लद्दाखमा बढायो भारतले सेनाको संख्या

India army pti

काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच लद्दाखमा भएको भीडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थप गरेको छ ।

चीनसँगको सम्भावित युद्धलाई दृष्टिगत गरी आन्तरिक तयारी तीव्र पारेको भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सीमा क्षेत्रमा लगिएको छ । अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लद्दाखमा पनि थप सैनिक लगिएको छ ।

भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको बताइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण गरिसकेका छन् । श्रीनगरमा रहँदा भारतीय हवाई सेना प्रमुख भादुरियाले हवाई सैनिक अधिकृतहरुसँग बैठक राखेका छन् ।

भादुरियाको भ्रमणलगत्तै भारतले सीमावर्ती क्षेत्रमा हुने सम्भावित भिडन्तलाई मध्यनजर गर्दै युद्धक विमान तयारी अवस्थामा राखेको बताइएको छ । भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस