दाई, यो खुशी दैबले देख्न सकेन, अर्काे जुनीमा सँगै भइनेछ

Kalasha shahi 8

मेरो प्यारो दाई,
हजुरले हामीलाई छोडेर गएको पनि १ बर्ष भैसक्यो । दाई हजुरको आत्माले शान्ति पाओस् । यो पापी दैबले हजुरलाई हामीबाट टाढा लगे पनि हजुरका यादहरु सदैव हाम्रा साथ रहने छन् । हजुरले सानैदेखि गाउँबाट शहर लिएर आईस्यो र जीवनमा ठूलो मान्छे बन्नुपर्छ भनेर सिकाईस्यो । सदैव राम्रो बाटो हिँड्न राम्रो काम गर्न सिकाइस्यो ।

हजुर हुँदा र हजुर नहुँदा जिन्दगी निकै फरक छ । दाई हजुर हुँदा हामी खुशी थियौं । तर अहिले खुशी भन्ने शब्दमा मात्रै छ । दाजु पहिला केहि कुराको कमी थिएन । तर अहिले सबै कुराको अभाव छ । दाई अब हजुर आईसिने आसा पनि मरिसक्यो । हजुर हुँदा म छँदैछु, तिमीहरूलाई केही हुन दिन्नँ भरेर सम्झाई बुझाई गरिसिन्थ्यो । तर अहिले हजुरले हामीलाई छोडेर गएपछि हामीलाई सम्झाउने कोही छैन ।

सानाबाट ठूलो बनाईस्यो । केही नबुझ्ने थियौं । बुज्ने बनाईस्यो, सपना नभएका आँखामा । ठूला सपना देखाएर हामीलाई बीचैमा छ्ट्कै गैइस्यो । यो पापी दैबले हजुरसँगै हाम्रो दाई भन्ने नाता सदाका लागि खोसेर लग्यो । यो साईनो न त किन्न नै मिल्छ, न त फेरि जोड्न नै सकिन्छ । हाम्रो जीवनमा धेरै दाई होइसिन्छ । तर हजुर होइसिन्न दाई । एउटा सानो घरमा ठूलो छोरा भएर सबैको खुसी बोकेर आँखामा ठूलो सपना सजाएर सबै जिम्मेवारी लिएर घर छोडेर हिडेको बेला सबै रोएका थिए ।

आफुँले पढेर हामीलाई पनि पढाउनका लागि यो बिरानो शहरमा ल्याईस्यो । तर गन्तव्यमा नपुग्दै यो पापी दैबले हामीबाट खोस्यो । यति छिट्टै छोड्ने मन रहेछ । त्यसैले आफुलाई भन्दा धेरै माया हामीलाई गरिसिन्थ्यो । दुई दिनका लागि जिन्दगीमा खुसी देखाइस्यो । तर यो खुशी सदाका लागि हाम्रो भाग्यमा रहेनछ ।

दाई साना भाईलाई मुवा बुवाबाट छुटाएर ल्याईस्यो । यहाँ हुर्काईस्यो । अहिले आएर टुहुरा जस्तै यो अन्जान शहरमा छोड्स्यो । मुवा बुवाको ठूलो साहाराहरु नै होइसिन्थ्यो । तर जुन दिन हजुरले छोडेर गैस्यो, त्यो दिनबाट हाम्रो सबै साहरा बेसाहारामा परिणत भयो ।

दाई म बाचा गर्न चाहन्छु, तपाईंको देशप्रतिको माया र हजारौं ती गरिब दुःखीको सपनालाई साकार पार्न म निरन्तर तपाईंले देखाएको परिवर्तनको बाटोमा निरन्तर लाग्ने बाचा पनि गर्न चाहन्छु । म मात्रै नभए हजारौं परिवर्तनकारी देशभक्त राष्ट्रप्रेमी नेपाली दाजुदाई दिदी बहिनीहरु निरन्तर परिवर्तनको खोजी गर्दै अहिले पनि जेलनेलमा हुनुहुन्छ । एकीकृत जनक्रान्ति हुँदै बैज्ञानिक समाजवादको यो महान अभियानमा मेरो पनि अबिराम भुमिका रहने छ । तपाईको सपना पूरा गर्न प्रतिवद्ध छु दाई ।

दाई अझैँ पनि मोबाइलमा घण्टी बज्दा कतै दाईको फोन आयो की भनेर हेर्ने गर्छु । तर बर्ष भैसक्यो हजुरको फोन आएन दाई । म बेलुका आउँछु भने गैस्यो दाइ । तर यहाँ १ बर्ष भैसक्यो आईसिन्न । भाईहरुले खोइ दाई भनेर खोज्छ्न । दाई म के जवाफ दिनु भाईहरुलाई ? हजुर कता होइसिन्छ दाई ? हजुर नहुँदाको यो जिन्दगी ओलिएको फुल जस्तै भएको छ ।

हजुरमाथि दुश्मनको आखा लायो दाई आफ्नै अगाडी रगतको खोला बगेको देख्न पर्यो । जुरको रग’त खेर जान दिने छैन दाई । त्यसको बदला जसरी पनि लिनेछु । देशको लागि बलिदान दिस्यो दाई । यति कलिलै उमेरमा आफ्नो जीवनको प्रबाह नगरी देश जनताको मुक्तिको लागि भएको बलिदानको उच्च कदर गर्दै तपाईंको अधुरो सपनालाई साकार पार्नेछु दाई ।

दाई हजुरलाई गुमाउनुको पीडा हामीलाई मात्रै थाहा छ दाई । न त पार्टीलाई न त अन्य कुनै । किन कि हजुरको ठाँउमा अर्को ब्यक्ति बस्छ्न् । तर हाम्रो जिन्दगीमा चाहेर पनि हजुर आईसिन्न दाई । जसरी हामिसँग खुशी रहने दाईलाई दैब तैले खोसेर लगिस् । त्यसरी नै मेरो दाईलाई सदै सुखी राखिदिनु ।

हामीले हजुरलाई नदेखे पनि हजुरले हामीलाई देखिसिन्छ होला माथीबाट भए पनि सधैं माया गरिराख्नु दाई । बिपनामा नभए पनि सपनामा आउनु है दाई । पूरा जिन्दगीमा सँगै नभए पनि थोरै समयको लागि भए पनि धेरै माया गरिसियो । यो खुशी दैबले देख्न सकेन दाई ।

अब यो जन्ममा म चाहेर पनि भेट्न् सक्दिन दाई, अर्को जन्ममा हाम्रो भेट अबस्य हुने छ ।

उहि हजुरकी प्यारी बैनी
✍️ कलशा शाही

(२०७६ जेठ १२ गते काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा परि मृत्यु भएका प्रज्ज्वल शाहीकी बहिनी कलशा शाहीले दाईको सम्झना लेखेको पत्र)

प्रतिकृया दिनुहोस