यो सरकार, तालाचाबी मालिकलाई बुझाएको चौकिदार जस्तो नहोस्

Mohandev bista bikah

जननेता मदन भण्डारीका विषयमा जति नै व्याख्या गरे पनि कम हुन्छ । उनको चर्चा गर्न जेठ ३ गते नै कुर्नुपर्दैन । जहिले चर्चा गरे पनि भण्डारीको हिम्मत र नेतृत्व गर्ने शैलीका विषयमा चर्चा परिचर्चा गरे हुन्छ । उहाँको राष्ट्रप्रति ओतप्रोत र जनताप्रति उत्तरदायी भाषणमा हरेक नागरिकले जहिले सुने पनि हुन्छ ।

नेपाली समाज रूपान्तरण गर्दै विश्वव्यापी आफ्नो सन्देश छर्न सक्ने नेता हो भण्डारी । राष्ट्रवाद के हो ? जनताको शासन कस्तो हुन्छ ? आफ्नो देशभित्र र देश बाहिर नागरिकको अधिकार कसरी सुनिश्चित गर्ने ? यस्ता विषयमा अहिलेका शाषकहरू र जनताले अध्ययन गर्न जरूरी छ ।

सहज र सरल ढंगबाट देशका सबै जनतालाइ सुसूचित गर्नसक्ने अदभूत क्षमताका धनी भएरै हर नगरिकका मनसपटलमा राज गर्न सफल भएका छन् । उनी जस्तै सबै हुन नसके पनि केही थान नेता उनी जस्तै हुन खोजे पनि देशी/बिदेशीको तन्त्रमन्त्रले ठूलै झालजेलका कारण गद्दारको कित्तामा सहजै दर्ज गराइन्छ । मदन भण्डारी जिवितै भएको भए यस्तै जालझेल खुरापातीहरूको मन्त्रले उनको कित्ता पनि कस्तै दिल्ली सर्ने पो थियो कि ? अहिलेसम्म बाँचेको भए नेपाली जनताको मनमा कमरेड मदन भण्डारीप्रतिको सम्मानमा घृणामा परिणत हुन पनि सक्थ्यो कि ? अहिले देशको प्रमुख मदन भण्डारी भएको भए भ्रष्टाचारीलाई के गर्थे होलान ? यो लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई कसरी सम्बोधन गर्थे होला ? अनि आफ्नो मातृभूमी विस्तावादले मिचेको कुरालाई कसरी प्रतिवाद गर्थे होला ? विश्वसामु कसरी लैजान्थे होला ?

के साच्चै मदन भण्डारी पनि भारतीय विस्तारवादसँग झुक्थे होला र ? झुकाइन्थ्यो होला र ? आफ्नो माटोको लागि विश्वसामु विस्तारवादका विरूद्ध कस्तो एक्सन लिन्थे होला ? अनगिन्ती प्रश्नहरू आउने गर्छन् । कमरेड मदन भण्डारीको दासढुङ्गामा भएको हत्या नै उनको जीवनको उचाइँ बनिरह्यो, बनिरहने छ । कमसेकम मदन भण्डारी बाँचेका भए हुन्थ्यो भन्ने प्रश्न र बहस सदाका लागि जनताको दिमागमा छ । कमरेड मदन भण्डारी आजसम्म पनि बाँचेका भए उनको पनि चरीत्रमाथि दाग लगाइन सक्थ्यो । हर प्रयास प्रपोकाण्डा र जालजेलका सिकार हुन्थे की भन्ने पनि लाग्छ ।

जनयुद्धका महानायकहरूलाई जनयुद्धमा लागिरहेको आरोप जस्तो मदन भण्डारीलाई पनि लाग्ने थियो की चिन्ता र चासो सबैमा छ । जुन स्वभाविक पनि हो ।

एउटा समय यस्तो थियो, जसको नाम नै काफी । जसका निम्ति नाम मात्रैले बलिदानीको लागि ‘म अगाडी’ भन्नेहरूको ताती हुन्थ्यो । प्रचण्डपथ जिन्दावाद भन्दै मेरै आँखा अगाडि अन्तिम सास फेरेकाहरूलाई सम्झिन्छु । आफ्नो ज्यानको बलिदानी गर्न लामबद्द हुनेहरू सम्झिँदैछु । जनताका छोराछोरीहरूलाई फेरि फर्केर हेर्दा गर्व पनि लाग्छ । नेपाली जनता परिवर्तनका वहाक हुन् । ती महान जनयुद्ध नायक, जसले नेपाली समाजलाई रूपान्तरण गर्न ठूलो योगदान र बलिदान, निकै उतारचढाव र उथलपुथलको स्थितिबाट आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यस बीचमा विभिन्न ठूलठूला घटना परिघटना र निकै राम्रा निर्णय पनि भए । तर अझैँ जनताले सोचेको अपेक्षा गरेका उपलब्धि नहुँदा एक युद्ध महानायक योद्दालाई अनेक थरी लाल्छना लगाइन सक्छ । आरोप र प्रत्यारोपका बीच उहाँलाई जिम्मेवारविहीन बनाउने खेलहरू पनि भइरहेका छन् । उहाँबाट निक्कै गलत निर्णय गराउन देशी/बिदेशीहरू आज पनि लागिरहेका छन् । राष्ट्रघाती कित्तामा उहाँलाई दर्ज गराउन खोज्नेहरूको लामो ताँती छ ।

कति बेला कहाँ चिप्ल्याउने हुन्, कसरी एक्ल्याउने हुन्, त्यो हेर्न बाँकी नै छ । ‘जिते हस्तिनापुरको राज, हारे चकटीमाथिको बाँस’ भनी अन्तिम संघर्ष जारी नै छ । युद्धबाट शान्ति प्रकृयामा आउँदासम्मका जनयुद्धका महान नायक जनताका आस्थाका धरोहरलाई जनताले हेर्ने नजर र अहिले हेर्ने नजर निकै फरक भएको पाइन्छ ।

महत्वपूर्ण कुरा यो पनि हो नेपाली समाज धेरै चाडो विश्वास गर्ने र त्यति नै चाडो निरास र अविस्वास पनि गर्छ । त्यसैले मदन भण्डारी आज जिवितै भए कहि यस्तै जनयुद्धका महानायक सुप्रीमोको जस्तै बाँकी जीवनमा उतारचढाव झेल्दै जालझेल र खेप्नु सहनुपर्ने ठाउँमा पुग्नु हुन्थ्यो कि ? पु¥याइन्थ्यो कि ? मदन भण्डारीलाई हेर्ने बुझ्ने जनताको नजर कति उच्चकोटीको छ ।

आज यहाँ हेर्दा विचित्र खालको रोटी पेलिन्छ । नीति, नियम, ऐन, कानुन र बिधि बिधान सबै कम्पनीका मालिक र अझैँ त्योभन्दा पनि माथि अर्थात् मालिकको हातमा छ । साच्चै अहिले आफुलाई नै राजनेता भन्न रूचाउनेहरू देश र जनताका पक्षमा निर्णय गर्न डराउँछन्, हात कमाउँछन । यसको भित्री राज के होला ? के यो सरकार नेपाली माटोको उत्पादन नै हो त ? प्रश्न उठ्छन्, जुन अस्वभाविक पनि होइन ।

सीमा र देशको नक्सा जस्तो गम्भीर बिषय बल्ल सरकारको कानसम्म पुगेको छ । बल्ल नीति तथा कार्यक्रममा आएको छ । बल्ल सरकारले आफ्नो देशको असली नक्सा बनाएको छ । यसलाई हेर्दा मात्रै अलिअलित राष्ट्रिय भाव जागेको हो की भन्ने देखिन्छ ।

अर्को विषय कोभिड १९ ले विश्वव्यापी त्राहित्राही बनाएको बेला देशमा कस्तो खालको बजेट आउनुपर्ने सरकारले ल्याउनुपर्ने हो, त्यसतर्फ बेलैमा ध्यान दिइएन भने भोली परिणाम नराम्रो आउन सक्छ । विदेशमा रहेका लाखौं नेपाली घर फर्किन खोज्दा आफ्ना नागरिकलाई फर्काउने जिम्मेवारी राज्यको हो । यो विषयमा सरकारले ठोस योजना बनाउन सकेको छैन । यसतर्फ सरकारले उचित योजना ल्याउन सक्नुपर्छ ।

देशमा रहेका लाखौं नेपाली स्वदेश फकिँदा बेरोजगारी समस्या बढ्छ । यसलाई हल गर्न कृषि उत्पादनलाई बढाउनेतर्फ सरकारको पर्याप्त ध्यान जान सकेको छैन । यो विषयमा सरकार निक्कै कमजोर र उदासिन देखिन्छ । यो सरकारसँग जनताले धेरै आशा र अपेक्षा राखेका छन् । जनताको यति धेरै आशा र भरोसा भएको सरकारले देश र जनताको लागि सहि निर्णय गर्न किन खुट्टा कमाइरहेका छ ? कुरा यति मात्रै हो अब जनताले कसलाई विश्वास गर्ने ? नेपाली जनताको सरकार, सरकार जस्तो होस् । तालाचावी मालिकलाई बुझाएको चौकिदार जस्तो नहोस् ।

यो सरकारलाई एउटा इतिहास बनाउने जिम्मेवारी जनताले दिएका छन् । यो बेला पनि एउटा गतिलो काम गरेर नदेखाउने हो भने आफुलाई राजनेता हुँ भन्नेहरूले फेरि पनि सत्ताको सपना नदेखे हुन्छ किनकी जनता हिजोको जस्ता छैनन् । सचेत भइसकेका छन् । आफ्नो नेता कस्तो हुनुपर्छ भन्ने हेक्का राख्ने भइसकेका छन् । त्यसैले हालका नेतृत्वहरूले मदन भण्डारी जस्ता नेतृत्वले देखाएको मार्गमा हिड्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मल्लकी छोरीसँग प्रेम गर्दा यसरी गयो बिकको ज्यान, ६ जना अझैं बेपत्ता

Nabaraj bk

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृत्यु भएको छ । गैर दलितको छोरी लैजा...