दलित आन्दोलन : केटाकेटीले खेल्ने भाडाकुटी खेल जस्तो हो र ?

Shambhu rasali 23 asar 077

रुकुम लगायत नेपालको विभिन्न ठाउँमा जातीयतालाई आधार बनाएर भएको हत्या र त्यसको विरुद्धमा भइरहेको आन्दोलन अहिले सबैको चासोको बिषय बनेको छ । नेपालको राजधानी काठमाडौं भएको हुँदा अन्य जिल्ला तुलनामा यहाँ आन्दोलन बढी हुनु स्वभाविक हो । सबै राजनीतिक दल र जातजातिको आन्दोलनको केन्द्रविन्दु पनि यहि हो । अन्तिम परिणाम दिने आन्दोलन पनि यहीँबाट हुन्छ ।

सचेत नागरिक भएको नाताले आन्दोलनमा सरिक हुनु मेरो पनि कर्तव्य र दायित्व हो । त्यहीँ कारण दलित संघर्ष समितिले आयोजना गर्दै आएको आन्दोलनमा म पनि सहभागी बन्दै आएको छु । आन्दोलनमा केही मात्रामा भए पनि जनजाति साथीहरु हुनुहुन्थ्यो । उहाँहरु नभइदिएको भए आन्दोलन कस्तो र कत्रो हुन्थ्यो ? मलाई अचम्म लाग्छ । आन्दोलनमा नेता र कार्यकर्ता मात्रै भएको महसुस मलाई भयो । जनता नै नभएको आन्दोलनलाई के आन्दोलन ? मेरो मनमा यस्तै कुरा खेल्दै थिए ।

आन्दोलन किन यति कमजोर भयो ? दलित आन्दोलनले किन गति लिन सकेन ? आन्दोलनले किन सच्चा, बहादुर र इमानदार नेता पाएन ? कहिलेसम्म भाडाकुटी खेले जस्तै आन्दोलन गर्ने हो ? दलित आन्दोलनको नेतृत्व गर्ने साहसी नेताको जन्म कहिले हुने ? दलितहरु ज्यूँदो लास जस्तै भएर कहिलेसम्म बाच्नुपर्ने हो ? यस्ता प्रश्नले मेरो मनमा झटारो हान्दै थिए । मसँग झटारोले दिएको पीडा सहनेबाहेक अन्य कुनै विकल्प थिएन । म सहिरहे, सहिरहे । आज त्यही पीडा सहन नसकी पोख्दै छु ।

आन्दोलनले गति लिन र सफल हुन दलित वर्गको भौतिक उपस्थिति, आर्थिक सहयोग र नैतिक समर्थनको अनिवार्य खाँचो छ । आ–आफ्नो ठाउँबाट सबैको सहयोगको अपरिहार्यता छ । तर आन्दोलनमा यी कुरा देखिएन । आन्दोलन बराजुको आदेशलाई शिरोपण गर्दै आगामी चुनावको तयारी जस्तै देखिन्थ्यो । ¥याली विभिन्न दिशाबाट विभिन्न पार्टीको झण्डाले सिगारेको विवाह मण्डप जस्तै देखिन्थ्यो । विवाहमा बेहुलीलाई राम्रा राम्रा कपडाले सजाएजस्तै आ–आफ्नो ब्यानरले आन्दोलकारी सजिए जस्तै देखिन्थे । विवाहमा हुने फोटो सेशन जस्तै आ–अफ्नो ब्यानरमा फोटो लिन सबै ब्यस्त र मस्त देखिन्थे । त्यो कुराबाट म पनि अछूत हुन सकिनँ । ‘जसो जसो बाहुन बाजे, उसो उसो स्वाह’ भन्ने सुत्र मैले पनि लागू गरिरहेँ ।

आन्दोलनको नेतृत्व गर्ने नेताहरु मालिकको इमानदार सेवक जस्तै आ–आफ्नै पारामा व्यस्त देखिन्थे । कोही कोही त महामहिम नेताकै चुरिफुरीमा देखिन्थे । म उनीहरुलाई देखेर छक्क परिरहेको थिएँ । मलाई लागिरहेको थियो, यस्तो आन्दोलन र यस्ता नेताबाट के दलित आन्दोलन सफल हुन्छ ?

माथिकै कुराबाट प्रष्ट हुन्छ । आन्दोलन नाम मात्रको आन्दोलन थियो । आन्दोलन प्रचारमुखी र चुनावमुखी थियो । आन्दोलन प्रतिपक्षी पार्टीको थियो । आन्दोलन दलितको थिएन, वर्गको थिएन । थियो भने नेपाल सरकार पक्षका दलितहरु किन आएनन ? आन्दोलन किन कमजोर भयो ? यो विषयमा चर्चा गर्न जरुरी छ ।

केही सवाल जवाफ
आन्दोलन दलित वर्गको हित र अधिकार स्थापित गर्न केन्द्रित हुनुपर्छ । दलितलाई जातीय विभेदबाट मुक्ति गराउने उद्देश्यले अहिलेसम्म दलितकै नेतृत्वमा आन्दोलन भएको देखिँदैन । विभिन्न पार्टीको झोला भिरेर दलितको सवालमा आवाज उठे पनि ति आन्दोलन दलित कै लागि थिएन । आन्दोलन दलित कै लागि नभएको हुँदा जन सहभागीता कमी आएको देखिन्छ । दलितले दलितकै लागि गरेको आन्दोलनमा सबै उमेर समुहका मानिसको सहभागिता हुनुपर्ने हो । तर त्यसको लागि आन्दोलन हाम्रो हुनुपर्छ । व्यानर हाम्रो हुनुपर्छ । आन्दोलनमा राष्ट्रिय झण्डा हुनुपर्छ । हाम्रो आन्दोलन हाम्रो लागि हुनुपर्छ । यस्तो भए मात्र घर–घर र बस्ती–बस्तीबाट आम दलित आउने छन् ।

अहिलेका दलित नेता र कार्यकर्ताहरु लगाम लगाएको घोडा जस्तै पार्टीको अधिनमा छन् । उनीहरु आफ्नो दलको निर्णयअनुसार चल्न बाध्य छन् । अवसर गुम्ने डरले, आफ्नो वर्गको पक्षमा खुलेर बोल्ने आँट गर्दैनन् । बास्तव मै आन्दोलनलाई अगाडी बढाउने र हाम्रो हकहितको स्थापना गर्ने हो भने ‘दल र दलित’ मध्ये कुन रोज्छौ भन्दा म आफ्नो वर्ग रोज्छु भन्ने नेता दलित आन्दोलनले खोजेको छ । बेलाबेलामा हुने खहरे आन्दोलन पार्टीको आदेशअनुसार भएका छन् । रुकुमलगायत विभिन्न ठाउँमा भएका हत्याको विरोधमा गरिएको आन्दोलनमा विभिन्न पार्टीको झण्डा देखिनुले आन्दोलन पार्टीको प्रचार गर्न गरिएको हो कि वर्गीय मुक्ति र न्यायको खातिर गरिएको हो भन्ने कुरा बुझ्न गाह्रो छ ।

आन्दोलन सफल हुन आवश्यक्ताअनुसार भौतिक र नैतिक दुबैको आवश्यक्ता पर्छ । आन्दोलनमा प्रतिपक्षी दलका कार्यकर्ता मात्र देखिनु र सरकार सञ्चालनमा रहेका पार्टीको उपस्थितिति नहुनु नै जन विस्वासको कमी हो । आन्दोलनमा उपस्थिति नहुनेहरु आन्दोलन सफल बनाउनेभन्दा विफल बनाउनेतिर उन्मुख हुन्छन् । उनीहरुको भौतिक र नैतिक कुनै सहयोग हुँदैन । यीनै कारणहरुले दलित आन्दोलन अहिलेसम्म हुन सकेको छैन ।

आन्दोलनबाट हुनसक्ने क्षतिको व्यवस्थापनको कमीको कारण दलितहरु आन्दोलनमा आउन हच्किएका हुन सक्छन् । आन्दोलनमा हात भाँचियो, खुट्टा भाँचियो या अन्य ठूला जोखिमलाई न्यूनीकरण गर्ने योजना नबन्नु नै आन्दोलनमा सहभागिताको कमी हुनु हो । अर्को कुरा कुनै पनि कार्यका लागि आर्थिक पक्षले ठूलो भुमिका खेलेको हुन्छ । त्यो कुरा नहुँदा जन सहभागीतामा कमी हुन्छ । भौतिकरुपले उपस्थिती हुन नसक्नेहरुले धेरै थोरै आर्थिक सहयोग गरेर कोष बनाउन सक्ने हो भने आन्दोलनले पक्कै गति लिने छ ।

आन्दोलनमा जनसहभागिताको लागि सपना देखाउने नेताको आवश्यक्ता पर्छ । जबसम्म आन्दोलनको औचित्यको बारेमा जनता सचेत हुँदैनन्, तबसम्म उनीहरु आन्दोलित हुँदैनन् । आन्दोलनको महत्व र त्यसबाट आउने लाभको बारेमा सपना देखाउने नेता नभएको कारण दलित आन्दोलन हुन सकेन ।

आन्दोलनलाई सफल बनाउन आवश्यक्ताअनुसार प्राणसम्म त्याग्न सक्ने लिडरको आवश्यक हुन्छ । त्यस्ता लिडर दलित आन्दोलनले पाउन सकेन । यदि आन्दोलनलाई उत्कर्षमा पु¥याएर अधिकार लिने हो भने जेलनेल, अंगभंग र बलिदानसम्म दिन सक्ने नेताहरुले मात्र जनसहभागिता गराउन सक्ने छन् । जबसम्म यस्ता व्यक्ति भेटिँदैन, तबसम्म आन्दोलनले उचाई लिन सक्दैन ।

प्रतिकृया दिनुहोस