बैदेशिक रोजगारीबाट आएको रेमिटेन्सको मन्द बिष कहिलेसम्म पिउने ?

Shamvu rasaili 9 saun 077

बिदेशमा गएर काम गर्नु नराम्रो कुरा होइन । सबै देशका नागरिकहरु सबै देशमा गएर काम गरेका हुन्छन् । तर कस्तो काममा कस्ता नागरिक र कति नागरिक अन्य मुलुकमा गएर काम गरेका छन् ? त्यो कुराले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । बिदेशी मुद्रा स्वदेशमा भित्र्याउनु राम्रो पक्ष हो । तर त्यो मुद्रा कसरी भित्रिन्छ, त्यो पनि महत्वपूर्ण पाटो हो । नेपालमा वैदेशिक रोजगारीबाट भित्रिएको मुद्राबाट के मुलुकको हित भएको छ त ? हामी यसै बिषयमा केन्द्रित हुनुपर्छ ।

वैदेशिक रोजगारी हुनु राम्रो हो । तर देश नै बैदेशिक रोजगारीमा निर्भर हुन थाल्यो भने त्यो सबैभन्दा खतरनाक मन्द बिष बन्छ । बिषले एक दिन मुलुककै दुर्घटना गराउने पक्का छ । अहिले रेमिट्यान्सले देश चलेछ भनेर खुसी हुनेहरुको लागि कुनै दिन त्यही रेमिटेन्स बिष बन्ने पक्का छ । वैदेशिक रोजगारीबाट आयात भएको रेमिटेन्सलाई अमृत वा बिष के बनाउने हो ? सबैको चासोको बिषय बनाउनु जरुरी छ ।

सरकारी आँकडाअनुसार २०६६ देखि २०७६ फागुनसम्म ४५ लाख ४० हजार ९ सय ६ युवाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएको देखिन्छ । बिभिन्न सघ संस्थाहरुले ७० देखि ८० लाखको हाराहारीमा युवाहरु बैदेशिक रोजगारीमा रहेको दाबी गरेका छन् । धेरै युवाहरु मलेसिया, कतार, अरब, दुवई, कुबेत, बहराइन जस्ता देशमा गएका छन् । बिभिन्न संस्थाले गरेको अध्ययनअनुसार केवल १ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७५ प्रतिशत अदक्ष जनशक्ति बैदेशिक रोजगारीमा रहेको देखिन्छ ।

श्रम स्विकृती नलिई विभिन्न देशमा अध्ययन गर्न गएका जस्तो भिजिट भिसामा गई लुकेर बसेका, भारत हुँदै बिभिन्न देशमा गएका, बिभिन्न कार्यक्रममा गई नफर्केका र भारतमा गई काम गरेकाहरुलाई गणना गर्ने हो भने झण्डै ८० लाख युवाहरु बैदेशिक रोजगारीमा हुन सक्ने अनुमान गरिन्छ । यीनै कारणले सरकारी आँकडा र संघसंस्थाले दाबी गरेको आँकडामा फरक आएको हुनसक्छ भने संघ संस्थाले निकालेको आँकडा सहि हुनुपर्छ ।

नेपालको परिवेशमा सामान्यतया एक जना युवा बराबर ३ देखि ४ जना व्यक्ति निर्भर रहेका हुन्छन् । यदि ७० लाख युवाको परिवार औसतमा ३ जना मान्ने हो भने २ करोड १० लाख हुन्छ । यति भनेको जम्मा जनसंख्याको ७० प्रतिशत हुन आउँछ । यदि ८० लाख युवा र प्रति व्यक्तिको परिवार ३ वा ४ मान्ने हो भने पूरै देश वैदेशिक रोजगारीले पालिएको अवस्था देखिन्छ । त्यसैले ७० लाखको आँकडालाई सहि मान्न उचित हुन्छ । वैदेशिक रोजगारीहरुको खर्च यहाँ रहेका नागरिकहरुको आम्दानीको स्रोत बनेको र त्यही आम्दानीले उनीहरुको घर खर्च चलेको देखिन्छ ।

आर्थिक बर्ष ०७५÷७६ अनुसार मुलुकमा बिदेशबाट करिब ९ खर्ब रेमिट्यान्सभित्रिएको रहेछ । रेमिट्यान्सआउने अन्य माध्यम जस्तो हुण्डी, सुनचाँदीवापत आउने रकम, विद्युतीय सामाग्रीवापत आउने रकम र आफैँ आउँदा लिएर आउने रकम सरकारी लेखामा परेको देखिँदैन । त्यहि कारण सरकारी आकडाले सहि तथ्यांक दिन सकेन जस्तो लाग्छ । यदि ७० लाखको आँकडालाई लिने हो र प्रति व्यक्तीको आम्दानी औसतमा ३० हजार मान्ने हो भने प्रत्येक महिना २ खर्ब १० अर्ब रेमिट्यान्सनेपाल भित्रिने देखिन्छ । यो भनेको बार्षिक २५ खर्ब २० अर्ब हो । यसैलाई आधार बनाएर नेपालको बजेट बनाएको देखिन्छ । यदि वैदेशिक रोजगारी ठप्प हुने हो भने नेपाल कसरी चल्छ ? कल्पना गर्नै गारो हुने अवस्था छ । यसरी देश नै रेमिटेन्समा भर पर्नु खतरनाक कुरा हो । यस बिषयमा देशका नागरिक र सरकार मौन भएर बस्नु सबैको लागि घातक सावित हुने छ ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण योगदान पु¥याइरहेको छ । बैंक क्षेत्रको साधन परिचालनमा यसले महत्वपूर्ण योगदान पु¥याएको छ । वास्तवमा भन्ने हो भने निक्षेपको मुख्य स्रोत नै रेमिट्यान्स बनेको छ । जति पनि व्यवसाय, उद्योग, कलकारखाना चलेका छन्, सबैको मुख्य स्रोत भनेकै रेमिटेन्स हो । रेमिटेन्स प्राप्त गर्ने तिनै नागरिकले गरेको खर्चले यहाँ रहेका नागरिक बाँचेका र हाँसेका छन । त्यही रेमिटेन्सले यहाँको बजार चलेको छ । यसरी हेर्ने हो भने नेपालका ९९ प्रतिशत जनता रेमिटेन्समा निर्भर रहेको पुष्टि हुन्छ । कुनै पनि देशका यतिका नागरिक वैदेशिक आम्दानीमा निर्भर हुनु सबैभन्दा डरलाग्दो विषम परिस्थिति हो ।

बिदेशी मुद्रा कसरी आउँछ त्यो महत्वपूर्ण कुरा हुँदो रहेछ । वस्तु निर्यात गरेर आएको मुद्रा, सेवा निर्यात गरेर आएको मुद्रा, दक्ष जनशक्ति प्रयोग गरेर आएको मुद्रा जति धेरै आउँछ त्यति राम्रो हो । तर नेपालमा वैदेशिक रोजगारीबाट जसरी आएको छ, त्यसरी आउनु देश र जनताको लागि हानिकारक छ । सरकारको उद्देश्य उत्पादित वस्तुको निर्यात बढाउने र वैदेशिक रोजगारी घटाउनेमा जोड दिनुपर्ने हो । तर यसको बिपरित कार्य भएको छ ।

नेपाली समाजलाई हेर्ने हो भने बिदेश नगएको टोल छैन । रोजगारीको आँकडाअनुसार प्रत्यक ३ घर बराबर दुई घर वा प्रत्यक ३ जना मध्ये दुई जना बिदेश गएकै छन् । बैदेशिक रोजगारीमा जानु रहरभन्दा बाध्यता भएको छ । बिदेश अनेक सपना बोकेर गएका हुन्छन् । कतिपयको सपना पूरा भयो होला तर धेरैको लागि सपना सपना मै सीमित हुन पुगेको छ भने केहि युवा उतै सास छोडेर आउन बाध्य छन् ।

रेमिटेन्सले देश चलेको छ भनेर खुसी हुनु भनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु जस्तै हो । यस देशको व्यवस्थाले रेमिटेन्सलाई दिगो स्रोत बनाउन खोज्नु सबैभन्दा ठूलो मुर्खता हुनेछ । यसको बिकल्प खोजिएन भने भविष्यमा ठूलो दुर्घटना निम्तिने निश्चित छ । रेमिटेयन्स नेपाली जनता र मुलुकको लागि मन्द बिष बन्दै छ । जुन बिषले एकैचोटी मार्दैन । तर प्रयोग गर्दै जाँदा एक दिन मारेरै छोड्ने छ ।

रेमिटेयन्स आउन सुरु भएपछि यहाँका खेतबारी बाझो बन्दै गएका छन् । देश परनिर्भर हुने क्रम बढ्दो अनुपातमा छ । रेमिटेन्सले यहाँका प्राकृतिक स्रोत साधनको सदुपयोग हुनबाट बञ्चित गरेको छ । घरघरबाट स्वरोजगारी छिनेको छ । उत्पादन दिन प्रतिदिन घट्ने क्रम जारी छ । उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने लगानी घर घडेरीको नाममा अचल सम्पत्तिमा फसेको छ ।

यिनै कारणहरुले गर्दा रेमिटेयन्स मन्द बिष बन्न गइरहेको छ । बेलैमा राज्यले यस बिषयमा ध्यान दिनु जरुरी देखिन्छ र बिदेशी मुद्रा आर्जनको अन्य स्रोत जस्तै निर्यात बढाउने, प्रत्येक्ष वैदेशिक लगानी भित्र्त्याउने, सेवा आय बढाउने, पर्यटन बिस्तार गर्नेतिर ध्यान दिनु जरुरी छ । रेमिटेन्स पठाउने नागरिकहरुले ‘बिदेशमा रोजगारी स्वदेशमा लगानी’ को नीतिलाई अवलम्बन गर्नैपर्ने देखिन्छ । बैदेशिक रोजगारीमा हुने नागरिकले आफ्नो कमाईको निश्चित प्रतिशत रकम स्वदेशमा लगानी गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...