गुम्यो लक्ष्मीको सहारा : तीनबर्ष अघि पतीको मृत्यु, छोरी अपाङ्ग, अर्को छोरा मलेसिया अलपत्र

Rukum cause

जाजरकोट । तीनवर्ष अघि पति गुमाएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनारमाथि अर्को बज्रपात परेको छ । जेठ १० गते रुकुमपश्चिमको चौरजहारीमा भएको घटनामा लक्ष्मीले प्राणभन्दा प्यारो छोरा गुमाइन् । छोराको त्यही शोकमा अहिले उनको भोक र निन्द्रा हराएको छ।

चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा उनले १९ वर्षीय छोरा लोकेन्द्रलाई गुमाइन्। घटना भएको र छोरो हराएको खवरले उनको मन चसक्क घोचेको थियो । तर, पनि दुई दिनसम्म लक्ष्मीलाई लागेको थियो, छोरा कतै टुप्लुक्क आइपुग्छ कि १ पौडी खेल्न माहिर छोरा न पौडिएर कतै लुकेर पो बसेको छ कि ! लक्ष्मीको मनमा झिनो आशाको दियो बलिरहेको थियो । तर, १४ जेठ दिउँसोको खबरसँगै त्यो आशाको त्यान्द्रो पनि चुँडियो ।

लोकेन्द्रको शव भेरी नगरपालिका–१२ स्थित नदी किनारमा भेटियो । त्यसपछि उनी बेहोस् भएर लडिन्। होस खुले पनि उनी शोकमा इन्तु न चिन्तु छन् । दिनभर टोलाई रहन्छिन् । दुर्घटनाले पतिको ज्यान लियो, साथीसँग गएको छोरालाई जातीय विभेदको घटनाले । आर्थिक अवस्था निकै कमजोर भएको लक्ष्मीको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँथ्यो । तर सँधै त्यसरी चल्दैन भन्ने निश्कर्ष पुगेपछि उनीहरूले जेठो छोरा रामबहादुरलाई विदेश पठाउने निर्णय गरे ।

ऋण गरेर रामबहादुर मलेसिया पुगे । छोरो मलेसिया पुगेको केही महिनामा यता आमा लक्ष्मीको जीवनमा ठूलो बज्रपात आइलाग्यो । २०७३ फागुनमा सदरमुकाम खलंगाबाट नेपालगञ्जका लागि छुटेको बसमा चढेर घर फर्किँदै गरेका लक्षेले घर पुग्न पाएनन् । उनी चढेको बस बीच बाटोमै भीरबाट पासागाड खोलामा खस्यो । उनको घटनास्थलमै मृत्यु भयो। उनीसँगै रहेकी पाँच वर्षीया छोरी गम्भीर घाइते भइन् ।

उनी अहिले अपांग जीवन बाँचिरहेकी छन् । उनकाअनुसार छोरीको उपचारका लागि चारलाख रूपैयाँ खर्च भइसक्यो । तर, उनी पूर्णरूपमा सञ्चो भइनन् । जेठो छोरा रामबहादुर विदेश जाँदा लिएको ऋण पनि तिर्न बाँकी छ । ‘केही कमाइकाज होला भनेर छोरालाई ऋण गरेर विदेश पठाएका थियौं, ऊ गएपछि यता पतिको ज्यान गयो । त्यही बेलाको ऋण पनि तिर्न सकेका छैनौं,’ लक्ष्मी भन्छिन् ।

कान्छो छोरा लोकेन्द्र लक्ष्मीको जीउने आधार थिए। रुकुममा मारिएका नवराज विक र लोकेन्द्र दुई बहिनाका छोराहरु हुन् । दाई नवराजको आग्रहमा गएका थिए लोकन्द्र त्यसदिन । लक्ष्मीलाई पनि लाग्छ उनीहरूलाई कि मारेर फालिएको हो कि कुटेर पौडिनै नसक्ने गरी । १४ जेठमा भेटिएका लक्ष्मीका छोरा लोकेन्द्रको शवले पनि यही भन्छ । शव टाउकोमा ठाउँ–ठाउँ चोट लागेको र हात बाँधिएको अवस्थामा भेटिएको थियो ।

‘भेरीको छालमा हुर्केको हो । पौडी खेलेर वारपार गर्‍थ्यो । जिँउदै भेरीमा फालेको भए त तरेर आउँथ्यो होला । मेरो छोरालाई उनीहरूले मारेरै फालेका हुन्’, लक्ष्मी भन्छिन, ‘हात बाँधेको अवस्थामा लास भेटियो, अपराधीले सजाय पाउन ।’ बाबुको दुर्घटनामा मृत्यु भएपछि लोकेन्द्रको पढाइले पनि निरन्तरता पाउन सकेन । विदेश गएका दाइ अलपत्र परेपछि घरव्यवहार धान्ने जिम्मा उनको काँधमा आइलाग्यो । आमा लक्ष्मीले फेरि ऋण गरिन् र, लोकेन्द्रलाई सुनचाँदीको काम सिक्न सुर्खेत पठाइन् ।

नौ कक्षासम्म पढेका लोकेन्द्र केही समय पहिले सुनचाँदीको काम सिक्न सुर्खेत पुगेका थिए । काम सिक्दै थिए। काम सिकेर आमालाई र बहिनीलाई सुुखसँग पाल्छु भन्थे लोकेन्द्र । लक्ष्मीले भनिन्, ‘बरु म अभागीलाई कालले लिए हुन्थ्यो ।’ लकडाउनकै हुनु अगावै लोकेन्द्र सुर्खेतबाट जाजरकोट घर फर्किएका थिए । तीन वर्षअघि मलेसिया पुगेका लक्ष्मीका जेठो छोरा रामबहादुर त्यहाँ अलपत्र छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस