भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीब्र गतिमा बढेको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि भारतमा दिन प्रतिदिन बढ्दै गएको छ।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी पुगेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार आइतबार अपराह्नसम्म भारतमा कोरोनाबाट ५० हजार १ सय २२ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्याको आधारमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको भारत मृत्युको हिसाबले चौथो स्थानमा रहेको छ। भारतभन्दा बढी अमेरिकामा १ लाख ७२ हजार, ब्राजिलमा १ लाख ७ हजार र मेक्सिकोमा ५६ हजारभन्दा बढीको कोरोनाबाट ज्यान गुमेको छ।
भारतमा हाल कोरोना संक्रमितको संख्या २५ लाख ९४ हजारभन्दा बढी रहेको छ। पछिल्लो केही समयदेखि भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ५५ लाख २९ हजारभन्दा बढी छ। यस्तै ब्राजिलमा हालसम्म ३३ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन्।
प्रतिकृया दिनुहोस