के दलित भन्ने बित्तिकै हामीलाई कुल्चिने अधिकार पायौ र ?

Santosh pariyar

अमेरिकामा केही दिनअघि एउटा गोरो वर्णको पुलिसले एकजना कालो वर्णको मानिसलाई घाँटीमा घुँडाले अँठ्याएर राख्यो, जसको कारण त्यो मानिसको मृत्यु भयो । सो समाचार सबै सञ्चारमाध्यममा आउँदा सबै अचम्मित बन्यौं । तर आफ्नै देशमा जातको आधारमा, जातीय विभेदका कारण मान्छे मारिँदा हामीलाई केही भए जस्तो लाग्दैन । किनकी त्यो हाम्रो दिमागमा सानैबाट फिट गरिएको छ, त्यो पनि कोची–कोची बाह्रै महिना सातै दिन ।

जहाँ आफूलाई उच्च जात मान्ने केही समुदायले अर्को एउटा समुदायलाई तल्लो जातहरुको समुदाय मानिरहेको छ भने त्यो अछुत भनिएको समुदायले अर्थात वर्तमान सन्दर्भमा दलित समुदायले ‘हामी कसरी तल्लो जात ? मान्छे मान्छे त एउटै होनी अनि हामीलाई विभेद किन ?’ भन्दै प्रति प्रश्न गर्दै प्रतिरोध गरिरहेको छ । यहाँनेर बडो पीडा मिश्रित हाँसोका साथ यो पंक्तिकारलाई के भन्न मन लाग्यो भने तिनै उच्च जात भनिएकाहरु ‘हिंजोका दिनमा जे भयो भयो, आजको समयमा जातीय विभेद गलत हो’ भन्नुको सट्टा स्पष्टीकरण दिइरहेका छन्, कु–तर्क गरिरहेका छन् ।

‘आफैले आफैलाई पहिला दलित भन्न छोड’ भन्दैछन् । के दलित भन्ने बित्तिकै तिमीले हामीलाई कुल्चने अधिकार पायौ र ? अनि भन्दैछन् ‘तिमीहरुले दलितको नाममा आरक्षण पाउने अनि हामीले हेप्यो भन्ने ?’ अनि महाशय आरक्षण पायो भनेर के तिमीले हामीलाई मार्ने अधिकार प्राप्त गरेको हो ?

कसले दियो तिमीलाई हाम्रो समुदायलाई कुल्चने अधिकार ? कसले दियो तिमीलाई हाम्रो मृत्युको निर्णय लिने अधिकार ? हामीलाई जुनसुकै नामले बोलाउ हामीलाई पीडा हुँदैन । तर त्यसमा सम्मानको सुगन्ध हुनुपर्छ । तर अपमानको दुर्गन्ध मिसाएर अबका दिनमा बोलाइन्छ भने माफ गर्नुहोला हामी ‘जदौ’ गर्न असमर्थ छौं ।

‘म पशु होइन, हामी पशु होइनौं, हामी पनि मान्छे नै हौं, मान्छेलाई मान्छे जस्तो व्यवहार गरिदेउ’ भन्न खोजेको यत्ति हो, प्रमाणित गर्न खोजेको यत्ति हो, त्यसमा पनि आपत्ति ! कस्तो समाज हो यो ? कस्तो निर्दयी मनहरु ? कुन शताब्दी हो यो ? के हामी साच्चै २१ औं शताब्दी मा बाँचिरहेका छौं ? अब त शंकै लाग्न थाल्यो ।

यो देशमा गणतन्त्रको घोषणा भएको पनि १२ वर्ष पुगिसक्यो । यस बीचमा थुप्रै घटनाहरु घटे । जहाँ मान्छे मारिएका छन्, मुखमा मानव मल कोचिएको छ । गाउँबाट लखेटिएको छ । बलात्कार गरि मारिएको छ । विवाह गरेकोलाई छुट्ट्याइएको छ, केवल जातको नाउँमा । भित्रभित्रै कति घटना घटाइएको छ । केवल जातको नाउँमा, छुवाछुतको नाउँमा । ‘तिमीहरु हाम्रो छोरी-चेली फँसाउने ? हाम्रा छोरा–भाई फँसाउने ? आफ्नो औकात बिर्सिने ? हामीले भनेको नमान्ने ?’ जस्ता कुराहरु ओकल्दै, कारणहरु तेर्साउँदै ।

हिजोको अवस्थामा अज्ञानताको उपज थियो भन्ने कुरा हामीले बुझ्न सक्छौं । तर के हामी हजारौं वर्षदेखि अन्यायमा परेका पुर्खाका सन्तानले मात्रै बुझेर हुन्छ ? तिमीहरु पनि पढेलेखेका छौ, अनि तिमीहरुले बुझ्नु पर्दैन ? तिम्रा पुर्खाले हाम्रा पुर्खालाई हिजोका दिनमा अन्याय गरेकै हो भनेर पश्चातापसहित अबका दिनमा यस्ता विभेद नगरौं, अब पनि अन्यायलाई निरन्तरता नदिउँ बरु हजारौं वर्षदेखि उत्पीडनमा परेको यो समुदायलाई अगाडी बढ्न सहयोग गरौं, प्रोत्साहित गरौं भन्न किन नसक्ने ?

अझ व्यक्ति र समाजले गर्ने काम राज्यले गरिदिँदा, आरक्षण र कोटा तोकिदिँदा तिमीहरुलाई यत्रो रिस ? यत्रो डाहा ? हजारौं वर्षदेखि शोषणको मार खेपेको यो समुदायले अलिकति सहुलियत पाउँदा तिम्रो दिमागमा दन्दनी आगो बल्नुपर्ने ? खास कुरा यही हो कि गर्दै आएको राइँदाइँ कसैले छोड्नै चाहँदैनन् । जब तर्कले जित्न सक्दैनन् अनि ‘ओई दमाई, कामी, गाईने, सार्की बढि बोल्छस् ? आफ्नो औकातमा बस बुझिस् ?

म त काजी, बाबु साब, यो खानदानको, उ खानदानको’ भन्दै ठुला–ठुला कुरा गर्न थाल्छन् । दुःखको कुरा के छ भने यीनको एक आह्वानमा उच्च जातीय अहंकारले भरिएका भीडले यीनको साथ दिन्छ । त्यो भीडको बस एउटै सोचाई हुन्छ ‘हाम्रो इज्जत जान दिन हुन्नँ, यिनलाई माथि उठ्न दिन हुन्न दबाएरै राख्नुपर्छ’ अर्थात उनीहरु सही होस् या गलत उनीहरुलाई जित्नै छ, उच्च जातीय अहंकारलाई सन्तुष्ट पार्नुछ ।

त्यसैले अब हामी प्रतिरोधका लागि तयार हुनैपर्छ । र त्यसका साथसाथै समानान्तर रुपमा आफूलाई पनि सच्याउँदै लैजानुपर्छ । हामीलाई उनीहरुले हेप्छन् । किनकी हामी परनिर्भर छौं । बच्चाको विद्यालयको शुल्क तिर्न आनाकानी तर रक्सीको लागि पैसा पुगेकै हुन्छ । हामी आफ्नै बीचमा विश्वकर्मा, परियार, गन्धर्व, वादी, नेपाली भनेर विभाजित छौं । आफैंभित्र विभेद गर्छौं । त्यसैले आउनुहोस् हातेमालो गरौं । सबै मिली एकअर्कालाई सहयोग गरौं । समाजमा हुने हरेक गलत गतिविधिको विरोध गर्दै हाम्रा मान्छेहरुलाई नेतृत्व लिन सक्ने वातावरण सिर्जना गरौं ।

राज्यको हरेक तह र तप्कामा हाम्रो समुदायको पहुँच पुर्याउनको लागि शिक्षामा विशेष ध्यान पुर्याऔं । सबैमा यही विशेष अनुरोध छ कि यो २१औं शताब्दीमा पनि मान्छे भएर जन्मेपछि मान्छे जस्तो भएर बाच्न पाइयोस् र त्यसका लागि मानवताको भाव बोक्ने हरेकलाई ऐक्यवद्धता जनाउन जरुरी छ । अन्यथा अब कुनै पनि रुपमा गरिने जातीय विभेद हामी ६०÷७० लाख दलित समुदाय लाई सैह्य छैन । धेरै खाइयो समाज सुधारको ‘ललिपप’, हामीसँग अब आफ्नो अस्तित्व जोगाईराख्न मानवरुपी दानवहरुसँग भीड्नु बाहेक अरु विकल्प बाँकी रहेन । त्यसकारण पनि एक भएर अघि बढ्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...