परिवारै ठगी धन्दामा काका–भतिज समातिए, भाउजु फरार

काठमाडौं । ठगी धन्दामा संलग्न भएको आरोपमा काका–पतिज पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न काका–भतिजालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन् । उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेका थिए ।प्रहरीका अनुसार पछिल्लो पटक आइतबार बिहान डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।

‘साँगाको भित्री जंगलमा रहेको इँटाभट्टामा लगेर लुटपाट गर्न लागेका रहेछन्’, बोगटीले भने, ‘विशेष सूचनाको आधारमा डिल हुँदाहुँदै दुई जनालाई पक्राउ गरेका हौं ।’ घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार छिन् । बोगटी भन्छन्, ‘उनीहरुको ठगीमा परिवारका अन्य सदस्य पनि संलग्न छन् । हामी अनुसन्धान गरिरहेका छौं ।’

उनीहरुले थली र कपनमा पनि एउटै शैली प्रयोग गरेर ७÷७ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ । पक्राउ परेका दुवैमाथि यसअघि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय, काभ्रको टोलीले पनि मुद्दा चलाइसकेको छ । 

प्रतिकृया दिनुहोस