बालिका बलात्कार गर्ने श्रीमानलाई थुन्न श्रीमतिले नै चुक्कुल लगाएपछि...

Top kumar rai

विराटनगर । बुधबार विहान मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बूले स्थानीय १५ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाए । त्यतिबेला परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किसकेका थिए ।

वर्षाको बेला भएकाले सबै जना काममा व्यस्त थिए । ती बालिकालाई ललाईफकाई आफ्नै घरको कोठामा बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लगेर बलात्कार गरे । काममा नजाने आफ्नै पतिको व्यवहारमा पत्नीलाई शंका रहेछ । त्यही भएर बीचमै काम छाडेर उनी घर आइपुगिन् ।

कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन् । वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन् ।

स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भागे । तर, भाग्ने क्रममा लडेर उनको टाउकोमा चोटसमेत लाग्यो । प्रहरीले भाग्दै गरेको अवस्थाम बुधबार साँझ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए ।

प्रारम्भिक अनुसन्धानबाट पनि तोमकुमारले बलात्कार गरेको खुलेको राईले बताए । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस