दुःखी किसानहरूको जिन्दगीको यथार्थ कथा हो ‘ऋणको भारी’

पुजीवादी व्यवस्थामा जनसंगीतको यात्रा अघि बढाउन चुनौतीपूर्ण (भिडियो)

Narayan sharma

कहिलेसम्म बोक्ने होला थाप्लोमाथी ऋण
आउँदैनर झुल्केर यो धर्तीमा हाम्रो सुदिन ।

कस्तो बिडम्बना ! जसको जमिनको ठूलो हिस्सा छ, उ आफैँले त्यो जमिनमा पसिना चुहाउँदैन । जसले पसिना बगाइरहेको हुन्छ, उसको नाममा फेरि त्यो जमिन हुँदैन । भएको सानो जमिनको टुक्रामा हुने उब्जनीले जहान परिवारको भोक टार्न पुग्दैन । अनि विवस हुन्छन् उनीहरू साहु महाजनहरूसँग ऋण माग्न ।

थाप्लो माथिको ऋणको भारी कहिलेसम्म बोक्नुपर्ने हो ? के पसिना बगाउनेहरू ऋणको भारीबाट मुक्त हुने दिन कहिल्यै पनि आउन सक्दैन ? गरिब तथा दुःखी किसानहरू धेरैको मनमा सल्बलार्ई रहने प्रश्न हो यो । आफ्नो श्रम र पसिनाबाट मानव जातिलार्ई जीवित राख्न अन्नबाली उब्जाउने वर्ग किसान भने आफैँ दुःखी जीवन बिताइरहेको हुन्छ ।

केही महिनाअघि मात्र पूर्वी तराइका उखु किसानहरू काठमाडौंमा आएर उखु उत्पादनका लागि विभिन्न सहकारी र बैंकबाट ऋण लिएर उखु उत्पादन गरे पनि चिनी मिलका मालिकहरूले आफुहरूलार्ई दिनुपर्ने उखुको भुक्तानी नदिएको भन्दै आफ्नो कारूणिक ब्यथा पोखेका थिए । थाप्लोमाथि ऋणको भारी बोकेर जिन्दगी लतार्न बाध्य दुःखी किसानहरूको संख्या अत्याधिक छ हाम्रो देशमा । तिनै दुःखी किसानहरूको जिन्दगीको यथार्थ कथालार्ई मुख्य बिषयवस्तु समेटेर जनकलाकार लिला परियारको ‘ऋणको भारी’ बोलको नयाँ गीत आएको छ । गीतमा दुःखी किसानका बेदनालाई हुबहुँ रूपमा उतारिएको छ ।

पुस्तौदेखि बन्दगी छ सानो घरबारी
पाइँदैन र छाक टार्न यहि माटोमा हात बजारी ।

दुःखी गरिब किसानहरूले बर्षौदेखि भोग्नुपरेको यथार्थ बेदना हो यो । भएको सानो घरबारी पनि साहु महाजनकोमा बन्दगी राखेर आफ्ना जहान लाला बालाहरूको पेट पाल्न विवस छन् हाम्रो देशमा लाखौ किसानहरू । देशमा कैयौ सरकारहरू फेरिए, व्यवस्था नै फेरियो । तर उनीहरूको दुःख अहिले पनि उस्तै छ ।

उनीहरूको हित हुनेगरी देशमा नियम कानुन अझ बन्न सकेको छैन । राज्यबाट जुन रूपमा सेवा सुविधाहरू ती किसानहरूले पाउनुपर्ने हो, त्यो प्राप्त गर्न सकिरहेका छैनन् । मानो रोपेर मुरी फलाउनुपर्ने बेलामा मल बिउको नपाएर छट्पटिइरहेका उनीहरूको अवस्था हामी सबैले देखिरहेकै छौं । त्यही मल बीउ खरिदमा पनि सरकारी मिलिमतोमै भ्रष्टाचार र अनियमितता भएको तथ्य छिपेको छैन । जनकलाकार लिला परियारको गीतले यही यथार्थ चित्रण गरेको छ ।

चारै तिर भ्रष्टाचारी नयाँ नयाँ भेषमा
हुँदैन र समृद्धि सुख शान्ति हाम्रो देशमा ।

हाम्रो देशमा भ्रष्टाचार अहिले महारोगको रूपमा विकसित भइरहेको छ । कुनै यस्तो क्षेत्र बाँकी छैन, जहाँ भ्रस्टाचार नभएको होस् । कृषि क्षेत्र पनि त्यसबाट अछूतो छैन । देशका शासकहरू सुख र समृद्धिको नाराको रटान लगाइरहेका छन् । सुशासनको प्रवचन दिइरहेका छन् । तर व्यवहार ठिक उल्टो छ । ठग्ने, लुट्ने मान्छेहरू रूप बदलेर ठगिरहेका छन्, लुटिरहेका छन् । यो तरिकाले समृद्ध देश बन्न सक्ने छैन ।

गरिखाने मान्छेहरूको अवस्था झन–झन दयनीय र बसिखाने र ठगिखाने मान्छेहरूको अवस्था झन–झन सुदृढ हुँदै जाने यो असमान थिती देशमा रहेसम्म देश समृद्ध बन्न सक्ने छैन । गीतमा एकदमै सहि आशंका उठाइएको छ । भन्नेले त भन्दिएका छन् समृद्धि र समाजवादको यात्रामा देश हिडेको छ भनेर । तर जुन नीति, नियम र शैली बोकेर यो राज्य हिडिरहेको छ, यो तरिकाबाट समाजवादमा कदापि पुग्न सकिँदैन । गीतमा समस्याको उजागर मात्र होइन, सामाधानको उपाय पनि सुझाइएको छ ।

मुक्ती हुन्न हामी नै नजुटे
गरिब दुःखी जुरूक्कै नउठे ।

जुटाउ सबै पौरखी हात
मजदुर किसान मिलेर साथ साथ ।

रातो घाम पुर्वमा उदाउला
हासी खुशी मिलेर रमाउला ।

हो, किसानहरूको मुक्तिका लागि किसानहरू नै उठ्नुपर्छ । हामीलाई मुक्ति अरू कसैले ल्याइदिने होइन, त्यसका लागि हामी आफैँ जुट्नुपर्छ र एकताबद्ध भएर संघर्षको मैदानमा डट्नुपर्छ । गरिब दुःखी किसानहरू, मजदुरहरू सबैका पौरखी हातहरूलाई एकजुट पार्नुपर्छ । किसान र मजदुरहरू मिलेर त्यसरी आन्दोलन अघि बढाइयो भने बल्ल आफुलाई शक्तिशाली ठानिरहेका सत्तासिनहरू झुक्न बाध्य हुनेछन् ।

श्रमजीवी वर्गले सचेततापुर्वक त्यसरी आन्दोलन अघि बढाएपछि कयौं देशका तानाशाहहरू झुकेको प्रसस्त उदाहरणहरू छन् । हाम्रो देशको सन्दर्भमा पनि त्यही कुरा सत्य हो । आज हामी जुन गणतान्त्रिक व्यवस्थामा बसिरहेका छौं, त्यो पनि जनताको बलिदानीपूर्ण आन्दोलनकै कारण प्राप्त भएको हो । किसान मजदुरको राज्य व्यवस्था पनि किसान मजदुरहरूले एकताबद्ध भएर लामो लडाइँ लडेपछि नै प्राप्त हुनेछ ।

किसान मजदुरलार्ई सचेत बन्न, आफ्ना बैरीहरू चिन्न केही समय लाग्ला । तर जब किसान मजदुरहरूले आफ्ना वर्ग बैरीलाई चिनेर तिनका बिरूद्ध सचेततापूर्वक दीर्घकालीन आन्दोलन अघि बढाउँछन्, तब त्यो आन्दोलनलार्ई रोक्न सक्ने तागत कसैसँग हुने छैन । त्यही आन्दोलनले नै जनताको वास्तविक सत्ता स्थापित गर्नेछ । अनि मात्र किसान मजदुर र श्रमजीवी वर्गका समस्याहरू सामाधान हुन सक्नेछन् । सबै सबै श्रमजीवीहरू हासी खुशी रमाउन सक्नेछन् । त्यसैले गरिब दुःखी किसानहरू अब त्यसप्रकारको आन्दोलनको तयारीमा जुट्नु पर्दछ । जनकलाकार लिला परियारको नयाँ गीत ‘ऋणको भारी’ ले मुलरूपमा त्यही सन्देश दिएको छ ।

यतिबेला बजार तीजका गीतहरूले बजार तातेको छ । यहि बेलामा यस्ता गीतहरूले त्यति बढी चर्चा नपाउन पनि सक्छन् । तर यस्ता प्रगतिशील रचनाहरूको महत्व तत्कालको चर्चालाई हेरेर गर्नु कदापि उचित हुने छैन । यो दीर्घकालीन महत्व बोकेको गीत हो । जनचेतनामूलक यस्ता सृजनाहरू देशमा बुर्जुवा व्यवस्था रहदाँसम्म कहिल्यै पूराना हुँदैनन ।

आजभन्दा करिव ४० वर्षअघि लेखिएका रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माका गीतहरू आज पनि उत्तिकै समय सान्दर्भिक र चर्चित छन् । मुख्य कुरा निरन्तरताको हो । प्रगतिशील गीत/संगीतको कठिन यात्रामा सर्जक निरन्तर लागिरहेसम्म यस्ता गीतहरूले पनि स्थान र चर्चा पाइनै रहने छन् ।

यो पुँजीवादी व्यवस्था र समाजमा जनसंगीतको यात्रालाई अघि बढाउने कार्य निकै जटिल र चुनौतीपूर्ण छ । तर पनि जनकलाकारले लामो समयदेखि जनसंगीतको यात्रालाई पछ्याइरहेका हुन्छन् । त्यही भएर पनि जनकलाकार जनताका कलाकार भएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...