कालापानीले छोपेको कहर : राजनैतिक घटनाक्रममा ईन्डिया फ्याक्टरको निर्णायक रोल

Bhuwan kumar wagle 2 14

विश्वभर कोरोनाको ताण्डवले पचासौं लाख मानिस सास फेर्न संघर्षरत छन् । बाँकी विश्व जनसंख्या यही संक्रमणको डरले कुना पसेको छ, ज्यान बचाउन । भ्याक्सिन बनाउन वैज्ञानिक लागिपरेका छन्, लासहरूको चाङ लागेको छ । हाम्रो मातृभूमि धनकुटामा समेत अस्पतालबाट शुरूवात भएर समुदायस्तरमा यो फैलिएको आशंका छ । लामो लकडाउनले विश्वकै आर्थिक अवस्था क्षतविक्षत छ ।

यस्तो वेलामा मौका छोपी छिमेकी भारतले रक्षा मन्त्रीवाट हाम्रो भुमिमा सडक उदघाटन गरी हामीलाई प्रेसर बढाउने विषय थोपरिदिएको छ । नेपाल सरकारको कुटनैतिक प्रयासको लज्जास्पद र भुत्ते जवाफ दिएपछि विकास भएका मनिषा कोईराला, नयाँ नक्साबारे मन्त्री परिषदको निर्णय, प्रधानमन्त्रीले संसदमा दिएको साहसिक एैतिहासिक वक्तव्य र मिडियामार्फत भारतीय संस्थापनको तिलमिलाहट लगायतका विकसित घटनाक्रमबारे सबै जानकार छौं । सुचना प्रविधिको यो जमानामा सुचनाको तीव्रता भए पनि विचार पक्ष अलि कमजोर भएको महसुस गर्दै यस लेखमा म यी घटनाक्रमबारे केही तथ्य केलाउन चाहन्छु ।

सबैभन्दा मुख्य त भारतीय न्युज टेलिभिजन बहसहरू, नेपाल मामलामा विज्ञ भनिएका भारतीय पूर्वराजदुत, पूर्व सचिव, सैनिक जनरल, प्रोफेसरहरूका भनाई, भाजपा, कांग्रेस नेताहरूका ट्वीटहरूको श्रृंखलाहरू हेर्दा भारतीय संस्थापनको नेपाल, नेपाली, नेपाली इतिहासलाई हेर्ने दृष्टिकोण र नेपालको मुख्यतः चीन–भारत युद्धकाल १९६१ देखि आजसम्मका राजनैतिक घटनाक्रममा ईन्डिया फ्याक्टरको निर्णायक रोल नेपाली जनस्तरसम्मै खुलासा भएको छ । यसको विचार पक्षलाई केलाउँदा सदियौंदेखिको जनस्तरमा राजनैतिक, सामाजिक धार्मिक र रोटीवेटी र रगतको नाताको मन्त्र जपेर आफ्नो सामरीक हितको नाममा नेपालीहरूको भाग्य र भविष्यमा भारतले कत्रो धोखाघडी गरिरहेको रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।

नेपाल भारतको निम्ति एउटा गरीव, सोझा र निमुखा जनता बस्ने कमजोर मुलुक हो । भारतको निम्ति न यो ठूलो बजार हो, न यो सानो मुलुकले भारतीय अर्थव्यवस्था र समाजमा कुनै ठूलो प्रभाव पार्न सक्छ । यस मामलामा भारतलाई कुनै चासो छैन । उसले औपनिवेशिक कालको दक्षिणा स्वरूप वर्षेनी केही हजार शुरा बहादुर लडाका पाइरहेको छ, जसले पाकिस्तानका गोलीहरू छातिमा थापेर उसको सीमा बचाईदिई राखेका छन । हाम्रा दाजुभाईहरूले धनाढ्य भारतीयहरूका गेट कुरिरहेकै छन् । विहार युपी र बंगालका भिखारीहरूले नेपालका मन्दिरहरूमा भिख माग्न पाएकै छन् । भारत नेपाल सीमामा वारी पारी बिहेवारी, वैध अवैध व्यापार भइरहेका छन । भारतलाई यी विषयमा खास चासो छैन ।

नेपालमा भारतको मुख्य चासो रणनीतिक र सामरीक हो । भारतका दुई चीर शत्रु पाकिस्तान र चीन हुन् । भारत पाकिस्तानलाई घृणा गर्दछ भने चीन महाशक्ति बनेकोमा डाह गर्छ । भारत–चीन युद्ध र भारतको शर्मनाक पराजयपछि भारतको हिमालयको काखमा रहेका र चीनसँग सीमाना जोडिएका बर्मा, भुटान, सिक्किम, नेपाल, जम्मु काश्मिर र पाकिस्तानमा आफु अनुकुल वातावरण निर्माण गर्न र चीनविरूद्ध किल्लाबन्दी गर्न एउटा नीति बनायो । त्यही नीतिअनुरूप उसले नेपालसँग १९५० को असमान सन्धि गर्यो, पाकिस्तान टुक्राएर बंगलादेशलाई स्वतन्त्र देश बनायो, सिक्किमलाई तिगडम गरेर भारतमा बिलय गरायो, काश्मिर र सिक्किममा पूरा हातहतियार र सेना थुपार्यो । भुटानको लगभग सार्वभौमिकता नै हातमा लियो, बर्मामा बिद्रोह गरायो । पाकिस्तानसँग निरन्तर युद्ध र घृणित प्रचार चलिरहेको छ । पाकिस्तानले काश्मिरमा र खालिस्तानी विद्रोह प्रायोजन गर्छ भने भारतले बलुचिस्तानमा बिद्रोहमा लगानी गर्छ ।

यसभन्दा अघि बढेर भारतले तिब्बती बौद्धगुरू दलाई लामालाई शरण दिई खम्पा बिद्रोही र तिब्बती पृथकतावादीलाई पनि सहयोग गर्न शुरू गरेपछि नेपाल भारत र चीनको प्रोक्सी रणभुमि भएको हो । चीनले पनि आफ्नो एक चीन नीतिअन्तर्गत भारतीय गतिविधि नियाल्ने र नेपालको शासकलाई दवाव दिने गरिआएको छ । राजा वीरेन्द्रले नेपाललाई असंलग्न आन्दोलनको अभियन्ता बनाउनु र शान्तिक्षेत्रको प्रस्ताव ल्याउनुको पछाडि र भारतले यसमा असहमति जनाउनुको पछाडि यही खेल थियो, जसले नेपालमा भारतीय सैनिक गतिविधि अवैध बनाईदियो ।

कालापानी सैनिक पोष्ट त्यतिबेलादेखिकै अवशेष हो ।

निर्जन हिमाली र विकट क्षेत्र भएको र राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्धमा चिसोपना भएकोले भारतलाई नचिढ्याउन नेपाली पक्षले यसलाई नजरअन्दाज गर्यो । यो विषय महाकाली सन्धिताकादेखि चर्चामा आएको हो र अहिले यो अर्को उत्कर्षमा पुगेको छ ।

यहाँदेखि नै भारतले नेपालको राजतन्त्रलाई आफ्नो सामरीक रणनीतिको प्रधान शत्रु मान्यो । यसको सुदृढ विदेशी कुटनीतिक सम्बन्ध, भारतीय हिन्दूहरूको आस्थाको धरोहर, भारतीय रजौटाहरूसँगको पारिवारिक सम्बवन्धका कारण यो बलियो थियो । त्यसैकारण भारतले नेपालमा राजतन्त्रको बिरोधी र प्रजातन्त्रको पक्षधरहरूलाई सहयोग र समर्थन गर्न शुरू गरेको देखिन्छ । पछि आएर चीन शक्तिसम्पन्न भएर आएपछि अमेरीका र भारतको चीन नीतिमा सहमति भएकोले र अमेरिकाले नेपाललाई भारतीय चश्माले हेर्न शुरू गरेपछि यो हस्तक्षेप झन पेचिलो भएर आयो ।

यथार्थ तथ्य र प्रमाण नभए पनि २०४६ को प्रजातन्त्र, माओवादी युद्ध, राजा वीरेन्द्रको बंशनाश, २०६२÷६३ को आन्दोलन मधेशी आन्दोलन लगायतका ऐतिहासिक घटनाक्रममा ईन्डिया फ्याक्टर निर्णायक थियो र उसको जानकारी बिना यो विकासक्रम सम्भव थिएन भन्ने जोसुकैले अनुमान लगाउन सक्छ ।

नेपालको संविधान भारतीय सहमति बिना जारी हुनु, भुकम्पले थलिएका नेपालीहरूलाई नाकाबन्दी लगाईनु र त्यसबिरूद्ध केपी ओलीको सरकार दृढतापूर्वक उभिनु, नेकपा एमाले र माओवादी एकता, नेकपालाई बहुमत प्राप्त हुनु, कांग्रेस र मधेसीहरू कमजोर हुनु भारतीयहरूको मोदीमेनियाक डिस्ईन्गेजमेन्टवाट ओली र प्रचण्डले निकालेका प्रतिफल हुन्, जुन भारतीयहरूलाई मन परेको छैन । उनीहरू जसरी पनि नेकपा फुटाउन, यो सरकार गिराउन र पुनः अस्थिरता सिर्जना गर्न चाहन्छन् ।

नेपालका केही मुलधारका अनलाईन, अखबार, केही भारतीय तलवभत्ता खाने प्रष्ट चिनिएका नेता, तथाकथित अभियन्तामार्फत आएका प्रायोजित समाचार, सरकारविरोधी अभिव्यक्ति, दल फुटाउने अध्यादेश तत्काल पारित हुनु, त्यसले अचम्मलाग्दो गरी जुटाएको मधेसी पार्टी, त्यही अध्यादेशमार्फत नेकपा फुटाउने खेल एक्स्पोज भएपछि हतारमा फिर्ता लिईनु सबै घटनाक्रम भारतले चलाएको गेम अफ थ्रोन्स भनेर एक भारतीय पूर्व जर्नेलले सार्वजनिक मञ्चमा भनिसकेका छन् । उनले आफ्ना नेपालस्थित आफ्ना एसेट्समार्फत ओली सरकार गिराउने खुला घोषणा गरेका छन् ।

यही प्रकाशमा पिथौरागढ लिपुलेक सडक भारतीय रक्षामन्त्रीमार्फत उदघाटन गरेर खुल्ला चुनौती दिएपछि केपी ओली सरकारले यो कदम चालेको हो । यसले भारतको मूल रणनैतिक स्वार्थको मुलमर्ममा प्रहार गरेको छ । यही चोटको परिणाम आजको भारतीय प्रतिक्रिया हो । भारतीय मिडियालाई के थाहा छैन भने उनीहरूले भारतीय संस्थापनको चाँकडीमा यसरी समाचार बनाइरहेका छन् । तर उनीहरूको एक एक गतिविधि हरेक नेपालीले डिसहोम, केवल र सोसियल मिडियामा हेरिरहेको छ र रीसले दाह्रा किटिरहेको छ । यो भारतीय सेनामा काम गर्ने जवान, नेपाली मुलका भारतीय, नेपाल मन पराउने भारतीय, हिन्दू धर्मावलम्बीहरूले पनि हेरिरहेका छन् । जति उनीहरू नेपाल र नेपालीप्रति घृणित भावना फैलाउँछन्, उति नेपाली एकता सुदृढ भइरहेको छ ।

यसैले कोरोनाको कहरमा पनि हामीलाई भारतले बेचैन बनाएको छ । रेलमा चढाएर कोरोना गाउँ गाउँमा पु¥याएको छ । आफ्नो नांगोपन ढाँक्न चीन पाकिस्तान स्टन्ट गर्ने भारतलाई अब अर्को स्टन्ट मिलेको छ । सचेत बनौं । लकडाउन पालना गरौं । विभिन्न अवतारमा रहेका भारतीय एजेन्ट हरूसँग सचेत बनौं । कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

स्थगित त्रिविको परीक्षा सञ्चालनबारे निर्णय गरिँदै

Tu

काठमाडौं । लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालयले आगामी दुई साताभ...