुन सक्ला ? विधान संशोधनमार्फत पार्टीको आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नु आजको अपरिहार्य विषय बनेको छ । आन्तरिक लोकतन्त्रको अभाव नै संस्थागत विकासको प्रमुख बाधक हो ।

नेतृत्वमा विचलनता
उत्तरदायीत्व र जवाफदेहिता लोकतान्त्रिक प्रणालीको मुल मर्म हो । त्यसैले सरकार र दलहरू जनताप्रति उत्तरदायी हुनैपर्छ यसको विकल्प हुँदैन । तर यहाँ आकासको फलजस्तै देखिन पुगेको छ । नेपालका पार्टीहरु नीति भन्दा पनि नेता प्रधान हुन पुगेका छन् । जुन कालान्तरमा हानिकारक हुँदै जानेछ । नेतृत्वले नीति भन्दा पनि आफू अनुकुल संस्थालाई आफ्नो वरिपरी घुमाउने प्रवृत्तिले समय समयमा नेतृत्व स्वेच्छाचारी र निरंकुश भएको आरोप सबै पार्टीभित्र लाग्दै आएका छन् । नेतृत्व प्रणालीको स्वरुप यति विकृत र विसंगत भएको छ ।

यथार्थमा नेतृत्व प्रधानबाट गुट प्रधान र गुट प्रधानबाट गिरोह प्रधान हुँदै गएको देखिन्छ । पार्टी नेतृत्व जनताप्रति बफादार छैनन् । पार्टी कार्यकर्ता नागरिकप्रति उत्तरदायी हुनुको सट्टा नेताप्रति बफादार छन् । पार्टी कार्यकर्ता बेमौसमी बाजाको तालमा आफ्नो नेताको भजनमा व्यस्त हुन्छन् ।

नेपालमा पार्टी भनेको नेता र कार्यकर्ताको नीजि सम्पत्ति हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । त्यसैले पार्टी नेतृत्वको निजीकरण संस्था बन्न पुगेको छ भने कार्यकर्ताले कार्यकर्ताकरण गरिरहेका छन् । पार्टीलाई निजीकरण होइन, लोकतान्त्रिकरण गरिनुपर्छ । लोकतान्त्रिक प्रणालीमा राज्य संचालन पार्टीले गर्छन् । तसर्थ पार्टीभित्र लोकतान्त्रिक प्रणाली स्थापित हुन सकेन भने राज्य संचालनमा समेत असर परिरहेको हुन्छ ।

पार्टीलाई सत्तामा पुर्याउने भ¥याङ भन्दा पनि जनताका जनभावनालाई उजागर गराउने ऐनाको रुपमा विकास गर्नुपर्छ । कांग्रेसमा देखिएको गुट, उपगुट नेतृत्वमा आएको विचलनता हो । केन्द्रदेखि गाउँको तल्लो निकायसम्म त्यसको असर स्पष्ट देखिन्छ । महाधिवेशनको तयारी गर्दैगर्दा विभागहरु गठन र सदस्य मनोनित कतै हतास र जड मानसिकताले त्रसित बनाएको त होइन । होइन भने केन्द्रिय नेतृत्व तहमा नै नियुक्ति र गठनमा मत बाझिनु दुःखद विषय हो । गुटलाइ प्रशय दिने नीति र विधानलाई प्राथमिकता नदिने विषयले नेतृत्वलाई मानसिक रुपमा कमजोर बनाइरहेको हुन्छ । तसर्थ नेतृत्वले गुटभन्दा माथि उठेर पार्टी संचालन गर्न सक्नुपर्छ ।

निष्कर्ष
लोकतन्त्र, संविधान र पार्टीको भविष्यका लागि पार्टीको सुधार, लोकतान्त्रिकरण र रुपान्तरण अपरिहार्य हुन्छ । तर यो चुनौतीपूर्ण भने अवश्य छ । त्यो पनि वर्तमान सन्दर्भमा दलहरूमा यो समस्या त पहाडझै खडा भएको छ । जनताप्रति अनुत्तरदायी र असफल नेतृत्वका कारण पार्टीहरु जनतामाझ अलोकप्रिय बन्दै गएका छन् । आजसम्म नेपाली जनताले मुलधारका राजनीतिक दलको विकल्प खोजेका छैनन् । तर मुलधारका पार्टीको नेतृत्वको विकल्प चाहिँ अवश्य खोजेका छन। जनभावनालाई समेटेर दलहरू परिवर्तित हुन सकेनन भने दलकै विकल्पमा पनि नागरिक जान सक्छन् । जनमुखी र लोकप्रिय नेतृत्वको चाहना गर्नु अस्वभाविक होइन ।

कांग्रेसको आसन्न महाधिवेशनले जनतामाझ उठिरहेका यी र यस्तै प्रश्नहरुको सम्वोधन गर्न सक्नुपर्छ । पार्टी नीतिभन्दा बाहिर संचालन गरिनु हुँदैन । गुटको पूर्ण रुपमा निराकरण गरिनुपर्छ । महाधिवेशनमा नेतृत्वमा हेरफेर स्वभाविक हुन्छ । तर नेतृत्व गुटबाट निकाल्ने दिशामा पार्टी लगिनु हुँदैन । गुट या प्यानलको अधिवेशन सकिएको दिनबाट अधिवेशन स्थलमा नै निस्तेज बनाउन सक्नुपर्छ । विधि र विधानलाई सर्वोपरी मानेर जनताप्रति पूर्ण रुपमा उत्तरदायी हुने नेतृत्वलाई महाधिवेशनले स्थपित गर्न सक्नुपर्छ ।

कांग्रेसमा अब बैचारिक र सांगठनिक दुबै रुपमा रुपान्तरणको खाँचो छ । यसका लागि लोकप्रिय र जनताप्रति बफादार युवा नेतृत्वहरुको हस्तक्षेप जरुरी छ । जनताले देशका पार्टी भित्रको विकल्प खोज्नुभन्दा पहिले नै पार्टी भित्रको वैकल्पिक नेतृत्व र नयाँ पुस्ताको सार्थक हस्तक्षेपको आवश्यक छ । अब सक्षम र युवाहरुले हस्तक्षेपसहित निर्णायक भुमिका निर्वाह गरिहाल्नुपर्छ । अबको महाधिवेशनमा कांग्रेसमा भएका वैचारिक युवा नेतृत्वहरु यसरी स्थापित हुन सके नागरिक र आम कांग्रेसजनमा अलिकति भए पनि रक्तसञ्चार भएको महसुस हुन सक्थ्यो । के वैकल्पिक नेतृत्व र युवा पुस्ता नीतिलाई प्रधान राख्दै पार्टी रुपान्तरणको हस्तक्षेपकारी अग्नि परिक्षामा सफल हुन सक्लान् या लनसक्लान् ? यो त समयले नै बताउँला ।

(ज्ञवाली अर्घाखाँची कांग्रेसका युवा नेता हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण ...