राजसंस्थामा जस्तै जनता गणतन्त्रमा पनि खुशी छन् की छैनन् ? एकपटक सोचौं त

Ganga g 19

नेपालको इतिहासमा यो निकै सम्झनायोग्य दुःखद् दिन हो । २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड भयो । तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवसहित रानी र उनको परिवारको हत्या भएपछि देश शोकमा डुबेको थियो । १९ वर्ष बितिसक्दा पनि न त घटनाको छानबिन भएको छ, न त राजा बीरेन्द्रले देश र जनताका लागि गरेजस्तो योगदान अरुले नै गर्न सके ।

तत्कालीन राजाको हत्या सम्झँदा अझैं पनि मानिसका आँखा रसाउँछन् । घटनाको छानविन गर्न प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित टोलीले बुझाएको प्रतिवेदनका कारण रानाभाट पनि चर्चामा रहे । यो कुरालाई सकारात्मक र नकारात्मक दुवै ढंगले हेनुपर्दछ । उनको प्रतिवेदनमा रटटटट.... र भटटटट.... गोली चलेको उल्लेख गरिएको थियो ।

दरवार काण्डपछि राजसंस्थाले गति लिन सकेन, यसको कारण संस्था कमजोर वा गलत भएर होइन । वीरेन्द्रको अभावपछि उनका माइला भाई ज्ञानेन्द्रले शासनसत्ता कब्जामा लिए । यतिसम्म कि मन्त्रिपरिषद्को अध्यक्षसमेत आफैं भएर सरकार चलाए । ज्ञानेन्द्रले आफूलाई ३ वर्षसम्म समय मागेका थिए । तर राजनीतिक परिवर्तनले गर्दा उनले मागेजति समय शासन गर्न पाएनन् ।

ज्ञानेन्द्र सधैं आलोचित
ज्ञानेन्द्र सधैं आलोचित बन्न पुगे । उनको प्रतक्ष्य शासनमा न त उनले जनतासँग सम्वन्ध राम्रो राख्न सके, न त उनले चालेका कदमले देश र जनताको हितमा कुनै पाइदा भयो । मुख्य कुरा दरवार हत्यकाण्डमा ज्ञानेन्द्रकै दोष देखाइयो । १९ वर्ष बितिसक्दा पनि घटना के र कसरी भयो भन्ने अझैं पनि सत्य तथ्य आउन सकेको छैन ।

वीरेन्द्र देश र जनताप्रति अत्यन्तै चिन्तित भएकाले कहिल्यै पनि अरुको अहित हुने गरी काम गर्दैनथे । कुनै पनि विदेशी शक्तिसँग नझुक्नु नै उनको कमजोरी भएको र कुनै शत्रु पक्षले आफूलाई फाइदा नहुने भएपछि वीरेन्द्रको हत्या गरेको भन्ने पनि विश्लेषण छ । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु आफ्नो देश र जनताको पक्षमा हित हुनेगरी काम गर्नुभन्दा पनि विदेशीका लागि काम गर्छन् र देशलाई नै बन्धक बनाउँछन् भन्ने उदाहरण प्रशस्तै देख्न पाइन्छ ।

देशलाई नै बेचेर आफ्नो राजनीतिक र सत्ता बचाउने स्वार्थ पूरा गर्न खोज्नु कति उत्तम हो यो पनि छलफलको विषय बनेको छ । कडा सुरक्षाका बीच दरवारभित्र रहेको राजपरिवारको बंश नै सखाप हुने गरी कसरी यो र यस्तो कहालीलाग्दो घटना भयो, भन्ने विषय अझै पनि प्रश्नै प्रश्नले घेरिएको छ । वीरेन्द्र भने बेला मौका देश दौडाहा गर्ने र जनताको सुख दुःख बुझ्ने दुरगामी व्यक्तिका रुपमा चिनिन्थे । उनी प्रत्येक गाउँमा र ठाउँमा गएर जनताको वास्तविक पीडा के रहेछ भनेर बुझ्ने गर्दथे । तर ज्ञानेन्द्र भने त्यसको ठीक उल्टो दिशातिर लागे । दरवारबाहिर पनि जनता छन् भनेर दरवारको गेटभन्दा माथि उठ्न सकेको भए उनको अहिले यो हालत हुने थिएन ।

साँघुरो घेराभित्र रमाउने र आसेपासेको मात्र कुरा सुन्ने गरेका कारण नै ज्ञानेन्द्रको दिनगन्ती सुरु भएको हो भनेर बुझ्न सकिन्छ । उनले आफ्नो मन्त्रिमण्डलमा पनि नेपाल छोडेर धेरै समय बाहिर बसेका र नेपालको भन्दा उताकै माया बढी भएकालाई जिम्मेवारी दिए । एकपछि अर्को आलोचना खेप्दै आए पनि उनले त्यसलाई कुनै वास्ता गरेनन् । अन्त्यमा संविधानसभाको पहिलो बैठकबाट जेठ १५ गते नेपालमाा गणतन्त्र घोषणा भयो र सुविधासम्पन्न दरवार छोडेर नागार्जुनतिर जान बाध्य हुनुप¥यो ।

विकल्प राजसंस्था कि गणतन्त्र ?
राजनीति शास्त्रको सिद्धान्त र विश्लेषण पुस्तकमा डा. बुद्धिप्रसाद भण्डारीले अरुको कामलाई प्रभावित पर्ने अथवा निर्देशन दिन औचित्यपूर्ण अधिकारलाई सत्ता भनिन्छ भनेर लेखेका छन् । उनले सत्ताले आज्ञा दिन्छ र आज्ञा पालना गराउँछ जसले यस्तो आज्ञा उल्लंघन गर्छ उसलाई सत्ताले दण्ड दिन्छ भनेका छन् । तर आदेशमात्र गर्ने अनि कर्तव्य पालना नगर्ने सत्ताको व्यवहार भने कसैलाई पनि मन पर्दैन । रुसोले जतिसुकै शक्तिशाली पनि बललाई अधिकारमा र आज्ञा पालनलाई कर्तव्यमा नबदली सधैं मालिक भइरहन सक्दैन भनेका छन् ।

शक्तिमा रहँदा जो पनि आफ्नो प्रभाव जमाउन सक्छ र सत्ता र शक्ति खुस्केपछि उ सधैं अल्पमतमा पर्दछ र विगत सम्झन बाध्य हुन्छ । जो सत्तामा हुन्छ, उ सधैं आलोचित हुन्छ । सत्तामा हुँदा सर्वत्र हाईहाई हुने मानिस कमै मात्र हुन्छन् । जनताका धेरै चाहना भएकाले ती सबै ईच्छा पूरा गर्न सत्ताले सक्दैन पनि तर जसले जनतालाई न्यूनतम सेवा पनि दिँदैन । उसको भविष्य धमिलो हुने गर्दछ । भनिन्छ सत्ता अन्धो हुन्छ । नभन्दै अहिलेसम्मको अवस्था हेर्दा पनि त्यस्तै देखिन्छ । नेपालको राजनीतिको कुरा गर्ने हो भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरे पनि हुन्छ । सरकारमा नआउँदासम्म राम्रो र मीठो कुरा गर्ने उनले अहिले राष्ट्रवादी छवि र चरित्रलाई सरकारको कुर्सीसँग साटेका छन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा केही गरेजस्तो गरेका उनले अहिले भने आफूलाई कलंकित मात्र बनाएनन्, जनताको आशा र भरोसामा नै प्रहार गरेका छन् । जनताले जसरी मत दिएका थिए, त्यसको अवमूल्यन गरिँदा पनि उनी न त कसैको त्यो कुरा सुन्छन्, न त सप्रिएर नयाँ ढंगले जाने सोच नै राख्छन् । हिजो कांग्रेसले सरकार चलाउँदा पनि त्यही भएको थियो । ज्ञानेन्द्रले शासन गर्दा जति बदनामी हुनुपरेको थियो । उनको सत्ताच्यूत भएपछि भने त्यसमा अलिकति विरोधीको मात्रा कम भएको छ । त्यसो भन्दैमा के अब अहिलेको राजनीतिक व्यवस्था अफापसिद्ध भइसकेको हो त ? यो प्रश्न पनि आउँछ । हुन त विकल्परहित केही पनि हुँदैन, शासनमा बस्दा जसले केही गर्न सक्दैन । उसले भविष्यमा पछुताउनुबाहेक अरु बिकल्प छैन ।

अहिले फुर्सद भएका ज्ञानेन्द्र मठ मन्दिर दर्शन गर्न मै व्यस्त छन् । उनी जहाँ भए पनि अघिपछि लावालस्कर हुन्छन् । यसको अर्थ उनी असल र राम्रो शासक भएर भन्दा पनि दलका गलत गतिविधि नै हो भन्न सकिन्छ । हिजो पनि उनी देश डुलेका भए, सर्वसाधारणसँग फोटो सुट गरेका भए अरुलाई अटो भरिदिएका भए शायदै उनका विपक्षमा मानिस हुने थिएनन् र दरवारबाट निस्केर नागार्जुनतिर जाँदा पक्कै बाटो छेक्थे होला उनीहरुले । आज गणतन्त्र आएको १३ वर्ष पुगेको छ । जनताले गणतन्त्र आएपछि के के न पाउँछन् भनेर भनिन्थ्यो, होला नि त भनेर आशा गर्नु स्वभाविक थियो तरपनि जनताका पक्षमा केही काम नभएकाले बरु राजसंस्था नै ठीक हो कि पनि भन्न थालेका छन् ।

राजा र राष्ट्रपतिमा के फरक ?
हिजो राजाको शासन थियो । तर अहिले राष्ट्रपतिको शासन छ । फरक यति छ कि राजा राजदरवारमा बस्थे, अहिले राष्ट्रपति शितलनिवास दरवारमा बस्छिन् । यी दुई बीचमा शब्द, नाम र पदमा केही फरक त पाइन्छ । तर खासगरी नियालेर हेर्ने हो भने आचरण, व्यवहार र ढर्रामा भने खासै भिन्नता पाइँदैन ।

राजा जुन उत्सव र पर्वमा जहाँजहाँ गएर दर्शन र पुजाआजा गर्थे अहिले राष्ट्रपति पनि त्यसै गर्छिन् । उनीमात्र होइन नेपालका पहिलो राष्टपति रामवरण यादवको बाटो पनि त्योभन्दा फरक थिएन । यति चाँही भन्न सकिन्छ कि यादव जनतालाई दुःख दिएर आफूले बढी रमाइलो गर्नुहुँदैन । सडकमा हिँड्दा जन्तिको लामजस्तो तमासा देखाउनु हुँदैन भन्थे । तर राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधि र अहमताले आफूलाई मै हुँ भन्ने राजालाई पनि समेत बिर्साइदिएकी छिन् । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला पूर्वराजा भन्ने पक्षमा छैनन् । उनी पूर्व राजा र पश्चिम राजा भन्ने नहुने स्पष्ट पार्छन् । राष्ट्रपतिको सडकयात्रा देख्दा लाग्छ थुक्क गणतन्त्र । आखिर व्यक्ति परिवर्तन हुँदैमा के शासन राम्रो भयो त ? पक्कै होइन ।

लोकतन्त्र, गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र र अन्य जुनसुकै तन्त्र आए पनि जनता सधैं दिक्दार छन् । राजा कुनै देशको औपचारिक भ्रमणमा जाँदा र फर्कदा जनताले जय जयकार गरुन्, कर्मचारी स्वागतमा अघिपछि लागुन् भनेर सार्वजनिक बिदा दिइन्थ्यो । यसलाई भने राष्ट्रपति भण्डारीले पुरै छुट दिएकी छिन् । त्यो इतिहास बिर्सेर हो कि सल्लाहकारले नसम्झाइदिएर हो, कुनै दिन त्यस्तो भयो भने पनि अचम्म मान्नुपर्दैन । एकपटकले रहर नपुगेर भण्डारी दोस्रोपटक राष्ट्रपति भएकी छिन् । संविधान संशोधन नगर्ने हो भने उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति हुन पाउँदिनन् । संविधानको धारा २९७ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी व्यवस्था छ ।

आजको नयाँ पत्रिका दैनिकमा राष्ट्रपति कार्यालयको कार्पेटका लागि १ करोड रुपैंया लाग्ने र नयाँ कार्पेट फेर्ने समाचार आएको छ । ३ वर्षअघि बनाइएको नयाँ भवनमा अहिले कार्पेट फेरिँदा यत्रो खर्च गर्नुपर्ने के अवस्था आयो ? कोरोनाको महामारीमा जनता सामान्य उपचार गर्न नपाएर अकालमा मृत्युवरण गरेका बेला राष्ट्रपति चाँही अझैं सुविधाभोगी र महत्वाकांक्षी बनिरहन मिल्छ र ? राष्ट्रपति कार्यालयका कर्मचारीले राष्ट्रपतिको कार्पेट फेर्ने चाहना नभएको प्रतिक्रिया दिएका छन् । विदेशी पाहुनालाई देखाउन मौलिकता सहितको कार्पेट अहिले नै किन बिछ्याउनुप¥यो ? जनताले विरोध गर्छन् भनेर आफ्नो आलोचना कम गर्ने खेल त होइन भन्ने सबैले बुझेका छन् । जनता निकै बाठा छन्, कसैले पनि आफ्नो कुकर्म ढाकछोप गर्छ भने त्यो झन् बढी बदनाम हुन्छ ।

जनताको तन्त्रमा जनताकी छोरो वा छोरी राष्ट्रपति भनिन्छ । जो मानिस त्यो पदमा पुगे पनि जनताको छोरो वा छोरी नै हुन्छ । नाताले कसैको बुबा आमा, काका काकी, मामा माइजु, दाजु भाई, सानिमा सानाबुबा वा अरु कुनै नाता सम्वन्ध पर्छ होला । राजा पनि मान्छे नै थिए । तर उनी एउटा निश्चित सिस्टमबाट आएकाले जनताभन्दा सर्वोच्च भएको जस्तो ठान्थे र तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अरु जिम्मेवारले भने साँच्चै देश र जनता सम्झेर सकेसम्म उनीहरुकै हित हुने गरी काम गरे हुने हो तर त्यो कल्पनामा मात्र सीमित होलाजस्तो छ ।

प्रतिकृया दिनुहोस