हरिशयनी एकादशी : हिन्दु धर्म इतर व्यक्तिले किन महिनाको दुईपटक ब्रत बस्छन् ?

Bishnu khanal

ॐ अग्ने व्रतपते व्रत चरिष्यामी तच्छकेयं तन्मे राध्यताम् । इदमहमनृतात् सत्यमुपैमि !!

अर्थात, ॐ र अग्निको प्रार्थना गर्दै ए व्रतका पालक स्वामी परमेश्वर ! अबदेखि व्रत (सद्वयवहार) मात्र गर्नेछु । त्यो पूरा गर्न सकुँ । अब म असत्य छोडेर सत्य पाउँछु सत्यतिर लाग्छु । व्रतको सामान्य अर्थ नियम हो । व्रतको माध्यमले पर्म सत्य प्राप्त हुन्छ भन्ने कुरा त (यजु.१९/३०)ले पनि प्रस्टाएको छ ।

विष्णु पुराण (६/२/१५) जुनफल सत्ययुगमा दसवर्ष तपस्या, ब्रह्मचर्य त्रीसन्ध्या जप आदि गर्नाले मिल्छ । त्रेतामा एक वर्षमा, द्वापरमा एक महिना र कलियुगमा निष्ठापुर्वक एक अहोरात्र गर्दा मिल्छ । त्यसैले पनि भगवान प्राप्तिका लागि कलियुग उत्तम छ । तिथिमा एकादशीलाई उत्तम मानिएको छ । एकादशी भगवान विष्णुको विशेष तिथि हो ।

सामान्यतया यी वर्षमा २४ वटा पर्दछन् । अधिकमास परेको वर्ष २६ वटा हुने गर्छन् । तीनै मध्येको एउटा हरिशयनी एकादशी पनि हो । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीलाइ देवशयनी र पद्मा पनि भन्ने गरिएको छ । हाम्रो लोक भाषामा असारे ठूली एकादशी पनि भनिन्छ ।

यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष यसै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनुहुन्छ भन्ने जनविश्वास छ । यसै दिनदेखि चातुर्मास व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ’हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ’प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ ।

यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् । यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ । किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ ।

यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ । व्रत बस्ने व्रतालुले अघिल्लो दिनदेखि नै शुद्ध सात्विक भोजन गर्नुपर्दछ । एकादशीको दिन बिहानको स्नान जपनित्य कर्म सकी व्रतको संकल्प लिनुपर्दछ । संकल्पमा आफ्नो शरिरले धान्ने अनुसार नियम बाध्नु पर्दछ । नियम भङ्ग भएमा व्रत भङ्ग हुनेछ । म चोखो हुँ कि बिटुलो जुनसुकै स्थितिमा होउँ ।

श्री पुण्डरिकाक्षलाई सम्झेर चोखो सर्वत्र नै बनु भनी सम्झनु पर्दछ । सबै एकादशीका दिनमा भगवान विष्णुको पूजा–आराधना गरिन्छ । परन्तु यस एकादशीको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ । यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचारसहित पूजन गरी तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला बस्त्र र पहेलै सलले सजाइन्छ । पञ्चामृतद्वारा स्नान गराएर त्यसपछि भगवानलाई धूप, दीप, नैवेध, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान, सुपारी अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ :

सुप्ते त्वयि जगन्नाथ जगत्सुप्तं भवेदिदम् । विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम् !!

अर्थात् हे जगन्नाथ ! तपाई निद्रित भएपछि सम्पूर्ण विश्व निद्रित हुन पुग्छ र तपाई जागा हुँदा सम्पूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।

यसरी प्रार्थना गरेर भगवान विष्णुको पूजा गर्नुपर्छ । त्यसपछि ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले भोलिपल्ट द्वादशी तिथि लागेपछि निर्जल गरेको छ भने जलबाट जल लिएर फल लिएको छैन भने फलबाट व्रत पार गर्नु पर्दछ । रात्रिकालमा भगवानको मन्दिरमा नै बस्नुपर्छ तथा भगवानको भजन र स्तुति गर्नुपर्छ । आफू स्वयं बस्न नसकी सुत्नु परेमा सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनुपर्छ । यस दिन अनेक परिवारमा महिलाहरु पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । यी चार महिनाका लागि आफ्नो रूची अथवा अभीष्टअनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ । मधुर स्वरका लागि गुड, दीर्घायु अथवा पुत्र पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति तोरीको तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादी भोग आदि त्याग्नुपर्छ ।

देह शुद्धि वा सुन्दरताका निम्ति परिमित प्रमाणको पंचगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्न एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । साथै चातुर्मासीय व्रतमा केही वर्जना पनि छन् । जस्तै पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही भात आदिको भोजनादि । मूला, परवल एवं भेन्टा आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् ।

आफ्ना आधारभुत आवस्यकतालाई पर सारी कायिक बाचिक मानसिक रुपमा आफ्ना आर्धय देवमा समर्पण भाव प्रकट गरिन्छ । भजनमा नभएर भोजनमा मन गएमा व्रत सारभुत हुँदैन । दश इन्द्रिय र मन गरेर एघार यी सबैलाई भगवानको सेवामा समर्पण गर्नु नै व्रतको मुल उदेश्य हो । आजकै दिन तुलसी देवीको रोपण पनि गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखी हरिशयनी एकादशीका दिनमा मठमा सारिन्छ ।

तुलसी देवीभक्ति ज्ञान र वैराग्यको केन्द्रविन्दु हुनुहुन्छ । वेद पुराण र अरु धार्मिक शास्त्रले साथै आधुनिक विज्ञानले पनि तुलसीको महत्व बुझी मुक्त कष्ठले प्रशंसा गरेका छन् । आयुर्वेदमा तुलसीलाई महौषधीको रुपमा लिइएको छ ।

यसरी यहाँ हेर्दा हामीले यो हिसाबले पनि प्रस्टाउन सक्छौ । मनुष्यको शरीर ब्रह्माको नगरी हो।यश ब्रह्माण्डमा पनि नवग्रह छन् र यी नवग्रहले प्रतिपल हाम्रो जीवनमा प्रभाव पारिराखेको हुन्छ । मानसिक र शारीरिक शुद्धता भएमा सबै ग्रहको राम्रो किरण मात्र प्राप्त हुन्छ । भागवत गीता (३÷११) मा भनिएझै सबैकुरा भगवानलाई अर्पण गरेर मात्र लिनेगर्नाले अहम् भाव नष्ट हुन्छ ।

यसरी हेर्दा हामीले जानेर गरे पनि नजानेर गरे पनि एकादशी उपवास गर्दा फाइदा नै हुन्छ । जुन कुरा विज्ञानले पनि पारित गरेर हाम्रो धर्म इतर व्यक्तिले पनि शारीरिक शुद्धताका लागि महिनाको दुइपटक ब्रत बस्ने पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...