डा. रुना झा भन्छिन्, म मेरो छोरीलाई अँगालो हाल्न चाहान्छु

Dr.runa jha

हाम्रो लागि यो सबै त्यतिबेला देखि सुरू भयो, जब एक सय ७५ जना नेपाली विद्यार्थीलाई चीनको वुहानबाट नेपाल ल्याइयो । जहाज फेब्रुअरी १५ मा नेपाल आइपुग्यो र फेब्रुअरी १६ मा मेरो टोली पहिलो पटक क्वरेण्टीनस्थल स्थल प्रवेश गर्‍यो ।

मेरो टोलीले नमुना लिन हिच्किचाएन । मेरो टोलीका केही सदस्यहरू २१ वर्षका छन् र केहीका घरमा बच्चा छन् तर सबै तयार थिए । हामीले रातभर काम गर्‍यौँ र भोलिपल्ट एक सय ७५ जनाकै रिपोर्ट तयार गर्‍यौँ ।

त्यसबेलादेखि हाम्रो सम्पूर्ण ध्यान कोभिड–१९ को नमुना परीक्षणमा छ र हाम्रो नियमित सेवाहरू बन्द भइसकेका छन् । यो हाम्रो लागि एकदम चुनौतीपूर्ण समय हो ।

अन्य धेरै देशहरूमा अत्याधुनिक प्रयोगशाला र अनुभवी वैज्ञानिकहरू छन्, जसले यस क्षेत्रमा लगभग पूरा जीवन व्यतीत गरेका छन् । नेपालसँग सीमित स्रोतहरू छन् तर हामी सक्दो प्रयास गरिरहेका छौँ ।

कोभिड–१९ को परीक्षणका लागि हामीले दिनकै ६० देखि ७० वटा नमुना पाइराखेका छौँ । साथै, नमुनाहरू अनियमित अन्तरालमा आइपुग्छन् । यसले गर्दा हामीलाई अबेरसम्म काम गर्नुपर्ने हुन्छ । मेरो लागि निर्देशकको रूपमा प्रयोगशालामा अबेरसम्म बस्नु सामान्य भइसकेको छ । प्राविधिक कार्यको अतिरिक्त मैले अन्य प्रबन्धहरु गर्नुपर्दछ, जस्तै मेरो टोलीको लागि यातायात र खानाको व्यवस्था गर्ने ।

यो हाम्रो लागि धेरै कठिन समय हो र मैले उनीहरूलाई प्रेणित गरिराख्नुपर्दछ । उनीहरूले निराश महसुस गरेको थाहा पाउँदा म गएर कुरा गर्छु । उनीहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्ने कुरा बुझाउँछु ।

मेरो व्यक्तिगत जीवनमा पनि परिवर्तन आएको छ । मैले मेरो छोरीलाई मेरो श्रीमानसँगै हाम्रो गृहनगर जनकपुर पठाएको छु, जुन काठमाण्डौको मेरो ड्युटी स्टेशनबाट टाढा छ । त्यसबेलादेखि मेरो अपार्टमेन्टमा म एक्लै बसिरहेको छु । मेरा अभिभावकहरू केवल दुई किलोमिटर टाढा बस्नुहुन्छ र म उहाँहरूलाई हप्तामा तीन पटक भेट्न जाने गर्थे तर लगभग तीन हप्ता भयो मैले उहाँहरुलाई देख्न नपाएको ।

मेरी छोरीले मलाई फोन गर्छिन् र मलाई धेरै मिस गर्ने बताउँछिन् । मलाई पनि मेरो परिवारको निकै याद आउँछ तर म उनीहरूको जीवनलाई जोखिममा पार्न डराउँछु । त्यसकारण दुरी राख्नु महत्त्वपूर्ण छ । मेरी आमाले मलाई फोन गर्नुहुन्छ र भन्नुहुन्छ– ‘घर आऊ, हामी पहिले नै बुढो छौँ, हाम्रो चिन्ता नगर । हामी केवल तिमीलाई हेर्न चाहान्छौँ ।’

म मेरो छोरीलाई अँगालो हाल्न चाहान्छु र मेरा आमाबुबाको हेरविचार गर्न चाहन्छु । तर उनीहरू र अरूलाई सुरक्षित राख्न यो त्याग गर्नु आवश्यक छ ।

(यूएन वुमनमा प्रकाशित डा. रुना झाको अनुभव, उमंग पराजुलीद्वारा अनूदित अंश ।)

प्रतिकृया दिनुहोस