आपत् कालका यी साथी, जो संक्रमणको बिना डर कोठा–कोठामा पुगेर सहयोग गर्छन्

Ananta rapke usa

फिलाडेल्फिया (अमेरिका) । गत मार्च महिनाको दोस्रो सातासम्म न्युयोर्क शहरमा चिसो घटेको थिएन । हिउँ पनि खासै परेन । मानिसहरुमा खुसी र उमंग पनि थिएन । व्यस्त दैनिकी भने चल्दै थियो ।

बिस्तारै बिस्तारै कोरोना भाइरसको महामारीले यहाँ भुसको आगोको रुप लिँदै गयो । सडकमा कोही छैनन् । सुनसान छ जताततै । डर, त्रास र भयले मानिसहरु घरभित्रै थुनिएका छन् । कतिबेला मर्ने हो, कुनै टुंगो छैन ।

यस्तो बेला सहयोगीहरु पनि कमै भेटिने, एक चक्की सिटामोल र हात धुने साबुनसमेत पाउन गाह्रो बन्दै गएको थियो । त्यसको मारमा हजारौं नेपाली पनि परेका छन्, यहाँका नागरिक पनि थोरबहुत त्यही चपेटामा परेका छन् ।

धेरै नेपालीहरुलाई भाषाको समस्याले पनि असजिलो बनाएको छ । त्यसका साथै गाडीको असुविधाले झनै दैनिकी कष्टकर बनेको थियो । ठीक त्यही बेला दुई नेपाली छिरिङ राप्के लामा र अनन्तराज सुवेदी ज्यानको बाजी लगाएर सडकमा निस्किए । उनीहरुले सबै नेपालीलाई सहयोग गर्न थाले ।

अप्रिल महिनाभरी न्युयोर्कलाई कोरोना संक्रमणको कालो बादलले ढपक्कै ढाक्यो । १७ जना नेपालीले समेत ज्यान गुमाए । हजारौं बिरामी भए । तर राप्के र अनन्तले भने एकरत्ति पनि हार मानेनन् । नेपालीको सहयोगका लागि निरन्तर लागिरहे ।

यी दुबै जना उबर (कार) चलाउँछन् । त्यसले गर्दा पनि उनीहरुलाई सडकमा निस्किन सजिलो बनायो । कोरोना पीडितहरुलाई सहयोग गर्न आफ्नै गाडी लिएर सडकमा निस्किए । सिटामोल, साबुन, माक्स, पञ्जा राखेर घरघर, कोठाकोठासम्म पुग्न थाले । उनीहरुका घर परिवार, साथीभाईले सुरुमा कतै नजान आग्रह पनि गरे । दुबैले मानेनन् । काममा खटिरहे । घरघरमा राहत पु¥याइरहे ।

राप्केको घर नेपालको मनाङमा पर्छन् । अमेरिकामा बसोबास गर्दै आएका छन् उनी । अमेरिकामै रहेर पनि नेपालीको सहयोगमा तल्लिन् छन् । ‘यो संकटको बेला सानो सहयोगले पनि ठूलो काम गर्छ भनेर लागेको छु’ उनले निशान न्युजसँग भने, ‘अरुबेला कसैलाई सहयोग गर्नुपर्ने थिएन । तर, यो बेला सहयोगको खाँचो छ ।’

तनहुँका स्थायी बासिन्दा हुन् अनन्त । उनी अमेरिकामा नेता र समाजसेवीको रुपमा चिनिन्छन् । ‘कोरोना भाइरसको उपचारमा खट्ने चिकित्सकले ज्यान गुमाएका छन् । यस्तो आपतमा परेका मानिसलाई सहयोग गर्न भित्रैदेखि मन लागेका कारण नेपालीको सहयोगका लागि लागेको हुँ’ उनले निशानन्युजसँग भने, ‘हामीले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छौं, अन्य सहयोगीहरुका कारण अमेरिकामा समस्यामा परेका नेपालीलाई केही सहज भएको छ ।’

यी दुई जनालाई अमेरिकामा बस्ने नेपालीहरुले उच्च सम्मान गर्ने गरेका छन् । उनीहरुलाई यसरी सम्मान व्यक्त गर्नुको अनेक कारणमध्ये कोरोनाको संकटका बेला आपतमा परेकाहरुको सहयोगका लागि घरघर पुग्नु हो । कोठाकोठा पुगेर समस्या नियाल्नु हो ।

यी बहादुर नेपालीको मुल्यांकन विस्तारै समाजले गर्छ नै, कोरोना भाइरसलाई परास्त गर्न हातेमालो कसरी गर्ने भन्ने एउटा उदाहरणीय पात्र बनेका छन् ।

प्रतिकृया दिनुहोस