ओली–दाहालबीच बालुवाटारमा भेट, के होला त निर्णय ?

Oli prachand 19

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहको छ ।

सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् । पार्टी विभाजनकै संघारमा पुगेपछि पार्टीलाई एक बनाउने वा अन्य निर्णय गर्ने अन्तिम टुंगो दुई अध्यक्षको भेटले टुंग्याउने छ ।

शनिबार स्थायी कमिटी बैठक बस्नु अघि पार्टीमा देखिएको संकट समाधानका लागि पहिला दुई अध्यक्षबीच छलफल गर्ने निर्णय भएको थियो । उनीहरु बीचको छलफललाई चासोका साथ हेरिएको छ ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउन लागेको आशंका अरु नेताहरुलाई भएपछि जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।

प्रचण्ड–माधव समूहका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

अब प्रधानमन्त्री ओलीले अढाइ–अढाइ वर्ष सरकारको आलोपालो नेतृत्व गर्ने ०७५ जेठ २ गतेको लिखित सम्झौतालाई मान्ने सहमति गरेमा आगामी मंसिरभित्र उनले प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्री ओली पार्टी फुटाउने अध्यादेश ल्याउने र संकटकालसम्मको विकल्पमा जान सक्ने डर प्रचण्ड–माधव पक्षका नेताहरुमा देखिन्छ ।

प्रतिकृया दिनुहोस