कांग्रेस नुवाकोटमा फेरि कलह देखियो, महत र केसीलाई बेवास्ता

सभापति देउवा प्रमुख अतिथि

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटमा फेरि कलह देखिएको छ । नुवाकोटबाट कांग्रेसमा प्रभावशाली दुई नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई बेवास्ता गर्दै जेठ ३२ गते शनिवार दुई क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन आयोजना गरेपछि यो कलह सतहमा आएको हो ।


नुवाकोटकै अर्का नेता डा. प्रकाशशरण महतको निर्देशनमा विधानमै व्यवस्था नभएको दुई क्षेत्रको संयुक्त क्षेत्रीय सम्मेलन नाम दिइएको उक्त कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा नै प्रमुख अतिथि बनाइएका छन् ।

केन्द्रीय राजनीतिमा आफुविरुद्ध रहेका केसी र महतलाई उनकै जिल्लामा गएर ठीक लगाउने उद्देश्य देउवाको पनि रहेको देखिन्छ ।

आफ्ना निकट प्रकाशशरणको योजनामा आयोजित उक्त कार्यक्रम सभापति देउवा सरिक हुन लागेपनि कांग्रेसको विधानमा दुई क्षेत्रको संयुक्त भेला गर्ने कुनै प्रावधान रहेको छैन । विधानमै व्यवस्था नभएको अवैधानिक भेलामा पार्टीको सभापति नै प्रमुख अतिथि बन्नुले पार्टीभित्र अनुशनसनहीनता र अराजकता कुन हदसम्म मौलाएको छ भन्ने प्रष्ट भएको कांग्रेसकै एक नेताले बताए ।

कार्यक्रमको प्रचार गर्न बनाइएको पोष्टरमा सभापति देउवा, उपसभापति विजय गच्छदार र सहमहामन्त्री महतको फोटोसहित राखिएको छ । केसी र डा. महतलाई भने कार्यक्रममा वक्तासमेत नराखी निम्तो पठाइएको छ । कार्यक्रम आयोजना भएको बोधार्थ दिएझै गरिएकोले यो अपमानको हद भएको उनीहरुले बताएका छन् ।

कांग्रेसभित्र विभाजन गर्ने नियतका साथ गरिएको अवैधानिक कार्यक्रममा जान नसकिने भन्दै केसी र डा. महतले  बहिष्कार गर्ने बताएका छन् । 
कार्यक्रम लिखु गाउँपालिको चौघडामा आयोजना गरिएको छ ।

नुवाकोट कांग्रेस यसअघि केसी र महत पक्षमा विभाजित भएको थियो । तर गएको निर्वाचनमा दुबै नेता पराजित भएपछि केसी र महत एक ठाउँमा रहे पनि कांग्रेस केन्द्रमा सहमहामन्त्री बनेका प्रकाशशरण महतले जिल्लामा आफ्नो अलग्गै संगठन थालेका छन् ।

उनले केन्द्रमा रहेको त्यही प्रभावलाई जिल्लामा विस्तार गर्न खाजेका छन् । यसअघिको निर्वाचनमा महत काठमाडौं क्षेत्र नं ५ बाट पराजित बनेका थिए । उनले जिल्लाबाटै उम्मेदवार बन्न प्रयास गरेपनि दुई दाईले क्षेत्र नछाडेपछि काठमाडौंबाट चुनाव लडेका थिए ।

यसअघि जिल्लाको राजनीतिमा महत दाजुभाई एकातिर उभिने गरेका भएपनि अहिले भने समीकरणमा फेरबदल देखिएको छ । यो कार्यक्रम पनि त्यही समीकरण परिवर्तनको एउटा रुप भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस