फेरियो ओली र प्रचण्डको बोली, कमी कमजोरी सच्याउँदै अघि बढ्ने ओलीको प्रस्ताव

ओलीद्धारा महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेपछि प्रचण्ड र बरिष्ठ नेता नेपाल अलमलमा

Vip

काठमाडौं । शनिवार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि अब नेकपामा देखिएका विवाद मिल्ने दिशातर्फ गएको स्पष्ट भएको छ ।

विगत बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेका अर्का अध्यक्ष प्रचण्डले आज भने राजीनामाको कुनै विषय नै उठाएनन् । उनले ओलीलाई समर्थन गरे जस्तो गरे ।

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले भने असन्तुष्टि पोखे । नेता नेपालले बैठकमा भने, ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न ।’

प्रचण्डले बैठकमा भने, ‘मिलेर जानुपर्छ, मिल्नुको विकल्प छैन । कम्युनिष्ट पार्टी एक हुनु भनेको ऐतिहासिक आवश्यकता हो । अहिलेसम्म जे–जे भयो, अब अगाडि बढौं । सकारात्मक दिशामा अगाडि जाऔं ।’

लामो समयदेखि पार्टी भित्र सबै कमिटीमा अल्पमतमा परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संकट टार्न नयाँ राजनीतिक याेजना झिकेका छन् । आज बसेको सचिवालयको बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

ओलीले लामो समय बोलेका थिए । सरकार सञ्चालन, कार्यशैली लगायतका विषयमा बोलेका थिए । गल्ती कमी कमजोरी सच्याउँदै अघि बढ्ने प्रस्ताव ओलीले राखेका थिए ।

ओलीले बैठकमा भने, ‘सबै साथीहरु मिल्नुको विकल्प छैन, पार्टी एकता भंग गर्नु हुँदैन, बरु चाँडो महाधिवेसन गर्ने विषयमा स्थायी कमिटीमा छलफल गरौं, म लचक नै छु, सबैले आआफ्नो अडान राखेर पनि भएन ।’

पार्टीका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेपछि प्रचण्ड र बरिष्ठ नेता नेपाल अलमलमा परेको छन् ।

ओलीको प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् । विगतमा आफु संकटमा पर्दा ओलीले नयाँ नयाँ फण्डा झिकेर आफ्नो संकट टार्दै आएका छन् ।

निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । पार्टीको निर्णयभन्दा पनि ओलीले स्वेच्छादारीमा संगठन तथा सरकार चलाउँदै आएपछि सबै नेता ओलीसँग रुष्ट बनेका छन् ।

ओलीलाई प्रचण्ड, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष गौतमले अध्यक्ष तथा सरकारबाट राजीनामा दिन दबाब दिएको भएपनि ओली एक इन्च पनि पछि हटेका छैनन् ।

केही दिन अघि पार्टी फुटको संघारमा पुगेको बेला चिनिँया राजदुतले बचाएको राजनीतिक बृतमा चर्चा चलको थियो ।

प्रतिकृया दिनुहोस