३१ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि स्वीट्जरल्याण्ड भ्रमणमा

यस्ता छन् कार्यक्रम

काठमाडौं । छिमेकी मुलुकसँगको सम्बन्ध सुधार, नेपालको वैदेशिक नीति र  नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ जाँदेछन् ।

प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ ।  

प्रधानमन्त्री ओलीले जेठ २७ गते स्वीट्जरल्याण्डको जनेभामा आयोजना हुन अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा चौथो वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

जेनेभामा रहँदा ओलीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम  छ। प्रधानमन्त्री ओली जेठ २७ साँझदेखि नै बेलायत भ्रमणमा जानेछन् । पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुन लागेको हो । ओली जेठ २९ गतेसम्म बेलायतमा रहने भट्टराईले बताए । जेठ २७ गते साँझ प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने  विशेष समारोहलाई सम्बोधन गर्नेछन् ।

त्यहाँ केही उच्चस्तरीय भेटघाट हुनेछ ।  प्रधानमन्त्री ओलीले जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायत रहनेछन् । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस