भारतले आफ्नो रवैया तत्काल सच्याएर असल छिमेकी बन्न संयूक्त राष्ट्रिय आन्दोलनको माग

काठमाडौं । साना दलहरुले लिपुलेक, कालापानी लगायत भारतसँगको सीमा विवाद हल गर्न सरकार गम्भिर नबनेको आरोप लगाएका छन् ।
नेकपा (माले), नेपाली कांग्रेस (वी.पी.) , नेपाल समाजवादी कांग्रेस, जन समाजवादी पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनताको प्रजातान्त्रिक पार्टी सम्मिलित संयूक्त राष्ट्रिय आन्दोलनले भारतले सीमा अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।
उनीहरुले भारतले जारी गरेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने नेपालको भू–भागलाई भारतमा गाभी आफूहरुको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि ठाडो अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् । उनीहरुले मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दृढतापूर्वक उभिन र सबै दलहरुलार्ई साथमा लिई तत्काल समस्याको समाधान गर्न सरकारसँग माग पनि गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयूक्त राष्ट्रिय आन्दोलनका एक जना सदस्य नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा बैठक बस्ने भने पनि आजसम्म बैठक बस्न नसकेकोमा गुनासो पोखे ।
उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपाली भूमी भारतले कब्जा गरेको दाबी गरे । ‘नेपालको आफ्नो जग्गा संरक्षणका लागि हामी सरकारको साथमा छौँ । अहिले भारतको नक्सामा कैद भएका ती भूभाग नेपालको हो’ उनले भने, ‘अहिले भारतले कब्जा गरेका ती सबै भुभाग कुटनीतिक पहदबाट फिर्ता गरिनुपर्छ ।’
नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले भारतले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथि धावा बोलेको बताए । उनले सानो देश भएको कारण आफूहरुलाई छिमेकीले नहेप्न र सधैं यस्तै हेपाहा सोच राखे नेपालीले मिसाइल बनाएर छिमेकी मुलुकसँग युद्ध गर्न बाध्य हुने चेतावनी दिए ।
‘सत्तामा बस्ने शासकहरु सिंगापुरमा क्याविनेट बस्छन् के कारणले ?’ उनले भने, ‘किलिपुलेक, लिम्पियाधुरा, कालापानीलाई भारतमा गाभ्न बसेको थियो ?’ होइन भने भारतले नेपालको भूमि एक इन्च पनि मिच्न पाउँदैन ।’
उनले हालै जारी भएको भारतको नक्सा सच्याउन भारतलाई नेपाल सरकारले जोड दिर्नुपर्ने बताए । ‘लिपुलेक, लिम्पियाधुरा,कालापानी नेपालकै हो’ उनले भने, ‘त्यहाँ राखिएका भारतीय सेना तुरुन्तै हटाएर दुई देशको आपसी सम्बन्ध सुमधुर बनाउन भारतले नै पहल गर्नुपर्छ । सीमामा राखिएका भारतीय सेना फिर्ता लगेर सबै भुभाग नेपाललाई फिर्ता नदिए दुई देशको सम्बन्ध राम्रो हुँदैन ।’
सो पत्रकार सम्मेलनमा नेपाली काग्रेस (वीपी) का सभापति हरिबोल भट्टराई, जन समाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेपाल सर्वाहारा कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष भावना बिद्रोही, जनताको प्रजातान्त्रिक पार्टीका अध्यक्ष धनश्याम भण्डारी लगायतले भारतले मिचेका सबै सीमा तत्काल नेपाललाई फिर्ता दिनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस