भिषा नचाहिने जात प्रथा

Vadraman mote

मनुस्मृतिमा मानवलाई चार वर्णमा विभाजन गर्दै ब्रम्हाको मुखबाट बाहुन, पाखुराबाट छेत्री, तिघ्राबाट वैश्य र खुट्टाबाट शुद्रको जन्म भएको उल्लेख गरिएको छ । यसैको आधारमा लिच्छवी कालमा ‘चार वर्ण अठार जात’, मल्ल राजा जयस्थिति मल्लले ‘चार वर्ण चौसट्ठी जात’, गोरखाका राजा राम शाहले ‘चार जात छत्तिस वर्ण’ मा मानवलाई विभाजन गरेर छुवाछूत सहितको व्यवस्था लागू गरे भने नेपालका राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाले जात व्यवस्थालाई कानुनी रुप दिँदै नेपालको पहिलो मुलुकी ऐन १९१० मा तीन प्रकारका जात निर्धारण गरेकोले आजसम्म संगठित रुपमा समाजमा यो जात प्रथाले जरो गाडिरहेको छ ।

यहि जात प्रथाबाट उन्मुक्ति पाउन, सम्मानित जीवन बाच्न, सामाजिक अस्तित्व कायम गर्न र मान्छे भएर मान्छे झैँ बाच्न नपाएका, वर्षौदेखि छुवाछूतको मारमा परेका, छोएको पानि नचल्ने, सुनपानी र अग्नीले चोख्याउनुपर्ने, संविधानद्वारा प्रदत्त मौलिक हक अधिकारको उपभोग गर्न नपाएका, दलित बनाइएका तथाकथित दलित समुदायहरु आफ्नो मुक्तिको निमित्त विगत सात दशकदेखि संघर्षरत छन् । जातीय विभेद र छुवाछूतको मुल कारणलाई समयको वहावसँग सँगै बुझ्न नसकी आवश्यकीय रणनीति र योजनासहित अघि बढन नसक्दा दलितमाथि हुने गरेका जातीय विभेदको आगो भुसको आगोझै भित्रभित्रै सल्किएर मुलुकको सिमाना पार गरिसकेको यथार्थलाई पनि नकार्न सकिन्न ।

सन्दर्भ संयुक्त राज्य अमेरिकाको हो, जहाँ केहि समय पहिला म परिवारसहित भ्रमणमा रहदाँ ओहायोस्थित भतिजी (भाइको छोरी) लाई भेट्न गएको थिए । एकदिन मैले उनीसँग त्यहाँको रहन सहन, सामाजिक रीतिथिति, नागरिकहरुको व्यवहार सम्बन्धमा केहि जानकारी लिन खोज्दा उनले भनिन्, ‘यो स्थानमा नेपाली मुलका अधिकांस परिवारहरु बस्नुहुन्छ । भाषा, रहन सहन, व्यवहार सबै मिल्ने भएकोले म पनि यतै आएर बसे । तर अधिकांसले जातको कुरा गर्नु हुन्छ । ‘के थरि’ भनेर सोध्नु हुन्छ । जात थाहा पाएपछि छुवाछूतको व्यवहार गर्नुहुन्छ । घरमा आउजाउ गर्दा अवहेलना गरे जस्तो लाग्छ । यहाँ पनि नेपालको जस्तै जातीय विभेद मौलाई सक्यो । जात प्रथाले जरो गाडिसके जस्तो छ ‘मैले यस सम्बन्धमा यदाकदा अरुले भनेको त सुनेको थिए । तर आज छोरीले नै भन्दा छक्क परे ।

हुन त अमेरिका, बेलायत, युरोप लगायत अन्य मुलुकहरु (जहाँ दक्षिण एशियाका नागरिकहरु बसोबास गर्ने गर्छन्) मा पनि जातीय विभेद र संस्कारको कारण तथाकथित दलितहरुलाई रोजगारी प्राप्त गर्न, कोठा वहालमा लिन, सामाजिक प्रतिष्ठा प्राप्त गर्न, सामाजिक क्रियाकलापमा घुलमिल हुन कठिनाइ हुनुको साथसाथै स्वाभिमानी जीवन व्यतित गर्न आफ्नो पुर्खादेखिको पहिचान नै परिवर्तन गर्नुपर्ने, जात थर ढाट्नुपर्ने वा परिमार्जन गर्नुपर्ने, बसाई सराई नै गर्नुपर्ने बाध्यता रहँदै आएको छ भने अन्तरजातीय प्रेम र विवाहित सम्बन्ध पनि दिगो र सफल नभएको कुरा विभिन्न संचार माध्यमहरु र व्यक्तिगत भोगाइका गुनासाहरुबाट सुनिन्छ र बुझिन्छ ।

विदेशी भूमि भए पनि यहाँ बसोबास गर्ने दलितहरु माथि गरिने जातीय विभेद विदेशी मुलका गोरा एवं काला जातीहरुले अवश्य नै गरेका होइनन् । हाम्रो आफ्नै मुलुक र हाम्रो मुलुकको जस्तै संस्कार बोकेका अन्य मुलुकहरुबाट आएका आफुलाई ठूलो जात सम्झने बाहुन, छेत्री, नेवार, राई, लिम्बु, मगर, तामाङ, गुरुङ आदिहरुले नै गरेका हुन् । तर पनि विश्वकै ठूलो प्रजातान्त्रिक, मानव अधिकारवादी मुलुक अमेरिकामा पनि नेपाल एवं दक्षिण एशियाली मुलुकहरुको झैँ जात प्रथा किन र कसरी मौलायो ? यसको मुल कारण के रहेछ त भन्ने सम्बन्धमा यहाँ बसोबास गर्ने व्यक्ति, परिवारहरुबाट नै बुझ्न र जान्न मन लाग्यो ।

यहाँ बसोबास गर्ने नेपालीहरु र नेपाली मुलका भुटानीहरुसँग भेटघाट तथा छलफल गर्ने, उहाँहरुले संचालन गर्नुभएको सहयोगी कार्यालयहरुमा जाने बस्ने, काम कारवाही बुझ्ने, यहाँ स्थापना गरिएका मन्दिर र चर्च र पसलहरुमा दलितहरुलाई गरिने व्यवहारको साथै दलितहरुको अवस्था, जातीय विभेद गर्नुपर्ने कारण र दलितहरुप्रति गैर दलितहरुको दृष्टिकोण सम्बन्धमा बुझ्ने प्रयास गरे । यस समय सत्यतथ्य बुझ्न मैले केहि झुठ बोल्नुपर्ने अवस्था पनि आयो । किनकी यहाँको चलन नै होला नयाँ व्यक्ति देख्ने वित्तिकै ‘के थरी’ भनेर सोध्ने रहेछन् । मलाई पनि यहि प्रश्न सोधियो । मैले ‘नेपाली’ भनिदिए । मेरो उत्तर सुनेर सबै जना मुखामुख गरे । कोहि त उठेर गए । माहौल बिग्रन लागेको देखेर मैले हत्तपत्त नेपालबाट आएकोले नेपाली भनेको हुँ भनेपछि मात्र मसँग कुराकानी गर्न सहमति जनाए ।

यसरी नै एक महिनाको अवधिमा मैले करिब करिब सयदेखि डेढ सय जना जति विभिन्न उमेर समुहका १६ वर्षदेखि ७५ वर्षीय बृद्धसम्मका व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि उनीहरुको धारणा बुझ्ने प्रयास गर्दा धेरै प्रकारका राम्रा र नराम्रा अभिव्यक्तिहरु आए । उनीहरुले व्यक्त गरेका सबै अभिव्यक्तिहरुलाई कारणवश यहाँ उल्लेख गर्न सान्दर्भिक ठानिनँ । तर अन्य अभिव्यक्तिहरु सम्बन्धमा भन्नु पर्दा केहि वृद्धहरुले ‘मानव सभ्यताको निमित्त जात प्रथा र जातीय विभेद र संस्कार अभिशापको रुपमा रहेको छ । तर पश्चिमी सभ्यता अंगालेको मुलुकमा आएर बसोवास गर्दैमा परापूर्वकालदेखि पालना गर्दै आएको संस्कार, रीतिरिवाजलाई यो उमेरमा आएर परिवर्तन गर्न सकिन्नँ, मर्ने बेलामा दलितले छोएको खाएर र पिएर पाप बोक्न पनि सकिन्नँ’ भन्ने प्रकारको धारणा आयो ।

केहि उदारवादी जस्तो देखिने व्यक्तिहरुको अनुसार आफ्नो मुलुकमा रहदाँ बस्दा दलितहरुको अवस्था जस्तो थियो, त्यस्तै अवस्था यहाँ पनि रहेको छ । उनीहरुको आर्थिक स्थिति, रहन सहनमा केहि परिवर्तन आए पनि उनीहरुमाथि गरिने वा हेरिने जातीय दृष्टिकोणमा कुनै परिवर्तन भएको छैन । युवाहरुको धारणा अलिक आधुनिक भए पनि उही पूरानो सोचले ओतप्रोत थियो । उनीहरु घर बाहिर दलित भनिएकाहरुसँग सहकार्य गर्न तयार थिए । तर एकअर्काको घरमा आउजाउ गरेर दलितहरुसँग सहभोज गरेर आफ्नो अभिभावकको चित्त दुःखाउन चाहदैनथे भने जातीय मुक्तिको लागि धर्म परिवर्तन गरेका दलित एवं गैर दलितहरुले पनि जात प्रथा र धर्म संस्कारलाई त्याग्न नसकेको देखियो । यस्तो अवस्था अमेरिकाको ओहायो राज्यमा मात्र नभएर नेपाली र नेपालीमुलका बसिन्दाहरु रहेका अन्य राज्यहरुमा पनि यथावत नै रहेको छ ।

विश्वबाट नै जातीय विभेद हटाउन वा दलित मुक्तिको निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बनेका संविधान, ऐन, नियम, विभिन्न महासन्धि, सन्धि, प्रतिज्ञा पत्र, निर्देशिका र सभा सम्मेलनद्वारा प्रयास एवं प्रतिवद्धता गरे पनि सहि अनुगमन र सुपरिवेक्षण र कार्यान्वयन नहुनाले पनि यो जातीय विभेदको प्रचलनमा कुनै कमी आएको छैन । जातीय विभेद अर्थात् दलित मुक्ति कसरी हुन्छ त भन्ने सम्बन्धमा सरोकार पक्ष सबैको आ–आफ्नै धारणा र व्याख्या रहेको पाइन्छ ।

कोहि आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक पहुँच भएमा दलित मुक्ति हुन्छ भन्छन्, कोहि आरक्षण नै दलित मुक्तिको मार्ग हो भन्छन् । कोहि धर्म परिवर्तनलाई दलित मुक्तिको आधार ठान्छन्, कोहि ऐन, नियम कडा हुनुपर्छ भन्छन् । तर आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा प्रतिष्ठित, शैक्षि रुपले शिक्षित, उच्च पदस्थ कर्मचारीहरु, राजनीतिक बाटो हुँदै सांसद र मन्त्री भएका दलितहरु पनि त छुवाछूतको चपेटामा परेकै छन् । जुनैरुपले सक्षम, क्षमतावान र सम्पन्न भए पनि जात र थरको खोजी हुँदा भरसक ढाट्न र तर्किन बाध्य नै हुने गरेका छन् । यस्तै मुक्तिको लागि धर्म परिवर्तन गर्नेहरुले पनि त दलित मुक्ति चाहियो भनेर सडकमा नारावाजी गरेकै छन् ।

धर्मशास्त्रले जे भने पनि वास्तवमा मानवको जन्म मुख, पाखुरा, तिघ्रा र खुट्टाबाट भएको होइन । जातको आधारमा कोहि सानो र ठूलो, पानी चल्ने र नचल्ने, छुनु हुने र नहुने हुँदै हुँदैन । सामाजिक कार्य सुचारु गर्न मानवीय गुण, कर्म, स्वभावको आधारमा वर्णको विभाजन गरिएको हो भन्ने दलित र गैरदलित सबैले बुझी सके पनि यसलाई मान्न व्यवहारमा लागु गर्न तयार छैनन् । यो जात प्रथा कमजोर मानसिकता भएका आफुलाई ठूलो जात सम्झने गैर दलितहरुको हतियारको रुपमा पनि रहँदै आएको छ । कुनै पनि अवस्थाबाट दलितलाई होच्च्याउन, दबाउन, शोषण गर्न नसके अन्त्यमा ‘तँ भन्दा म ठूलो जातको हुँ’ भनेर जित्न खोज्छन् । त्यसैले जबसम्म यो जात प्रथाको उन्मुलन गरि मानिसहरुको मानसिकतामा परिवर्तन ल्याउन सकिन्न, तबसम्म जातीय विभेदको अन्त्य सम्भव होला जस्तो देखिन्न ।

मलाई अझै पनि सोधपुछको क्रममा एकजना ठटाल थरका भाइले व्यक्त गरेको अभिव्यक्तिले सधै झस्काउने गर्छ । ‘के गर्ने हजुर, पुर्खाको पालादेखि बसोवास गरेको मुलुकले निकालिदियो, आफ्नै सम्झेको मुलुकले पनि स्वीकारेन, यहाँ आएको पनि १० वर्ष भैसक्यो । यत्रो ठूलो मुलुकमा आएपछि यहाँको रहन सहनले सँगैका साथीहरुको बुद्धि आउला, उहाँहरुको व्यवहारमा परिवर्तन आउला, जातीय विभेद गर्न छोडलान्, वर्षौदेखिको उत्पीडनबाट मुक्ति पाईएला कि भन्ने आशा थियो । तर यहाँ पनि उस्तै भयो ।’

स्वभाविकै रुपमा ठूला जात भनाउँदाहरुका लागि हामीले छोएको पानी पनि चल्दैन, छोइछिटो गर्छन् । मन्दिर र चर्चमा पनि समान व्यवहार गर्दैनन्, अलग्गै राख्छन् । यिनीहरुको सोचमा कहिले परिवर्तन आएन, अब आउँदैन पनि होला । कहिँ गए पनि सम्मानको जीवन बाच्न पाइएन । भाषा, कानुनको केहि ज्ञान छैन, समाज यहि हो यिनीहरुलाई छाडेर अलग्गै बस्न पनि सकिन्न । हाम्रो पिरमार्का सुन्ने, बुझने, बोलिदिने पनि कोहि छैनन् । अन्तर्राष्ट्रिय स्तरमा पनि दलितको नाममा धेरै संघ संस्था खुलेको छन्, अन्तर्राष्ट्रिय स्तरका ठूलठूला पुरस्कारले सजिएका धेरै दलित अधिकारकर्मीहरु छन् । तर, यहाँ बसोबास गर्ने दलित समुदायका मानिसहरुले महशुस गर्न पाइएको छैनन् ।

यो जात प्रथाले कहिँ गए पनि नछाडने भो । मानिसहरुलाई ठूल्ठूला मुलुकमा प्रवेश गर्न भीषा चाहिन्छ । यो जात प्रथालाई त जुनसुकै देश र स्थानमा जान आउन पनि भिषा नचाहिँदो रहेछ ! भिषा नै नचाहिने यो कस्तो जात प्रथा रहेछ ? 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...