कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चायो, कांग्रेस सशक्त हुनुको विकल्प छैनः डा.महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । उनले भने– देशमा कम्युनिष्ट सरकार सत्ता रहँदासम्म समृद्धि आउदैन, सरकारले समृद्धिको बाटो लिएकै छैन ।

नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नम्बर ५ द्वारा बुधबार आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै डा.महतले निर्वाचनका समयमा कम्युनिष्टहरुका झूठा आश्वासन र कुराले मात्र उनीहरु सत्तामा आएका र उनीहरुबारे अब जनताले सबैकुरा थाहा पाइसकेका बताए ।

उनले भने ‘अहिले संसारमा कतै कम्युनिष्ट सत्ता छैन, भारतमा पनि केही थिए हालैको निर्वाचनमा सकिए र अब नेपालका कम्युनिष्टको प्रोपोगाण्डाका बारेमा पनि नेपाली जनता सचेत भइसकेका छन्, यस्तै अधिनायकवादी शासन शैली हो भने नेपालबाट पनि चाँडै सकिन्छन् ।

कम्युनिष्टहरुको काम भनेकै पूरा नहुने सपनाहरु बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले गरेको छ, त्यसैले यो सरकारबाट देशमा समृद्धि आउँदैन भन्नेमा कांग्रेसमात्र होइन, सिंगो देश नै जानकार भइसकेको छ– डा.महतले भने ।

सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएको आरोप लगाए ।

उनको भनाई थियो अहिले आएर स्पष्ट भएको छ कि चुनाव ताकाको उनीहरुको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ र आज एकपछि अर्कोगरी बाहिर आएको छ ।

सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसको जागरण अभियानले अब यिनै कुरा गाउँ गाउँमा पुगेर जनतालाई बुझाउनुपर्छ, कांग्रेसमा अब सशक्त रुपमा जागरण ल्याउनुपर्छ भने । यो सरकारबाट वर्षदिनमै जनता आजित भइसकेकोले अब देशमा कांग्रेस सशक्त हुुनुको विकल्प छैन– उनको भनाई थियो ।

नेपाली कांग्रेसका हरेक कार्यकर्ताहरु जबसम्म यो सरकार सत्तामा रहन्छ, त्यतिन्जेल देशमा समृद्धि र स्वतन्त्रता सम्भव छैन भन्ने निष्कर्षमा पुगिसकेको तर देशैभरि पुगेर जनतालाई बुझाउन नसकेको उनको भनाई थियो । उनले ले यो सन्देश लिएर गाउँ गाउँसम्म पुग्न सबै कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले कांग्रेसका कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे । नेपाली कांग्रेसका साथीहरुले यो सरकारको सर्वसत्तावादविरुद्ध लाग्ने बेला भएको छ उनले भने । हामी आफै बलियो छौँ तर पनि कांग्रेसले कांग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने प्रवृत्तिका कारण हामीले मार खाएका छौँ, यो कुरालाई अब बेलैमा मनन् गरौँ, जागरणमा लागौँ र कांग्रेसलाई नयाँ उर्जा दिउँ– उनको भनाई थियो । 


प्रतिकृया दिनुहोस