कोरोना संक्रमित नर्स भन्छिन्, म संक्रमणलाई जितेर पुनः ड्युटी जान आतुर छु

Shila subba

मेरो घर मोरङको विराटचोक हो । १० वर्ष भन्दा बढी भयो धनकुटा जिल्ला अस्पतालमा काम गर्न थालेको । स्टाफ नर्स हुँ म । अहिले अस्पतालको बहिरङ्ग विभागको इन्चार्ज पनि ।

कोभिड–१९ को महामारीबीच काममा खटिँदा खटिँदै ममा पनि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । ४ जेठमा संक्रमण भएको पुष्टि भएको हो ।

त्यसपछि ८३ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाको पोजिटिभ देखियो । त्यसमध्ये मेरा सहकर्मी एकजना नर्स र दुईजना हेल्थ असिष्टेन्ट हुनुहुन्छ । हामी चारैजना विराटनगरको कोशी अस्पतालमा भर्ना भएका छौं ।

मलाई समुदायबाटै संक्रमण भयो जस्तो लाग्छ । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरूले पनि जाँच गर्नुपर्छ, काम गर्दै जाँदा संक्रमण भएको हुनसक्छ भन्ने कुरा उठ्यो । स्क्रिनिङ गर्ने क्रममा ‘म पनि गर्छु नि त’ भनेर स्याम्पल दिएँ । रिपोर्टमा पोजिटिभ आयो ।

हामी त यो पेशामा छिर्दै जस्तोसुकै अवस्थामा पनि काम गर्नुपर्छ भन्‍ने बुझेरै आएका हौं । महामारीको यो बेला सबैको भरोसा हामीमाथि नै छ । त्यो हामीले बुझ्नुपर्छ । हामी कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन । र, पन्छिने कुरा पनि आउँदैन ।

म ६ महिनादेखि घर (मोरङ) झरेकी छैन । लकडाउन शुरू भएपछि त झन हिँड्ने कुरै भएन ।

संक्रमण भनेको बिरामी या बिरामीको कुरुवामार्फत् नै आउनुपर्ने हाम्रो बुझाई हो । मलाई पोजिटिभ देखिएपछि त्यहाँ अरुको पनि जाँच गर्ने क्रममा ६ जनामा देखिएको छ । तीमध्ये अस्पतालमै काम गर्ने अर्को एकजना नर्सिङ स्टाफ हुनुहुन्छ । अरु दुईजना एचए हुनुहुन्छ ।

हामीमा कुनै पनि लक्षण देखिएको छैन । अस्पताल बसाई सहजै छ । हामीलाई त ‘रेस्ट’ गरेजत्तिकै भएको छ । बरु ड्यूटीमा हुँदा व्यस्त भइन्थ्यो ।

हामी उल्टै यहाँ आइसोलेसनमा भर्ना भएकाहरूलाई आत्मबल दह्रो बनाउन भनिरहेका छौं । समयमै खाना खान, आराम गर्न उहाँहरूलाई अनुरोध गछौं ।

निको हुने कुरामा विश्‍वस्त छौं । चाँडै डिस्चार्ज भएर घर फर्कनेमा ढुक्क छु । गएर फेरि ड्युटी शुरू गर्ने हो । यो बेला झन् हाम्रो भूमिका र जिम्मेवारी महत्वपूर्ण हुन्छ ।

हामी त यो पेशामा छिर्दै जस्तोसुकै अवस्थामा पनि काम गर्नुपर्छ भन्‍ने बुझेरै आएका हौं । महामारीको यो बेला सबैको भरोसा हामीमाथि नै छ । त्यो हामीले बुझ्नुपर्छ। हामी कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन । र, पन्छिने कुरा पनि आउँदैन ।

तर, स्वास्थ्यकर्मीलाई पनि सरकार र समाजले पनि उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिनुपर्छ पर्छ जस्तो लाग्छ मलाई । अझै पनि हामीलाई सुरक्षा सामग्रीहरू पर्याप्त छैनन् । भएका पीपीई पनि कत्तिको भरपर्दो हो पूर्ण विश्वास छैन । उपचारको ‘प्राक्टिस’ गर्ने क्रममा पनि केही पुगेको छ कि छैन सिकाउनुपर्‍यो ।

घरपरिवार, आफू केही नभनी जीवन नै माया मारेर खटिएका छौं । हामीलाई पनि त्यही अनुसारको उर्जा चाहिँ चाहिन्छ । सरकारले लाए अह्राएको काम गर्न तयार छौं । देखापढीबाट

प्रतिकृया दिनुहोस