अब बलात्कारी पुरूषलाई समाजले स्वीकार होइन, अपहेलना र घृणा गरोस्

Jahida khatoon nishannews

कसैको मन्जुरी बिना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिइन्छ । यौन सहकार्यवापत एक पक्ष (महिला वा पुरुष) ले अर्को पक्षबाट लाभ लिनु वा दिनु यौनको व्यापार हो भने मन नपरेको मानिसले वा मन परेको मानिस भए पनि मन नभएको समयमा जबर्जस्ती गरिने यौनजन्य व्यवहार बलात्कार वा यौन दुव्र्यवहार हुन्छ । जसलाई सम्बन्ध राख्न आत्माले स्वीकार गरेको वा नगरेको अर्थमा बुझ्न सकिन्छ । अर्थात यौन सम्बन्धका लागि एकजना मानसिक रूपमा तयार नभएको अवस्थामा अर्को व्यक्तिद्वारा गरिने व्यवहार नै बलात्कार हो ।

आजका दिनहरूमा बलात्कारका घटनाहरू दिनप्रतिदिन तीव्र रूपमा बढिरहेका छन् । वर्तमान समयमा यो एउटा गम्भीर र संवेदनशील विषय बनेको छ । स–साना अबोध बालिकादेखि जेष्ठ नागरिकसम्म बलत्कृत भएका खबर संसद भवनदेखि सामान्य चिया पसलमा यसले चर्चाको विषय बन्छ ।

पहिला बलात्कार गरेर भाग्ने गर्दथे । तर आजकल बलात्कारपछि सिधैं हत्या गर्ने प्रचलन बढेको छ । नेपालमा लकडाउन भएदेखि अर्थात् चैत्र महिनादेखि १ हजार २ सय २१ बलात्कारका घटनाहरू घटिसकेका छन् । दिनहुँ ७ जना बलात्कृत भइरहेको यो अवस्थामा सरकार बलात्कारीमाथि कडा रूपमा प्रस्तुत हुन जरूरी छ ।

बलात्कार वा बलात्कार गरेर हत्या जस्तो जघन्य अपराधलाई कुन सजाय ठीक हुन्छ भन्ने विषयमा कानून संशोधन गर्ने कुरा छलफल भइरहेको छ । बलात्कारीलाई जेल सजायको कानून त छ । तर यो प्रभावकारी होइनन । र, हामीसँग कानून नभएको होइन । तर कमजोर कानून र कार्यान्वयन नहुँदा यसले भयानक स्थिति सिर्जना गरेको छ । बलात्कारीलाई सजायको बारेमा गम्भीर ध्यान दिनु भनेको रूखको हाँगाहरूको अध्ययन गर्नु जस्तै हो । बलियो कानूनको अभावले गर्दा गलत मानसिकता भएका समाजका यौन पिपासुहरूमा डर नभएको कारण पनि यस्ता घटनाहरू हुने गर्छन् र जसलाई उचित समयमा कानूनको दायरामा ल्याउँदा अरूमा डर सिर्जना हुन्छ, जसले गर्दा यो अपराध केही हदसम्म नियन्त्रण हुन्छ । तर यो नै न्युनीकरणको उत्तम भने उपाय होइन ।

सबैभन्दा पहिला यो कुरा बुझ्न आवश्यक छ कि मृत्युदण्ड नभएर बलात्कारका घटनाहरू बढेका होइनन् । बरू प्रभावकारी कानून नभएर, कानून कार्यान्वयन गर्न नसकेर, कानून कार्यान्वयन गर्ने निकाय नै जिम्मेवारीबाट पन्छिएर, कानून कार्यान्वयन गर्ने व्यक्तिहरु नै बलात्कारीलाई संरक्षण गर्नतिर लागेर, आपसी मिलापत्र गरेर र यौनशिक्षा नभएर त्यस्तै महिलाहरू डर वा इज्जतको कारण दबिएका हुनाले बलात्कारका घटनाहरू बढेका हुन् ।

महिलाका लागि हाम्रो समाज कहिल्यै उपयुक्त हुन सकेन । इज्जतमा दाग लाग्छ कि भन्ने डरले यौनजन्य हिंसात्मक गतिविधिलाई सहेर बस्ने चेलीहरु नेपालमा धेरै छन् । बलात्कारी पुरूष समाजमा शानका साथ घुम्छ । तर महिलालाई भने घृणा र अपहेलना गरिन्छ । बलात्कारी पुरूष सजायका रूपमा केही वर्ष जेल बसे पनि समाजले तत्काल स्वीकार्छ । तर त्यही बलात्कृत महिलालाई स्वीकार्दैन । तसर्थ अब त्यस्तो समाज निर्माण गर्न जरूरी छ, जहाँ हरेक बलात्कारी पुरूषलाई समाजले स्वीकार नगरोस्, अपहेलना र घृणा गरोस् । यौनजन्य दुव्र्यवहार र बलात्कारको चपेटामा परेकी महिलाको इज्जत जान्छ भन्ने नकरात्मक सोच र निच मानसिकतालाई हटाइयोस् ।

महिलामाथि हुने बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । जुन व्यवहार विगतमा परम्पराका नाममा धर्मशास्त्रको आडमा गरिन्थ्यो भने अहिले धर्मशास्त्र र परम्पराको आधारमा नवउदारवादी अर्थतन्त्र र त्यसका जगमा उभिएका राजनीतिक–सामाजिक व्यवहारद्वारा गरिन्छ । जसका उदाहरण गाडी व्यापार मेलामा महिला मोडललाई उभ्याउनेदेखि विभिन्न नामका सौन्दर्य प्रतियोगिताहरू हुन् ।

६ वर्षीय शिशुदेखि ९२ वर्षकी वृद्धामाथि यौन पिपासुहरूले एकल बलात्कारदेखि अहिले सामूहिक बलत्कार गर्ने शृंखला दिनप्रतिदिन बढ्दो छ । यो किन हुन्छ ? अपराध हुनु वा गर्नुको कारण के होला ? सबैमा जिज्ञासा लाग्नु स्वाभाविकै हो । तर मुल प्रश्न हो, यौनापराधको शिक्षाको प्रचार प्रसार किन भइरहेको छैन ? शिक्षण संस्था चाहे विद्यालय होस या कलेज जहां विद्यार्थी अध्ययन गर्छन्, जहाँ प्रकृतिको नियमानुसार एकाप्रति आकर्षित हुने गर्छ । कलिलो उमेरदेखि वयष्क उमेर पुगेका मानिससमेत जसको पत्नी पति हुँदा छँदै अर्को लिंगतिर आकर्षित हुन पुग्छन् । आकर्षित हुनु प्रकृतिको नियम हो । यसलाई पूर्ण रूपमा बन्देज लगाउन सकिँदैन तापनि स्वनियन्त्रण गर्न नसिनिके होइन ।

यौनापराध हुनु गर्नुको कारणहरूमध्ये वस्त्र पहिरन, गरीबी, साथीहरूको संगत, दुव्र्यसनी, धर्म, राजनीति, पारिवारिक, समाज, बेरोजगारी, अनुचित न्यायिक प्रणाली, पेशेवार, वंशाणु, यस सम्बन्धमा विद्यायालय र कलेजमा पढाई न, पुरुषप्रधान समाज, सामाजिक मूल्य–मान्यता, कानून साथै न्याय सम्पादनमा समेत समस्या, आधुनिक समाज, बालबालिकामा बढ्दो पोर्नोग्राफीको लतका साथै वयस्कहरूमा आपराधिक मानसिकता बढ्दै जानु आदि हुन् भने अर्को कारण आफ्नो छोरा छोरी सन्ततिलाई यौन शिक्षा नदिनु पनि हो ।

यौनजन्य अपराधको सुचना दर्ता गर्ने कुरा समाजमा रहेको चेतनास्तर, आर्थिक, सामाजिक र साँस्कृतिक भेदभावबाट ग्रसित अवस्था, भौगोलिक स्थिति, परिवारको इज्जत र प्रतिष्ठा, सामाजिक दृष्टिकोण, पृष्ठभूमि, कुसंस्कार, द्विविधाजनक मनोविज्ञान र अपराधको प्रकृति जस्ता विभिन्न कारक तत्वहरूले निर्धारण गर्ने कुरालाई पनि मनन् गर्नुपर्ने हुन्छ । कतिपय स्त्रीले वा घरपरिवारले त्यस्ता अपराधलाई इज्जत जान्छ भन्ने डरले लुकाएर राखेका हुन्छन् जसले गर्दा बलात्कारीलाई झन हौसला मिल्न जान्छ ।

बलात्कारका घटना कम भएको साँच्चै हेर्न चाहने हो भने राजनीतिक वा प्रशासनिक क्षेत्रले कागजी रुपमा लैङ्गिक समानता दिएर वा बलात्कारीलाई कारवाही गरिदिएर मात्र हुँदैन । आम नागरिकले पनि सामाजिक सम्बन्ध र व्यवहारमा नै नारीको स्थान उठाएर पुरुषसँग सबै हिसाबले समान बनाउन पहल गर्नुपर्ने हुन्छ । यसको लागि तत्कालै गर्न सकिने कुरा प्रशस्तै छन् ।

अरु देशका महिला चन्द्रमामा पुगेका छन् । त्यस्तै देश हाँक्न सक्ने ताकत राख्छन् । तर यहाँका महिलाहरु आफूमाथि दुव्र्यवहार हुँदा पनि आफ्नो खप्पर ठोक्दै बस्छन् । घरमा श्रीमतिलाई हेला गर्ने तर सभामा नारी उत्थानको भाषण डकार्नेहरुको कमी नभएको पनि होइन । ‘मुखमा राम राम बगलीमा छुरा’ बोक्ने उच्च पदमा पदासीन व्यक्तिहरु महिला अस्तित्व विकासको बाधकका रुपमा देखिन्छन् । कतिपय स्थानमा बलात्कारका उजुरीहरू दिनलाई महिलालाई डर देखाइन्छ र उनको इज्जत जाने वा समाजबाट तिरस्कृत हुने कुरा देखाएर केसहरू दबाइन्छ । रातिमा हिड्दा वा छोटा कपडा लगाएर हिड्दा महिला असुरक्षित हुन्छिन् भन्ने समाज यो विषयमा मौन छ र आखिर किन ?

त्यसैले सरकार अहिलेको अवस्थामा बलात्कारीमाथि कडा रुपमा प्रस्तुत हुनुपर्छ । ताकी बलात्कार भएर हत्या हुँदा पनि सामाजिक सञ्जालमार्फत आम जनताले बलात्कारविरुद्ध आवाज उठाउनपर्ने, प्रदर्शन गर्नुपर्ने, एक दुई जनाले ज्यान गुमाउनुपर्ने अवस्थाले घटनामा कमी आउँदैनन् । बलात्कार हुनै नदिन र भएका घटनामा दोषीलाई कारवाही गरिदिने हो भने अहिले भइरहेका घटनामा धेरै फरक आउँछ ।

कठोर कानून र कार्यान्वयन बलात्कार नियन्त्रणका लागि सशक्त साधन अवश्य हो । तर, मृत्युदण्ड दिनेजस्ता कुराले बलात्कारको अन्तर्य पहिल्याउन सक्दैनन् । बलात्कार हाम्रै समाजको उत्पादन हो । र, समाजमा प्रत्येक दिन घट्ने यो हिंसाका अनेक कारण छन् । नेपाली समाजमा चलेको ‘पोथी बास्ने, छोरीको जन्म, हारेको कर्म र छोरी मरी, बडाघर परी’ जस्ता आहान त्यही संस्कारको उपज हो । हामी त्यही संस्कारमा लिप्त भएर होला, अहिले पनि बाउआमाहरू छोरी पाउनुभन्दा छोरा पाउन धेरै रहर र प्रयत्न गर्छन् । ‘मर्ने बेलामा पानी खुवाउने त छोरै हो’ र यो सम्पत्तिको मालिक त छोरै हो’ भन्ने चलन छ ।

समाजका गलत गतिविधिविरुद्ध बोल्न खोज्दा छोरी मान्छे भएर धेरै बोल्न हुँदैन भन्ने समाजमा महिलाको अवस्था अत्यन्तै दयनीय भएको कुरा प्रष्ट छ । महिलामाथि खेलौना वा साधन जस्तो रमाइलो गर्न खोजिन्छ । अस्मिता लुट्ने पुरुष जातलाई झन माथि चढाउन खोजिन्छ । छोरा नभए स्वर्गको बास नहुने तथा पिण्ड खान नपाइने भनाइले पनि कति नेपाली चेलीहरुलाई सताइएको देखिन्छ । जाँच गर्दा छोरी भएमा भ्रुण हत्या गर्ने हाम्रो समाजमा मानवीय दया र मायाँ छैन । बलात्कृत महिलाले अपमान र घृणाको प्रतिकार गर्न नचाहेका होइनन् । तर समाजले उनलाई बर्जित गरेको छ, ‘आइमाई भएर ठेगानमा बस्न पर्छ, लोग्ने मान्छेलाई त जे गरे पनि सुहाउँछ ।’ त्यसैले त होला नारी निःशब्द छन् । अन्याय, अत्याचार र आक्रोश मनमा नै दबाएर राख्छन् ।

सामाजिक परिवेश, पारिवारिक अवस्था, पीडितको चेतनास्तर, भौगोलिक विकटता, डरत्रास, द्विविधाजनक मनोविज्ञान जस्ता कारण छेकबार हुन सक्ने सम्भाव्यतालाई मनन् गरी घटना घटेको ३५ दिनभित्र नालेस दिनसक्ने प्रावधान गर्नुको पछाडि उपरोक्त अवस्था समेतको मनन् गरी व्यवस्थित गरिएको हुनुपर्दछ । उल्लेखित विभिन्न कारक तत्वहरूले जाहेरी दिन केही दिन वा समय ढिलो हुन सक्ने कुरालाई नजरअन्दाज गर्न कदापि मिल्दैन । तसर्थ जवर्जस्ती करणीको वारदात घटेको विषयमा जाहेरी दिन ३५ दिनको समय दिने गरी भएको प्रस्तुत कानूनी व्यवस्थाले पनि विविध कारण हुन सक्ने यथार्थतालाई आत्मसात गरेको पाइन्छ ।

यस कारण मौकामा तत्काल जाहेरी नदिनुलाई मात्र आधार मानी अपराधबाट उन्मुक्ति दिनु पर्दछ भनी सोच्न कानून संगत नहुने । पुलिस प्रशासनले समयमै अपराधी पक्राउ गर्न नसक्नु र यस्ता घटनाको आवश्यक प्रमाण जुटाउन नसक्नु पनि अर्को कारण हो । महिलालाई अलग व्यक्तिका रूपमा भन्दा पनि लिंग, भोग र बच्चा उत्पादनको साधनका रूपमा बुझिँदा कानूनका शब्दावली पनि त्यस्तै विभेदी छन् । इज्जत’ र ‘चरित्र’ का कारण पनि कतिपय विषय प्रहरी प्रशासन मै पुग्दैनन् ।

सारांशमा नारीलाई पुरुषभन्दा तल्लो दर्जामा राख्ने, नारीका अंग र शरीरलाई उपभोग्य वस्तुको बिम्व बनाउने, नारीप्रतिको दुव्र्यवहार र हिंसालाई सामान्यीकरण गर्ने, नारीको शरीर वा व्यक्तित्वलाई पुरुषको नियन्त्रणमा राख्ने सम्पूर्ण संरचनागत पक्षहरू पहिल्याई एक–एक गरी सुधार्ने कामले मात्र बलात्कारका घटना कम हुनेछन् । जसरी एसिड प्रहार गर्नेलाई २० वर्ष कैद गरिने कडा कानून संसोधन गरियो, त्यसरी नै बलात्कारीविरुद्ध पनि योभन्दा अझ कडा कानून निर्माण गर्न अतिआवश्यक रहेको छ ।

अमेरिकाका केही राज्य, इन्डोनेसिया लगायत विभिन्न देशहरूमा केमिकल क्यास्ट्रासन अर्थात् नपुंसक गराइन्छ । तसर्थ नेपालमा पनि यो कानून लागु गर्दा उचित नै हुने थियो । कडा कानून र कार्यान्वयनबाट पनि बलात्कार धेरै नियन्त्रण आउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...